धरान/ संयक लिम्बू उत्थान समाज केन्द्रीय तदर्थ समितिले संयक लिम्बू वंशजको सादिङगे तिङगेहाङ संयक वंशावली प्रथम संस्करण-२०८१ प्रकाशन गरि चैत २९ गते शुक्रबार विमोचन सम्पन्न गरेको छ ।
शुक्रबार लिम्बुवानको विजयपुर सुनसरीको धरान-१५ तुलसी पथस्थित छथरे समाज सभाहल बगरकोटमा संयक लिम्बूको पुस्तक विमोचनमा पुर्व १ नम्बर प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा वंशावली विमोचन गरेको हो ।
संयक लिम्बूहरुको इतिहास, उद्गमस्थल, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष समेटेर तयार गरी “सादिङगे तिङगेहाङ संयक लिम्बू बंशावली” प्रथम संस्करण-२०८१ पुस्तक लेखन उपसमिति संयोजक हेमकर्ण तुम्सा संयक, सह संयोजक कुलकेशर तुम्बा संयक,सदस्यहरु किशोर तुम्बा संयक,सहबीर तुम्सा संयक,लीलाराज तुम्सा संयक,भवीराज तुम्सा संयक,नर ब. तुम्बा संयक,टीका ब. तुम्बा संयक र रण ब. युङसिङबा संयकले तयार गरेको बंशावली ड्राफ्टलाई हेमकर्ण तुम्सा संयक,कुलकेशर तुम्बा संयक,लीलाराज तुम्सा संयक,नर बहादुर तुम्बा संयक, रण बहादुर युङसिङ्बा संयक रहेको सम्पादन मण्डलले सम्पादन गरेको हो । बंशावली पुस्तक संयक लिम्बू उत्थान समाज केन्द्रीय तदर्थ समिति धरान सुनसरीको प्रकाशन रहेको छ ।
कुरुले पधे यकलाई आफ्नो माङगेन्ना यक मान्ने संयक लिम्बूहरु लाइदो संयकहाङ मिङ्स्रा अन्तगर्त थक्सुहाङ,नयोङहाङ युङसिङबा,लाङबेबा,तुम्बा र तुम्सा रहेका छन् भने यस बंशावलीमा भने “युङसिङबा,लाङबेबा,तुम्बा र तुम्सा” संयकहरुको बंशज मात्रै समेटेर पुस्तक प्रकाशन गरेको हेमकर्ण तुम्सा संयकले बताए ।
संयकहरुको उद्गमस्थल पधे/बोधे यकबाट कुरुले,तक्रम्बा,बुधुक,हमेला,खुवाफोक,चेग्रा बुढीमोरङ मुख्यत बसोबास गरि रहेका संयकहरु सो स्थानबाट अन्य जिल्लाहरु सुनसरी, मोरङ, झापा, काठमाडौ लगायत देश विदेशमा संयकहरुको बसोबास रहेको छ ।
कार्यक्रममा समाज शास्त्री/लेखक डा. कमल तिगेला खेवाहाङ,नाल्बो बंशावली लेखक सेसेमी से.नाल्बो,लिङथेप बंशावली खोज अनुसन्धान उप समिति संयोजक/लेखक उतम कुमार लिङथेप,थक्सुहाङ सङयक समाज केन्द्रीय उपाध्यक्ष मणि राज थक्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विमोचनमा बंशावली निर्माणको क्रममा विभिन्न तरिकाबाट सहयोग पुर्याउने मान्यजनहरुलाई संयक लिम्बू उत्थान समाज उपाध्यक्ष हेमकर्ण तुम्सा संयकले धन्यवाद तथा आभार सहितको मन्तव्य राखेका थिए ।
कार्यक्रम संयक लिम्बू उत्थान समाज केन्द्रीय तदर्थ समिति अध्यक्ष राजेश कुमार तुम्बा संयकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्वागत मन्तव्य संयक लिम्बू बंशावली लेखन उप समिति सदस्य भबिराज तुम्सा संयकले राखेका थिए भने संचालन समाज सचिव लिलाराज तुम्सा संयकले गरेका थिए ।थक्सुहाङ,नयोङहाङ,युङसिङबा,लाङबेबा,तुम्बा र तुम्सा संयक लिम्बूहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा ।
यसैगरी संयक भित्रका अग्रज ख्याति प्राप्त ब्यक्तिहरुलाई कदरपत्र,प्रशंसा पत्र र सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए साथमा केलाङ नाच,हाक्पारे साम्लो समेतको प्रस्तुती रहेको थियोे ।

