चुम्लुङ तेह्रथुम, अनुभुती र सम्झनाहरु

 

  • सेसेहाङ हुक्पा चोङबाङ

तेह्रथुम/ म २०७८ माघ २९ गते किरात याक्थुङ चुम्लुङ तेह्रथुमको आठौं जिल्ला अधिवेशनबाट नेतृत्वमा आइसकेपछि तीन बर्ष र करिव साडे तीन महिना जति काम गर्ने अवसर मिल्यो । यो अवसर मेरो जीवनको एउटा सौभाग्य पनि हो । मैले कियाचु तेह्रथुममा जानेर वा नजानी आफ्नो सक्रियता बढाउने हरदम प्रयत्न जारी राखे ! यसो भनिरहन्दा म जस्तो एउटा बबुरोले के नै पो गर्न सक्छु र? तर पनि प्रयास जारी नै गरियो । प्रयासका पाइलाहरुले केही साना साना फड्कोहरु मार्ने कोसिस गर्‍यो यो मानेमा कि चुम्लुङको जीवन्ततामा नियमित कार्यहरू कुनै बाकी राखिएन चाहे आन्दोलन होस या चुम्लुङको दैनिकी ! भनिन्छ मान्छेले सक्रियता देखाउनु पर्छ त्यसैले कुनै न कुनै अदृश्य भए पनि उपलब्धि हासिल गर्ने माध्यम बनाउछ । यो विचार लिएर अघि बढ्ने कोसिस गरियो । खास चुम्लुङको उदेश्य लिम्बूहरुको भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक सवालहरु मजबुत बनाउनु हो । यस विषयमा सर्वप्रथम चेतना विस्तार गर्नुपर्ने हुन्छ ताकी हाम्रा समुदायले आफ्नो अस्तित्व अनि रुट के हो? त्यसलाई बुझेर पछ्याउने कार्य गरुन भनेर थुप्रै सचेतनाका कार्यहरू पनि गरियो । यिनै दैनिकीहरुमा केन्द्रीत रहेर मेरो कार्यकाल वित्यो । अब चुम्लुङमा मैले देखेको, बुझेको र हाम्रो टिमले गर्न खोजेको प्रयासहरु केही प्रतिनिधि मुलक रूपमा यहाँ उल्लेख गरेको छु ।

१. मैले बुझेको चुम्लुङ

किरात याक्थुङ चुम्लुङ लिम्बू जातिहरुको साझा तथा सर्वोच्च सामाजिक संस्था हो । बहुदलीय प्रजातन्त्रको स्थापना संगै अग्रजहरुले यो चुम्लुङ स्थापना गरे । चुम्लुङ स्थापनाको उदेश्य नै लिम्बू जातिको भाषा, लिपी, धर्म, संस्कार, संस्कृति आदिको उत्थान र बिकासका लागि थियो । यसको व्यापक कार्यान्वयनमा थुप्रै कोसिसहरु भए । पछिल्लो समय राजनैतिक अधिकार प्राप्तिको लागि चुम्लुङले आफ्नो एजेन्डा निर्माण गर्दै कुटनैतिक तबरबाट सम्बन्धित क्षेत्रमा दबाब सृजना गर्ने कार्यहरू निरन्तर गर्‍यो । यो आफैमा सकारात्मक कार्य हो, तर यतिले मात्र चुम्लुङ पर्याप्त हुदैन । चुम्लुङले आम याक्थुङहरुको भाषिक, मौलिक पहिचान संगसंगै शैक्षिक तथा आर्थिक जगतमा रुपान्तरण गर्ने भुमिका खेल्नु पर्छ । हाम्रो लिम्बू समुदायमा अझै पनि शैक्षिक रूप खस्किन्दो अवस्थामा छ । आर्थिक रुप जरजर छ । हाम्रा याक्थुङ दाजुभाइहरु धेरै भन्दा धेरै आर्थिक समस्याको जंगोलबाट माथी उठन सकेका छैनन । दुरदराजका याक्थुङहरु शिक्षा आर्जन नगरी रोजिरोटीको भुमरीमा अलमली रहन बाध्य छन । खास गरि गरिबी चेतनासंग पनि जोडिएको हुन्छ । हाम्रो जीवन शैलीसंग पनि सम्बद्ध हुन्छ । हामीले अपनाउने जीवयापनहरु धेरै खर्चिलो छन । यसको न्यूनीकरण गरेर केही मात्रामा लिम्बूहरुको जीवन स्तरमा सुधार ल्याउन सक्नुपर्छ । त्यसैले हामी लिम्बूहरुले कस्तो जीवन शैली अपनाउने वा हाम्रो जीवन शैलीको चरीत्र कस्तो बनाउने भन्ने बहस र ज्ञान बाड्न जरुर छ । यो चुम्लुङले गर्नुपर्छ । त्यसैले मैले बुझेको चुम्लुङ अझ धेरै उत्तरदायी, व्यापक र लिम्बूहरुको असल अभिभावक हो ।

