सबै प्रकारका सामानिजमको श्रोत

  • नन्द कन्दङवा

के हो सामानिजम ?

प्राकृत (Animism)विश्वास प्रणालीमा आधारित तन्त्र मन्त्रद्धारा सम्पन्नगरिने आध्यात्मिक विधी विधान, पुजा आजा तथा संस्कार एवम् सांस्कृतिक कार्यहरुको समग्र रुपलाई सामानिजम भनिन्छ । मरेका पितृहरुलाई मान्ने पुज्ने, कुल देवतालाई मान्ने पुज्ने, मानिस मरे पछि साम शक्ति (आत्माशक्ति) बन्नेमा विश्वास गर्ने, तिनै सामहरु ज्युदा मानिसहरुमा चढ्ने र बक्ने, ति सबै आध्यात्मिक अनुष्ठान देवता चढ्ने सामन(Animism)हरुले सम्पन्न गर्ने, त्यसैमा विश्वास गर्ने आदी यसका बिशेषताहरु हुन्छन् ।

विश्वका सबै आदिवासीहरुले कुनै न कुनै रुपमा सामानिजमको अभ्यास गर्दछन् । नेपालको सन्दर्भमा आदिवासी र मस्टोवाला खसहरुले सामानिजमको अभ्यास गरिरहेका छन् । मस्टोवाला खसहरुको सामानिजम विधी विधान सम्पन्न गर्ने व्यक्तिलाई धामी तथा झाक्री भन्दछन् भने लिम्बु आदिवासीमा फेदाङबा, साम्बा, येवा/येमा भन्दछन् । राईमा नाछुङ, माङपा तथा बिजुवा भन्दछन् । थारुमा गुरुवा, नेवारमा गुभाजु., तामाङमा लामा., गुरुङमा पच्यु, ख्लेप्प्रे र बोन्पो भन्दछन भने बोन मार्गी तिव्वतीमा बोन्पा भन्दछन । त्यसरी नै हरेक समुहमा सामनको नाम फरक फरक रहेको छ । साईबेरियन आदिवासीमा सामन, ईण्डोनेशियामा बोमोह डुकुन, जापानमा मिको (महिला), कोरियामा बाक्सो मुदाङ्ग, मलेसियामा बोबोहिजन/बोक्लियन/बोमोह/पावाङ, फिलिपिन्समा बबाइलाम, चिनमा उ, जापानमा नारो युता/मियाको, अमेरिकी नेटिभहरुमा सामन/झारफुक बैद्य अर्थात औषधोपचार गर्ने व्यक्ति(medicine person), अफ्रिकामा साङगोना/ईन्याङगा, यूरोपमाभोल्भा/साईडकोना, नर्डिक देश सामीमा नोआईडि भन्दछन् ।

यो सामन भन्ने शव्दको उत्पतिबारे विभिन्नमत पाईन्छ । साईबेरियन तुङगु र एभेन्की भाषामा सामन भनेको जान्ने मानिस भन्ने अर्थ लाग्छ । त्यसैले, यस शव्दको उत्पति त्यहिबाट भयो भन्ने छ । एउटा मत क्रिश्चियनहरुले अन्य धर्म विश्वासकालाई सैतान भन्ने भएकोले सैतानको अपभ्रम्स सामन भएको भन्ने छ । आजभन्दा २०–३० हजार बर्ष पहिले देखि नै साईबेरियन आदिवासीमा सामनको प्रचलन भएको र क्रिश्चियन धर्मको प्रचलन आजभन्दा २ हजार २ सय बर्ष अघिबाट मात्र भएकोले यो मतलाई विश्वास गर्न सकिन्न । अर्को एउटा मतले संस्कृतमा श्रवन/स्रवन (सुन्ने) शव्दबाट अपभ्रम्स भएर सामन भएको हो भन्दछ । यो मत पनि समयको हिसावले विश्वास गर्न सकिने स्थिति छैन । यसमा पहिलो मत नै ठिक हो भन्ने देखिन्छ । सन् २००८ मा हेब्रु विश्वविद्यालय, जेरुसलेमका खोजकर्ताहरुले ईजरायलमा गाडिएको १२,००० बर्ष पुरानो सामनको अवशेष पाएकोले पनि यो कुरालाई पुष्टि गर्दछ ।

