२६ माघ २०८१, झापा /मदन पुरस्कार विजेता प्रसिद्व आख्यानकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान प्रदान गरिएको छ।
शनिबार पाँचथरको फेदेनस्थित मनश्वी होटलको सभाहलमा नेपाली काँग्रेस सहमहामन्त्री भिस्मराज आङदेम्बेकाे प्रमुख आतिथ्यतामा अमर नेम्बाङ लिम्बूको छैठौं स्मृति दिवसको अवसरमा मदन पुरस्कार विजेता प्रसिद्व आख्यानकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई सम्मानपत्र सहित जनही नगद ५० हजार रुपैंयाँ राशीको सम्मान-पत्र प्रदान गरिएको थियो ।
अमर नेम्बाङ साहित्य सम्मानबाट यसअघि २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज सेर्मा, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७९ मा श्रवण मुकारुङ र प्रेम ओझा त्यस्तै २०८० मा बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित भइसकेका छन्।
कार्यक्रममा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिका–५ फाक्तेप कोल्बुङस्थित जनकल्याण मावि कक्षा–११ मा अध्ययनरत छात्रा अञ्जना चेम्जोङलाई नगद १५ हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरेको थियो ।
त्यस्तै गरि गत बर्खामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता बनेका जिल्लाका १६ परिवार र फालेलुङ गाउँपालिकामा वेवारिसे वम विष्फोट हुँदा ज्यान गुमाएका र घाइते भएका बालबालिकाको परिवारलाई जनही १० हजार रुपैंयाँका दरले राहत प्रदान गरेको थियो ।
प्रतिष्ठानले बाढीपहिरोको समयमा उद्धारकार्य र मानवीय सहायतामा सक्रियतापूर्वक काम गर्ने हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार रुपैंयाँ सहित सम्मान गरेको वताए ।
पर्यावरणीय साहित्य लेखनका अभियन्ता अमर नेम्बाङ फाल्गुनन्द गाउँपालिका पाँचथरका पूर्व जननिर्वाचित अध्यक्ष एवम् कवि, साहित्यकार हुन्। उनको ‘सम्झनाका तरेलीहरु’ (संस्मरण), ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ (कविता कृति) प्रकाशित छन्। नेम्बाङ राजनीतिज्ञ, समाजसेवी एवम् पाश्चात्य साहित्यका व्याख्याता थिए।
वि.सं.१९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवा गाउँमा जन्मिएका अमर नेम्बाङको वि.सं.२०७५ माघ २६ गते फाल्गुनन्द गाउँपालिकाको जननिर्वाचित अध्यक्ष रहेकै समयमा निधन भएको थियो।