२. चुम्लुङ र आन्दोलन 

कोशी नाम खारेजी र मुक्कुमलुङ संरक्षण आन्दोलन चुम्लुङको नेतृत्वमा चलेको जल्दोबल्दो आन्दोलन हो । यो आन्दोलनले तार्किक निष्कर्ष पुग्ने आधार विन्दु तय गरेको छ । तथापि सफलता भने हासिल गरेको छैन । यस आन्दोलन संगसंगै साँस्कृतिक पुनर्जागरणको आन्दोलनलाई पनि चुम्लुङ आफुले सम्हालेको छ । वास्तवमा भन्ने हो भने चुम्लुङको यो अभियान अत्यन्तै सान्दर्भिक हो तर यो अभियानमा चुम्लुङकर्मी सबै जोडिन सकेका छैनन । विभिन्न राजनीति बाहानामा अल्झेर चुम्लुङमा लाग्ने लिम्बूहरु आन्दोलनबाट तर्किने कोसिस गरिरहेका छन । चुम्लुङमा बस्ने अनि आफ्नै संस्थाको नीति तथा कार्यक्रमलाई लात हान्न खोज्ने चुम्लुङकर्मीहरु पनि भेटिन्छन । यसले गर्दा चुम्लुङले तय गरेका उदेश्य र आन्दोलनहरु असफलताको बाटोतिर मोडिन खोजेको पक्कै छ । लिम्बूहरुको साझा हकहितको लागि बोलिदिने एक मात्र संस्था चुम्लुङ नै हो । यति बुझेर पनि चुम्लुङलाई विस्तारै निमिट्यान्न बनाउन खोज्ने साथै त्यस योजना अनुसार प्रयोग हुनेहरु यसको लागि खतरनाक तत्वहरु हुन । यस्ता तत्वहरुसंग लिम्बू समुदाय सधै सचेत रहनुपर्छ । हाम्रो अधिकार स्थापना गर्न भुमी सहितको राजनैतिक अधिकार चाहिन्छ । जब सम्म हामीले राजनैतिक अधिकार प्राप्त गर्न सक्दैनौं तब सम्म हामी हरेक हिसावले पछि परिनै रहन्छौ । यो कुरा हाम्रा चुम्लुङकर्मिले बुझ्नुपर्छ । त्यसैले चुम्लुङले लिएको आन्दोलनको बाटो सहि र वस्तुपरक छ ।

