दमकमा याक्थुङ साम्लो महोत्सव हुने

दमक,१० फागुन/ झापाको दमकमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक  मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ ।

आज (बिहिबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गर्दै फक्ताङलुन मञ्चले महोत्सवबारे जानकारी दिएको हो ।

मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो र तेह्रथुमको मेयङलुङ बजारमा दोस्रो महोत्सव आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप दमकको पशुहाटमा याक्थुङ साम्लो महोत्सव – २०८० आयोजना गर्न आवश्यक तयारी सुरु गरेको याक्थुङ साम्लो महोत्सव आयोजक समिति संयोजक तथा फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष यादन सेर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार महोत्सवमा याक्थुङ लिम्बूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो/गितको रुपमा विद्यमान रहेका पालाम, ख्याली, हाक्पारे, माङसिवा खाहुन/सेवा साम्लो, माङलाङ, केलाङ, येबा लाङ, येमा लाङ, थेबा लाङ, युमा लाङ साथै लोपन्मुख अवस्थामा रहेको तु?हा, ताम्के र याःसाम्लो, माङघ, नुवापमा, सिमेरिङ लगायत साँस्कृतिक प्रस्तुति समेत रहने जनाएको छ ।

याक्थुङ लिम्बूहरुसँग सम्बन्धित मौलिक संस्कृतिको रुपमा रहेका गित, संगीत र कलालाई उजागर गर्दै, यसको उत्थान, संरक्षण र सम्बद्र्धन साथै बिश्वव्यापी रुपमा प्रचार प्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउँने महोत्सवको मुख्य उदेश्य रहेको समेत सेर्माले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका याक्थुङ(लिम्बू) कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतिको साथमा याक्थुङ साम्लोमा माङसिवाखाहुन र याक्थुङ साम्लोमा ताम्के विषयक दूईवटा कार्यपत्र प्रस्तुत हुने र त्यसबारे टिका टिप्पणीसहित बृहत रुपमा छलफल समेत हुने जनाइएको छ ।

दश हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने गरी प्रसार-प्रसार सुरु गरेको महोत्सवमा करिव पन्ध्र लाख लागत लाग्ने अनुमान गरिएको जनाइएको छ ।

सम्बन्धित खवर