झापा / झापामा इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङ्को जयन्ती मनाउंदै विद्वान गुञ्जमान आङबुहाङ् स्मृति पुरस्कार वितरण गरिने भएको छ ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको पुस १३ गते चुम्लुङहिममा बसेको तेस्रो नियमित बैठकले सो निर्णय गरेको हो ।
पुस १७ गते अर्थात जनवरी १ तारिखका दिन मनाइने इमानसिं चेम्जोङ जयन्तीकै दिन दिवंगत विद्वान गुञ्जमान आङ्बुहाङको जन्मदिन परेकोले सोहि दिन आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको “विद्वान गुञ्जमान आङ्बुहाङ् स्मृति पुरस्कार” वितरण गर्न लागिएको हो ।
बैठकले जिल्ला उपाध्यक्ष हस्त बहादुर आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार वितरण छनौट उप-समिति गठन गरेको छ र जसमा सदस्यहरू जिल्ला सदस्य धर्म लक्सम्बा र सल्लाहकार योगचन्द्र आङ्बुहाङ् रहेका छन् ।
तेसैगरी कार्यक्रम सञ्चालन र व्यवस्थापन उप-समिति समेत गठन गरेको छ । सचिव भिममाया नेम्बाङको संयोजकत्वमा कार्यक्रम संचालन तीन सदस्यीय उप-समितिमा सह-सचिव कविन्द्र विक्रम नेम्बाङ् र सह- कमला यङहाङ सदस्य रहेका छन् भने उपाध्यक्ष दिव्यकला थेबेको संयोजकत्वमा व्यवस्थापन उप-समिति गठनमा सदस्यहरू जिल्ला कोषाध्यक्ष तारा लिम्बू र सदस्य सुन्दर लिम्बू रहेका छन् ।
नियमित बैठकले इमानसिं चेम्जोङ जयन्ती तथा आङ्बुहाङ् पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिमा किरात याक्थुङ् चुम्लुङ संघीय उप-महासचिव डा. योगेन्द्र पालुङ्वालाई आमन्त्रण गर्ने समेत निर्णय गरेको छ।
झापा भरि मनाइएको चासोक तङ्नाम-५०८४ को समिक्षा गर्दै बसेको बैठकले संरक्षक, आजिवन र साधारण सदस्यता शुल्क प्रदेश र संघीय समितिमा पठाउनुपर्ने रकम दुई लाख ९० हजार ५९ रूपैयां समेत अनुमोदन गरेको छ ।
तेसैगरी बैठकले विधानत जिल्ला समितिमा रिक्त रहेको पदमा किरात याक्थुङ चुम्लुङ कन्काई नगर शाखा र हल्दिबारी गाउं शाखाबाट सिफारिस भई आएका गीता नेम्बाङ् र कुमारी चेम्जोङ्लाई सर्वसम्मत मनोनित गरियो भने तीनपटक बैठकमा उपस्थित नहुने सदस्यहरूलाई स्पष्टिकरण लिने समेत निर्णय गरेको छ ।
बैठक कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा बसेको बैठकले चुम्लुङ् भवन मर्मत, सम्भार, जिर्णोद्धार उप-समितिका संयोजक धर्म लक्सम्बाको अगुवाईमा निरन्तर बढिरहेको कामलाई पहिलो प्राथमिकताका साथ यथासक्दो चांडै सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