३. चुम्लुङ र लिम्बूहरु

किरात याक्थुङ चुम्लुङको सरोकारवालाहरु भनेको लिम्बूहरु नै हुन । ती लिम्बूहरु भनेका लिम्बू गाउघरहरुमा बसेका छन । अलि आर्थिक राम्रो हुनेहरू शहरतिर पनि बसेका छन । यो ब्रह्माण्डमा लिम्बू याक्थुङ जातीहरु रहुन्जेल चुम्लुङ जिवित रहन्छ । किरात याक्थुङ चुम्लुङले पनि सबै लिम्बूहरुलाई समेट्नु पर्छ । सबैलाई समेट्ने कोसिस पनि गरिरहेको छ । वास्तवमा लिम्बू जातिहरु आपुङगी छन । आफ्नो आपुङगी पनाले गर्दा आफ्नो सर्वस्व गुमाउने बाटोतिर धकेलिएका छन । यहि आपुङगी पनाले गर्दा वर्तमानमा चाहिँ चुम्लुङले भने जस्तो गरि लिम्बूहरुलाई एकीकृत गर्न सकेको पनि छैन । यो वास्तविकता हामीले स्वीकार गर्नुपर्छ, तर आजका पुस्ताहरुले त्यो आपुङगी पनालाई छोडेर एकताको बाटो अंगाल्नु सक्नुपर्छ भन्ने बुझाइ पनि राख्नुपर्छ । चुम्लुङले प्रत्येक लिम्बूहरुसंग साक्षत्कार गर्ने हिम्मत गर्नुपर्छ र गर्ने कोसिस पनि गरेकोछ । साच्चै भन्ने हो भने धेरै याक्थुङ लिम्बूहरुको देन नभएको भए यो चुम्लुङ आजको चुम्लुङ हुन सक्दैन थियो । यहाँ अग्रज याक्थुङ लिम्बूहरुको ठूलो योगदान रहेको छ । यसरी नै चुम्लुङ प्रतिको त्यागमा आजका पुस्ता पनि लाग्नुपर्छ र वास्तविक लिम्बूहरुको उत्थानमा सदैब सक्रिय रहनु पर्छ । हिजोका याक्थुङहरुको चुम्लुङ प्रतिको उत्तरदायी सोचले गर्दा आजको पिँढीले गर्व गर्ने थलो निर्माण भयो र नै सबै लिम्बूहरुमा चुम्लुङको आवस्यकता महसुस हुदै गयो । त्यसैले चुम्लुङ र लिम्बूहरुको अनन्य सम्बन्ध सदाबहार चलिरहेको छ ।

४. मैले देखेको लिम्बू गाउँहरु

लिम्बू गाउँहरु साच्चै सुन्दर छन । जीवनको वास्तविकता लिम्बू गाउँहरुमा भेटिन्छन । उकाली ओराली भञ्ज्याङ चौतारीहरुमा लिम्बूहरुको जिउदो इतिहास तथा प्रतीक भेटिन्छ । भिर पहरा र खोलानालाले लिम्बू भाकाहरु बोकिरहेको भेटिन्छ । हुन त म पनि गाउँ  मै जन्मे,गाउँमै हुर्के र गाउमै बसिरहेको छु । यसो गर्दा लिम्बू गाउँहरु आज सम्म राम्ररी नियाल्न पाएको छु । यहाको कुना कन्दरा घुम्न पाएको छु । अरु ठाउहरुको तुलनामा याक्थुङ लिम्बूहरु वस्ने  पनि गाउँमै ज्यादा रहेको छ । लिम्बू पहिचानका स्रोतहरु अत्यधिक गाउघरमै भेटिन्छन । तर दुखको कुरा लिम्बू गाउहरुमा भनेजस्तो गरेर चुम्लुङ पुग्न सकेको छैन । मेरो नेतृत्व कालमा याक्थुङ पाङभे?हरुमा चुम्लुङ नारा लिएर तेह्रथुम भरिका गाउँ जाने कोसिस गरियो । याक्थुङ गाउहरुमा जाने त्यहाका सबै याक्थुङ लिम्बूहरुसंग भेट्ने ! जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने ! फेजुकुम फेदाङमा, सावाला साम्बा, येभुङ येबा, येमानी र तुम्याङहाङहरुसंग भेटेर साक्षत्कार गर्ने ! मुन्धुम, भाषा तथा साहित्यको विषयमा छलफल तथा अन्तरक्रिया गर्ने भन्ने थियो तर दुई वटा आन्दोलनले पुरै आफ्नो कार्यकाल खाई दियो । आज हामीले गर्ने थुप्रै कामहरू लिम्बू गाउँहरुमा छन । यहाको मुन्धुमी स्थलहरुको संरक्षण र सम्बर्द्धन, गाउँठाउका नामहरु अतिक्रमण भएर अप्रभंसित भैसकेका छन । तिनिहरुको सुधारका लागि व्यग्र प्रतीक्षामा गाउँहरु बसिरहेका छन । त्यसैले चुम्लुङले गाउँघरहरुसंगको सम्बन्धसंग निकटतम बनाउन जरुरी छ । अलि चुम्लुङको गतिविधि सुबिधा सम्पन्न शहर मुखी बनेको हो कि? भनेर पनि भन्न सकिन्छ । यसै सेरोफेरोमा हामीले तेह्रथुममा चुम्लुङका नियमित कार्यक्रमहरु सबै गाउँमा पालैपालो गर्दै लाने भन्ने निर्णय पनि गरेका थियौ । दुइचार ठाउँमा कार्यक्रम गरियो पनि । पछि प्राबिधिक कारण केही कार्यक्रम भने रोकिएको थियो ।

