
- सुबास तेयुङ
बौद्धिक र ऐतिहासिक अनुसन्धानमा समर्पित लिला बहादुर तुम्बाहाम्फेद्वारा संकलित तथा लेखित “याक्थुङ साप्मुन्धुम: लिम्बु र लिम्बुवान इतिहास” नामक ऐतिहासिक ग्रन्थले लिम्बुवान क्षेत्रको विगतलाई सजीव रूपमा उजागर गर्दछ। यस कृतिले विशेषगरी सेन र शाह शासनकालमा लिम्बुवानको विविध पक्षहरूको यथार्थ तस्वीर प्रस्तुत गर्दै, नेपालको इतिहासमा यस क्षेत्रको भूमिकालाई थप प्रमाणिक रूपमा स्थापित गर्न सहयोग पुर्याउछ।
यस ऐतिहासिक कृतिमा जम्मा ९० वटा महत्वपूर्ण दस्तावेजहरु समावेश गरिएका छन्, जसलाई दुई खण्डमा वर्गीकृत गरिएको छ। पहिलो खण्डमा ५७ वटा सरकारी अभिलेख समेटिएका छन् भने दोस्रो खण्डमा ३३ वटा तमसुक तथा स्थानीय दस्तावेजहरू राखिएका छन्। प्रत्येक दस्तावेजको परिचय, तस्बिर, लिप्यान्तर, र विषयसार टिप्पणी सहित गरिएको सुसंगठित प्रस्तुतीकरणले पाठकहरूलाई इतिहास बुझ्न सजिलो र रोचक बनाउछ।
पुस्तकको प्रकाशन ०८१ साल गत चैतमा यालुङ प्रिन्टर्स एण्ड सप्लायर्स मार्फत १००० प्रति मुद्रण गरिएको हो। ४९३ पृष्ठ लामो यो पुस्तकको मूल्य रु. १५०० निर्धारण गरिएको छ। पुस्तक सम्पूर्ण रूपमा दिवंगत पुर्खा सुब्बाहरू र आफन्तजनको स्मृतिमा समर्पित छ।
यस पुस्तकमा इतिहासकार भगिराज इङ्नामले भूमिका लेख्नु भएको छ, जसले गर्दा यो कृति झनै विश्वसनीय र प्रामाणिक बनाउदै, इङ्नामका प्रकाशित दस्ताबेजहरु र यो पुस्तकले गरी करिव ५०० वर्ष लामो लिम्बुवानको विगतको इतिहासलाइ सु-स्पष्ट रूपमा उजागर गर्दै, पाठकहरूको विश्वास र चासोलाई पूरा गर्दै ढुक्क बनाउँछ।
यस बाहेक वैरागी काइला, येहाङ लाओती जस्ता ख्यातनाम व्यक्तित्वहरूले लेखेको शुभकामना सन्देशले पुस्तकलाई ओझिलो बनाएको छ। पुस्तकको सम्पादनमा डि. बी. आङ्वुङको रचनात्मक भूमिका उल्लेखनीय छ। यसैगरी, बुबाको सपना साकार पार्न छोरी भावना तुम्बाहाङ्फे र ज्वाइँ पासाङ नाम्ग्याल लामाले प्रकाशनमा खेलेको भूमिका प्रेरणादायी छ।
यस पुस्तकले नेपालको वास्तविक इतिहास पुन:र्लेखनमा महत्वपूर्ण योगदान दिनका साथै लिम्बु लगायत लिम्बुवानका अन्य आदिवासीहरुको जातिगत वा थरगत वंशावली लेखन तथा ऐतिहासिक अनुसन्धानका लागि एक अमूल्य स्रोत प्रदान गर्नेछ भन्नेमा कुनै शंका छैन।
यस्ता दुर्लभ र अप्रकाशित दस्तावेजहरू सबै माझ साझा भइरहँदा समाजमा चेतना विस्तार भएको र बिस्तारै राज्यको चेतना पनि जगिँदै जाने र ऐतिहासिक अन्याय भोग्नु परेका समुदायहरूको इतिहास पनि सम्मानका साथ औपचारिक रुपमा स्विकार्य हुँदै जाने आशा पलाउँछ।
अन्त्यमा, संकलक तथा लेखक लिला बहादुर तुम्बाहाङ्फेप्रति उच्च सम्मान प्रकट गर्दै, यस दस्तावेज संग्रहलाई महत्वपूर्ण ऐतिहासिक सम्पदाका रूपमा सुरक्षित राख्नु विवेकपूर्ण कार्य ठहरिन सक्छ भन्ने विश्वास व्यक्त गरिन्छ ।