सामाजिमका प्रकारहरु

विश्वमा भईरहेको सामानिजम अभ्यासको सार एउटै अर्थात ज्युदा र मरेका आत्मा(Spirit)लाई मान्ने हो । विश्वास पनि एउटै हो । यसमा सामनहरु मानव संसारबाट आत्माको संसारमा पस्छन, सामाजिममा विश्वास र अभ्यास गरिरहेका समुदायले त्यसलाई एउटा विधी तथा संस्कारको रुपमा मान्दछन र त्यसबारेको ज्ञान सबै सर्वसाधारणलाई दिईन्न । यसले सम्पन्न गर्ने विधी, प्रकृया र देवताहरु भने सम्बन्धित समुदायले मानि रहेको धार्मीक विश्वासमा फरक पर्दछ । यस्तो विधी, प्रकृया तथा मान्नु पर्ने देवताहरु बोन धर्म, मष्ट धर्म, यूमा तथा किरात धर्म, सिन्तो धर्म, प्राकृत धर्म लगायतका धर्मालम्बीहरुमा केही फरक पर्दछ । त्यसैले, सामानिजमलाई अंगालेको समुदायको धर्म तथा अभ्यासको आधारमा सामानिजम विभिन्न प्रकारका छन भनेर भन्नु पर्ने हुन्छ । जस अनुसार निम्न प्रकारका सामानिजम अभ्यासमा छन् भनेर मान्नु पर्ने हुन्छः

  • बोन सामानिजम
    मष्ट सामानिजम
    यूमा तथा किरात सामानिजम
    सिन्तो सामानिजम
    उआनिब अर्थात ह्मोङगिजम सामानिजम (चिनीया आदिवासी एक समुह)
    प्राकृत अर्थात एनेमिष्ट सामानिजम
    ऐनु धार्मीक विश्वास सामानिजम (जापानी एक आदिवासी समुह)
    राक्युआन/रुक्यु सिन्तो सामानिजम (जापानी एक आदिवासी समुह)
    हान्जा मुसोक सामानिजम (कोरियन आदिवासी समुह)
    सामुदायिक धार्मीक विश्वास सामानिजम (मंगोलिया)
    डम्बाना/अनितो सामुदायिक धार्मीक विश्वास सामानिजम (फिलिपिन्स)
    ताओईजम/बौधमार्गी सामानिजम
    मध्यएशियन सामानिजम
    लेन्डाङ/हुवाबोङ/हुवाडोङ/डाओमु सामानिजम (भियतनाम)
    लामावादी बौध मार्गी सामानिजम
    सामी सामानिजम
    ईन्युईट/युपिक (ईस्कीमो) सामानिजम
    नेटिभ अमेरिकन धार्मीक सामानिजम
    माया धार्मीक सामानिजम
    सान्तो दैमे ब्राजिलियन सामानिजम आदी

सामनहरुको पहिरन र अनुष्ठान बाजा
सामानिजम अभ्यास गर्ने विश्वका विभिन्न समुदायमा रहेका सामन (पुजारी जस्तै) हरुले अनुष्ठानको समयमा बिशेष प्रकारका पहिरन लगाउने र बाजा बजाउने गर्दछन । तिपहिरन र बाजाहरु समुदाय पिच्छेका सामनहरुको फरक फरक रहेको देखिन्छ । उनीहरुले लगाउने पहिरन प्रकृतिसंग जोडिने पहिरन देखिन्छ । सबै प्रकारका सामनहरुले अनुष्ठान गर्दा लगाउने पहिरन जामा जस्तो माथी देखि तलसम्म ढाक्ने पहिरन भएको देखिन्छ । शरिरमा पनि विभिन्न खाले मालाहरु लगाएको देखिन्छ ।
विश्वभरिकै सामनहरुले अनुष्ठान गर्दा फरक फरक बाजाहरु बजाउने गरेको पाईन्छ । ति बाजाहरु जनावरको छालाबाट बनेको ढ्याङग्रो र ढ्याङग्रो जस्तै अन्य आकार प्रकारका बाजा बजाउछन् । लिम्बु सामनहरुले थाल बजाउने गर्दछन । शायद ढ्याङग्रो या ढ्याङग्रो जस्तै छालाबाट बनेको बाजा चाही पुरानो चलन होला र थाल चाही नया चलन हो जुन काशको आविष्कार पछि शुरु भएको हो भन्ने स्पष्ट हुन्छ ।