५. प्रयास गरिएका कामहरू 

कियाचु तेह्रथुममा हामी आएपछि निक्कै कामहरु गर्ने प्रयास गर्‍यौ । कोशी नाम खारेजी र नो केवलकारको आन्दोलनमा त पहिलो लगानी नै छ । साथै चुम्लुङको नियमित कार्यक्रमहरु यक्वा तङनाम, सिसेक्पा तङनाम, चुम्लुङ स्थापना दिवस, चासोक तङनाम, सिरिजंगा, फाल्गुनन्द र इमानसिं चेम्जोङ जन्मजयन्ती, जिल्ला चुम्लुङ, बैठक लगायतका अन्य कार्यक्रमहरु नियमित गरियो । यो संगै किरात याक्थुङ चुम्लुङको आन्तरिक जीवनलाई आर्थिक रूपमा मजबुत बनाउन संघीय कर्य समितिको निर्णयलाई कार्यन्वयन गर्ने सन्दर्भमा मिति २०७९ माघ २५ गते कियाचु आत्मनिर्भर अक्षयकोष विस्तारै थप्दै जाने गरि रु. २७,६७२/- रुपैयाँ बराबरको कोष स्थापना गर्ने कार्य गरियो । यसरी नै याक्थुङ जातिको इतिहास, साहित्य तथा वंशावली खोजअनुसन्धानमा लाग्ने तेह्रथुम भित्रका लेखकहरुलाई पुरस्कृत गर्ने उदेश्यले मिति २०७९ फागुन २४ गते इमानसिं चेम्जोङ पुरस्कार कोष रु. ३४,८९६/- रुपैयाँ बराबरको अक्षयकोष राख्ने कार्य सम्पन्न गरियो । यो कोषलाई पनि विस्तारै बढाउदै लाने भनिएको छ । यसैगरी याक्थुङ साहित्यमा लेख्ने, तर आफ्नो कृति प्रकाशन गर्न नसक्ने साहित्यकारहरुको कृति चुम्लुङले प्रकाशन गरिदिने उदेश्यले मिति २०८० भाद्र १९ गते कियाचु प्रकाशन, प्रसारण अक्षयकोष रु. ४९,२४५/- रुपैयाँ बराबरको कोष स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ । यो कोषलाइ पनि बढाउदै लैजाने भनिएको छ । त्यसैगरी याक्थुङ गाउँहरुमा जीवन भर आफ्नो भविस्यको प्रबाह नगरी सामाजिक कार्यहरूमा तल्लीन रहने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले श्री घनस्याम सावादेन ज्युलाई अनुरोध गरि उहाँले मिति २०८० चैत २१ गते फाल्गुनन्द समाज सुधारक पुरस्कार कोष रु. १०३,१९५/- रुपैयाँ बराबरको कोष स्थापना गरिदिनु भएको छ । त्यसरी नै हामीले कियाचु कृषि सहकारी संस्थामा नियमित बचत रु. ३०३८/- रुपैयाँ गरेका रहेछौ र यो सबै कोषहरु हिसाब गर्दा जम्मा रु. २,१८,०४६/- अक्षरेपी दुई लाख अठार हजार छयालीस रुपैयाँ बराबरको कोष खडा गर्ने प्रयास सफल गरिएको रहेछ । यी कामहरु बाहेक भवन मर्मत सम्भारको लागि स्थानीय सरकारसंग बजेट माग गरिएको थियो तर बजेट नलाए पछि यो प्रयास अधुरो रहेको छ । हामीले धेरै गाउँठाउ र बाटोहरुको बोर्डहरु सौजन्य गरेका छौ । जस्तै लाजेहाङ मार्ग जिरिखिम्ती मध्यपहाडी रोड, सिरिजंगा मार्ग जिरिखिम्ती, मोराहङ, श्रीजुङ रोडको बोर्ड, गोर्खा लिम्बुवान संन्धिको लालमोहर फ्लास प्रीन्ट गरेर जिरिखिम्ती बजार मुख्य चोकमा टसाइएको छ । त्यसैगरी लिम्बुवान मार्ग फेदाप ५ नामाकरण र बोर्ड सौजन्य खोजेर चुम्लुङले सहजीकरण गरेको छ । लिम्बू भाषासंग जोडिएको खरङवा खोलाको नाम अप्रभंस गरि खुरुङगा बनाएका थिए । त्यसलाई हामी चुम्लुङकर्मिहरु गएर त्यहा रहेको बोर्ड मेटेर खरङवा खोला नै बनाएका थियौ । यस्ता सकारात्मक प्रत्यक्ष अप्रत्यक्ष धेरै कार्यहरु गर्ने प्रयास हामीले आफ्नो कार्यकालमा गरेका छौ ।

