सोल्टिनीलाई खबर

सेसेहाङ फियाक

आजभोलि
त्यो शहरको सोल्टि, कहाँ हरायो भनेर
टिकटकमा रमाइरहेकी सोल्टिनीलाई खबर छ,
म त सोल्टिनी !
आन्दोलनको बिकुल फुक्दै
सडकका पेटिहरूमा घुम्दै हिँड्दा
अनि
जनताका आवाजमा एकाएक हराएर हिंड्दा
म्यासेज लेख्न र फोन गर्न नि भुलेछु ।
उहिले जस्तो चिट्ठी लेख्ने चलन भए
रात, साँझ यसो लेखेर
साथीका हात कहाँ पठाउँथे होला
तर
इन्टरनेटले त्यो पनि हराइदियो ।

आजभोलि
मैले सुनेको छु, अनि झल्याक् झुलुक देख्ने पनि गर्छु
मेरी सोल्टिनी !
नाचेर, गाएर टिकटकमा रमाइरहेकी छिन्,
मोबाइको स्क्रिनमा आउने लाइभ च्याटमा
विश्वका सुरा-सुन्दरीहरूसँग
हँसि खुशी दिन विताइरहृकी छिन्,
त्यसकारण
खबर त सोध्न भ्याएकी छैन ।
तथापि म सोल्टि हुँ,
खबर सोल्टिनीलाई लेख्दैछु ।

सोल्टिनी !
कहिले विर्ता चौकमा त, कहिले दमक चौकमा
कहिले केर्खा चौकमा त, कहिले चन्द्रगढी चौकमा,
पहिचान र अस्तित्वको ढुङ्गा र
लि? तो:ङ् बोकेर लडाई लडिरहँदा नि
जीवनलाई नै विर्सेको अवस्था छ नि सोल्टिनी !

हजुरको गाउँ शहरमा लमतनिएका चिल्ला बाटाहरूमा
हजारौं पल्ट ओहोर, दोहोर गर्दा
आखा तरि तरि हेर्ने गर्छु अनि सम्झिने गर्छु
गाउँ, शहर र सडकको दायाँ बायाँ
उभिरहेको महलहरूमा
सोल्टिनीको मुस्कान खोज्छु, माया, ममता खोज्छु
अनि,
आन्दोलनमा उनी पनि मुस्कुराउँदै हिंडीरहेको
देख्न आतुर हुन्छु
तर
सोल्टिनीलाई पाउन सकिन, देख्न पनि सकिन
सायद,
उनी कसै न कसैलाई बन्धक बनाएको हुन सक्छ,
त्यो सुन्दर महलमा बाँधेर राखेको हुनुपर्छ
कि,
युके, सिङ्गापुर र इण्डियातिर पो उडिन् कि
जहाँ भए पनि सोल्टिनी !
हजुरलाई खबर छ है
हामी कोशी खारेजीको आन्दोलनमा छौं ।

सत्ताधारी शासकहरूले
पुर्खाले थामिल्याएको पुर्खौली विरासत
पुर्खाले जोगाएर ल्याएको मानवी इज्जत
समुदायको सभ्यता र पहिचान
उनिहरूको गोत्रको नाममा
कोशी राखेपछि उठेको आन्दोलनमा

शहिद लाजेहाङ्, मनिल र माङतोक् भएर
ढलिरहेको छु,
लाखौं योद्धा भएर
पुलिसको डण्ठा र बुटले मेरो जीवन
छिया छिया भएको छ है सोल्टिनी ।

लोकतान्त्रिक मुलुकमा
दर्जनौं झुट्ठा मुद्धाहरू खेपेर सिडिओ कार्यालय र
अदालत धाउँदै छु ।

सोल्टिनी !
बर्खा, हिउँदो नभनि
घाम पानी नभनि
गाउँ, शहरका गल्लिहरूमा
पहिचान र अस्तित्वको आन्दोलन घन्काएर हिंडिरहेको छु ।
रोगी बा, आमा र परिवारको उपचार खर्च कटाएर,
परदेशमा रहेको जागिरे छोराको पेट कटाएर
पठाएको २, ४ पैसा खर्चेर
आन्दोलन थामेको छु नि, सोल्टिनी !

थाकेर कहिलेकाँही,
सडकका पेटिहरूमा थुचुक्क बसेर कल्पिन्छु
माघेनी मेलामा पालाम गाउँदै धान नाचेको
खेतको गरामा बसेर आलुको तरकारी र चाम्रे
माया पिरतीको कुरा गर्दै खाएको
अनि,
जाँड पानी पिएको ।
कति सफा मन थियो, उ बेला
कति निश्चल थियो त्यसबेला
कति सुन्दर थियो, हामी खेलिहिंड्ने गरेका
खलाहरू, बाटाहरू र मेला पातहरू ।

हो, सोल्टिनी !
जब मुलुकमा राजाले गद्दी छोडेपछि,
जब सत्तामा कौशिकी रिसिका सन्तानहरू पुगेपछि
जब उनिहरूको कलमले इतिहास लेखिन थालेपछि
जब हाम्रा किपटलाई च्यातेर धुजा धुजा बनाएपछि
हाम्रा ती सुन्दर शहरहरूमा, गाउँहरूमा,
सफा र निश्चल मन बोकेर रातदिन नाचिने धान नाच
निचोरिएर फालिएको छ,
पालाम, हाकपारे र लोकगितहरू कच्याक् कुचुक पारेर
फोहोरको डंगुरमा फालिएको छ,
अतितका खुशीहरू सबै पाइताले थिचि मारेका छन् ।

अनि त सोल्टिनी !
आजकल जीवनका यौवनालाई बेचेर,
जीवनका सबै खुशीहरू बन्धक राखेर,
अनि,
रमाइलोका दिनहरूलाई थाती राखेर
आन्दोलनमा होमिएको छु है सोल्टिनी !

यहि खबर छ सोल्टिनी !
दुश्मनको गोलिले ज्यान ढलेन भने,
आहारिसेहरूको खुकुरीले ज्यान काटिएन भने
लभडाँडामा कुनै दिन भेटौंला,
कुनैदिन सेल्फिडाँडामा भेटौंला,
नभए पनि
टिकटकमा भेटौंला है, सोल्टिनी !

सम्बन्धित खवर