सामानिजमको श्रोत
सबै बौधमार्गीहरुको श्रोत गौतम बुद्धले प्रतिपादन गरेको बुद्धिजम र यसका विभिन्न सेक्ट भए जस्तै सामानिजमको श्रोत भनेको तन्त्र मन्त्र हो जसको माध्यमबाट सामनहरु मानव संसार (Human world)बाट आत्माको अर्को संसार(Spiritual world)मा पस्छन र मानव संसार, समाज, परिवार तथा व्यक्तिको स्थिति, राम्रो नराम्रो तथा उपायहरुबारे बुझ्छन अनि मानव संसारलाई सन्चार गर्दछन् ।
यस्तो तन्त्र मन्त्र दिने र सिकाउने शक्तिको रुपमा विभिन्न पात्रहरु भएको पाईन्छ । यि पात्रहरु फरक फरक सामानिजमका अभ्यासहरुमा फरक फरक नाम पाईन्छ । यि पात्रहरु माशिव, वनझाक्री, सोधुगेन लेप्मुहाङ (लिम्बुमा), सामन उतार्ने गुरु सामन आदी पाईन्छ । सपनामा मन्त्र तन्त्र सिकाउने भन्ने कुरा चाही बंशाणु गुण अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा स्थानान्तर हो कि भन्ने कुरा अध्ययनहरुले देखाएको छ ।

सामानिजमको प्रभाव
एनेमिष्ट सामानिजम नै विश्वको सबैभन्दा पुरानो आध्यात्मिक विश्वास प्रणाली हो जुन आजभन्दा २०–३० हजार बर्ष पहिले ढुंगे युगमा नै शुरु भएको हो । यसर्थ, यसको प्रभाव विश्वका सबै धर्म विश्वासहरुमा पर्नु स्वभाविक छ । अहिले अभ्यासमा देखिएका जति पनि धार्मीक विश्वासहरु छन् तिनीहरु धेरै पछिका आध्यात्मिक तथा धार्मीक विश्वास प्रणालीहरु हुन । तिनीहरु कुनै पनि ईसा पुर्व १५शताव्दी भन्दा अघिका छैनन । बैदिक विश्वास प्रणाली ईसा पुर्व १५ शताव्दीतिरको हो भने हिन्दु धर्म त बौध धर्म भन्दा पछिको हो । हिन्दु धर्म ईस्वीको ८/९ शताव्दी पछी मात्र भन्न शुरु गरिएको देखिन्छ । तिव्वतियन बोन बौध धर्म तथा विश्वास हिन्दु धर्म भन्दा अघिको हो । बौध धर्म ईसापुर्व ६/५ शताव्दीबाट शुरु भएको हो । ताओ तथा कन्फ्युसियस पनि झण्डै बौध धर्मका समकालिन हुन । क्रिश्चियन धर्म पनि आजभन्दा २२–२३ सय बर्ष पहिले अर्थात १ शताव्दीको आसपासबाट शुरु भएको हो । मुस्लिम धर्म विश्वास पनि पछि शुरु भएको धर्म हो । हाम्रो सन्दर्भका किरात सत्यहाङ, यूमा साम्यो जस्ता धर्महरु मुन्धुम विश्वासको आधारमा धर्मकै रुपमा भर्खर भर्खर शुरु भएका छन । यि सबै धार्मीक विश्वासहरुमा एनेमिष्ट सामानिजमको प्रभाव परेको छ । यसैले, यि धर्म विश्वासका कतिपय कथा, विधी विधान र अनुष्ठान तरिकाहरु एनेमिष्ट–सामानिजमको विधी, विधान र अनुष्ठान तरिकासंग मिल्छन । यसलाई अनौठो मान्न सकिन्न र मान्न पनि हुँदैन ।

लेखक ः याक्थुङ/लिम्बू थरगत सहजीकरण समूहका संयोजक हुुनु हुन्छ ।

सम्बन्धित खवर