६. सबैलाई समेट्ने प्रयास

किरात याक्थुङ चुम्लुङ सबै लिम्बूहरुको साझा संस्था हो । यस आलेखमा पटक-पटक लेखिएको छ । यस संस्थामा सबैलाई समेट्नु पर्छ भन्ने सोच पहिले देखि नै थियो र चुम्लुङमा समेट्नु पनि  पर्छ नै । त्यसैले कियाचु तेह्रथुममा १५ जना सल्लाहकारहरु मनोनयन गरियो । ७ जनाको जिल्ला चुम्लुङ निर्माण गरियो । विभिन्न विषयगत समितिहरु गठन गरियो र सबैलाई समेट्ने धेरै प्रयास गरिएको थियो र अरुबाट पनि यस्तै सुझावहरु आइरहेको थियो तर विडम्बना भन्नै पर्दा मान्छेलाई समेट्ने भनाइ मात्रले संस्थाको हित नहुदो रहेछ । जसरी स्वयं ती पात्रहरु पदयी महत्त्व र संस्थाको हितका निम्ति जागरुक हुदैनन त्यसले संस्थामा सकारात्मक अर्थ राख्दैन । हामीले आशाले मनोनयन गरेका केही सल्लाहकारहरु बाहेक अधिकांश सल्लाहकारको सल्लाह सुझाव त के उनीहरुसंग आज सम्म सम्पर्क हुन सकेको छैन । जिल्ला चुम्लुङ सदस्यहरु एक पटक जिल्ला चुम्लुङमा सहभागी नभई कार्यकाल बितेको तितो यथार्थ छ । कर्म भन्दा पनि स्तरीयताको बुझाइले ग्रसित हाम्रो स्वभाव समाजमा  मौलाउदो अवस्थामा रहेछ । त्यसैले जुनसुकै संस्थामा समेट्दा पनि अनुकरणीय बिचारहरुलाई स्थान दिए पक्कै राम्रो हुदोरहेछ भन्ने अनुभव रहयो ।

७. हामीले गर्नुपर्ने धेरै कामहरु

चुम्लुङले गर्नुपर्ने धेरै कामहरु छन । आफ्नो जातिको साझा सवालका कामहरुमा चुम्लुङ प्रतिको आशा र भरोसा याक्थुङ लिम्बू समुदायले धेरै गरिरहेका छन । खास गरि अधिकारको सवालमा चुम्लुङले कठिन कोसिस गर्नुपर्छ होला ! किन भने हाम्रो भुमी, राजनैतिक अधिकार लगायतको अधिकार प्राप्त नभईन्जेल हामी लिम्बूहरुको मुक्ति सम्भव छैन । मलाइ लागेको हामीले गर्नुपर्ने कार्यहरू निम्नलिखित रहन्छन होला ।

