झापा, १७ माघ/ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार यस पटक विष्णु सुब्बालाई प्रदान गरिने भएको छ ।

झापाको दमकलाई कर्मथलो बनाई लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनौट समितिको सिफारिस गरेको थियो । उक्त पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।
यसै गरि फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने भएको छ ।
फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनोट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि दुई जना प्रतिभा छनोट गरेको अध्यक्ष भु कुमारी लिम्बूले बताइन। उदीयमान पत्रकारिता पुरस्कारको राशि ५/५ हजार रूपैयाँ रहेको छ ।
३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिने फोनिज झापा जिल्ला सचिव तिलक योन्जनले बताए ।