क. सांगठनिक हिसाबले चुम्लुङ याक्थुङ बस्तीहरुको टोल टोल सम्म पुग्नुपर्छ र चुम्लुङको लक्ष्य उदेश्यबारे जानकारी गराउनु पर्छ ।

ख. भाषिक हिसाबले याक्थुङ पानको प्रयोग हाम्रै समुदायमा घट्दो छ । यसको प्रयोगमा अनिवार्यता ल्याउने रणनीति निर्माण गर्नुपर्दछ ।

ग. धार्मिक रूपमा उठेको विवाद लिम्बूहरुले समाधान गर्नुपर्छ । यसको सहजीकरण र नेतृत्वदायी भुमिका चुम्लुङले निभाउनु पर्छ र धार्मिक एकतामा जोड दिनुपर्छ । साथै अहिले धर्म परिवर्तनको चपेटामा लिम्बू समुदाय परेको कारण यसको दीर्घकालीन असरको बारे रणनीति निर्माण गर्नुपर्दछ ।

घ. साँस्कृतिक हिसाबले लिम्बूहरुको मौलिक चाडवाड र भेषभुषा, नाचगान, बाजागाजा लगायतको प्रयोगमा प्रभावकारी नीति अवलम्बन गर्नुपर्दछ ।

ङ. अधिकारवादी आन्दोलनलाई सक्रियता पुर्वक अघि बढाउनुपर्छ । कोशी नाम खारेजी र नो केबलकारको आन्दोलनमा चुम्लुङ अरु भन्दा एक कदम अघि हुनुपर्छ ।

च. लिम्बूहरुको आर्थिक सवलीकरणमा चासो बढाई व्यापार तथा उद्योग संचालन गर्न सबै लिम्बूहरुलाई प्रेरित गर्नुपर्दछ ।

८. सम्झनाका छापहरु

चुम्लुङमा मेरो कार्यकाल स्मरणीय रहयो । बिर्सन नसकिने घटनाहरु भए । याद गर कार्यक्रमहरु रहे । चुम्लुङमा जति अभियान चले । प्रायः सबै साथीहरूबाट साथ र सहयोग मिल्यो । मुलतः भुल्न नसकिने घटनाहरुको फेहरिस्तमा मिति २०७९ चैत ५ गते विराटनगर प्रदेशको नाम कोशी राखिएको बिरोधमा विशाल सभा आयोजना भएको थियो । त्यस सभामा तेह्रथुमबाट धेरै साथीहरू सहभागी थियौ । त्यतिखेर आफ्नै अगाडि लाजेहाङ सुक्वाबा घाइते भएर उपचारको क्रममा विरगती प्राप्त गरेको दु:खद क्षण भुल्न सकिन्दैन । मिति २०८० बैशाख १५ गते कोशी नाम राख्न आदेश दिने केपि ओलिको आठराई आउनेक्रमलाई आफू बिरामी भइ – भइ पनि ससक्त प्रतिकार गरिएको दिन सम्झनामा आइरहने क्षण हो । मिति २०८० जेठ १४ गते विराटनगरमा सांसद भवन घेर्न जादा म संगै कृष्ण हुक्पा चोङबाङ, सुबिन्द्र थेगुवा, टिएन सुब्बा, रितुराज थेगुवा, देविनारायण सम्बाहाङफे, मानध्वज सम्बाहाङ्फे, कृष्ण कटुवाल, दिल कुमार पंधाक, रुद्र तामाङ, सोम खापुङ, सुर्य निङलेकु पक्राउ परेको र प्रहरीसंग झडपमा परि भिम थेगुवा र योगेन्द्र पाक्सावा घाइते हुनुभएको दिनलाई पनि बिर्सन सकिन्दैन । मिति २०८० मंसिर २८ र २९ गते पहिचान विरोधी, आदिवासीहरुलाई आतंककारीको संज्ञा दिने केपी ओलिलाई प्रतिरोध गर्ने कार्यक्रम सबैभन्दा कठिन रहयो । दैनिक पुलिसको प्रेसर र निगरानीले हैरानी खेपियो । उक्त कार्यक्रममा छथरका साथीहरू शंकरमान  खेवा, सुर्य मादेन, नगेन सावा, बोध राज लिम्बू, उदय लिम्बू सम्बाहाङ्फे, फौद तुम्खेवा, दिपक लिम्बू, रुपेश लिम्बू र योगेन्द्र सावा लिम्बू पक्राउ पर्नुभएको थियो । साथै आठराइको छतेढुङगामा ६ घण्टा पुलिसको नजर बन्दमा म लगायत शिव इङनाम, जेवि कन्दङवा, तेजकुमार इङनाम, राम इङनाम, रविन कन्दङवा र मनिप कन्दङ्वा परेका थियौ । यो घटना पनि सम्झनाको डाइरी भित्र कैद भएर बसेको छ । मिति २०८१ माघ १२ गते मुक्कुमलुङ संरक्षणको लागि ताप्लेजङ बलुडाँडामा भएको भिडन्त युद्धकालिन सम्झना दिलाउने घटना थियो । उक्त घटनामा मेयङलुङ न.पा.-९ लुङनामफुङका याम बहादुर सुक्वाबा गम्भीर घाइते हुनुभयो । सोही स्थानका चन्द्रसागर सुक्वाबा भाइ पक्राउ पर्नुभयो । हामी तेह्रथुमबाट म, धनेन्द्र सुक्वाबा, वीर बहादुर सुक्वाबा, याम र सागर सुक्वाबा सहभागी थियौ । यो घटना जीवनमा बिर्सन नसकिने र कठिन घटना थियो । यो त आन्दोलनसंग सम्बन्धित प्रमुख घटना भए यस्ता सयौ कार्यहरु सम्झिरहेको छु । जुन आगामी दिनको मेरो पुस्तकमा आउनेछन । यसरी नै म चुम्लुङको अध्यक्षमा रहन्दा चुम्लुङ संस्थालाई सम्झेर याक्थुङ तेयुङ सङजुम्भोले आफ्नो राष्ट्रिय अधिवेशनमा, सिंगक समाज नेपालले आफ्नो तङसिङ अनुष्ठान र भेलामा, पंगेन्हाङ समाजले आफ्नो वंशको वंशावली विमोचनमा विशेष अतिथिको आमन्त्रण गर्नुभयो । त्यसैगरी किरात याक्थुङ चुम्लुङ मेछ्यायेम शाखाले कविता प्रतियोगिता आयोजना गरेको कार्यक्रम मराहङमा, पाहिम दाजुभाइहरुले आठराई गाउँपालिका-२ साम्थाङमा निर्माण गर्नु भएको सिलाम साक्मा उद्घाटन कार्यक्रममा र छ राय सयङले आफ्नो दोस्रो ऐतिहासिक भेला ताप्पेसो पेरुहाङ गढीमा, अतिथि आमन्त्रण गर्नुभएको थियो । उहाँ संघसंस्था सबैलाई बिशेष धन्यवाद सहित सम्झना छोड्न चाहन्छु । विशेष त चुम्लुङ अध्यक्षमा रहन्दा चुम्लुङको नियमित गतिविधिसंग सधै सम्पर्कमा रहनुहुने संघीय महासचिव निरन्ती तुम्बापो, जिल्लामा संगै हातेमालो गर्नुहुने संघीय सदस्य ज्युहरु, लिम्बुवान प्रदेश उपाध्यक्ष लगायत अन्य सदस्य ज्युहरु जिल्ला सल्लाहकार ज्युहरु म संग नियमित खट्नुहुने पदाधिकारी तथा सदस्य ज्युहरु राष्ट्रिय चुम्लुङ सदस्य ज्युहरु गाउँ शाखा समिति लगायत सम्पूर्णमा नोगेन । चुम्लुङको कार्यक्रममा म मेयङलुङ रहन्दा बसाइ अनुकुल बनाउने मेरो हितैसी मित्र तथा चुम्लुङ जिल्ला सचिव राजकुमार तेयुङलाई विशेष नोगेन प्रकट गर्दै धेरै धेरै सम्झन चाहन्छु ।