लिम्बुवानको ऐतिहासिक स्थल मुन्धुम यकको एक चर्चा

  • हितराम तिल्लिङ

धरान/हालसालै किरात याक्थुङ चुम्लुङ सुनसरीको अगुवाइमा धरान २० बिष्णुपादुका र सागुरीगढी ८ धनकुटाको सिमानामा पर्ने १६०० उचाईमा रहेको माथिल्लो सुलिकोटमा लिम्बुवानको ऐतिहासिक तथा पबित्र स्थलको पहिचान गरि एक हजार किलोग्रामको सिलाम साक्मा गाडेर याक्थुङ मुन्धुम यकको रुपमा स्थापना गरिएको छ।

सुनसरी जिल्लाकै अग्लो माथिल्लो सुलिकोटमा लिम्बुवानको विजयपुरकालिन राज्य संचालनको क्रममा तत्कालीन राजद्रोहीहरुलाई यही डाँडामा लगेर सुलिमा चडाई फाँसी दिएको कारण यस ठाउँको सुलिकोट रहन गएको हो। यस परिसरको आसपासमा दुई ओटा पोखरीको अवशेष छ। उक्त पोखरी चौबिसे याक्थुङ्बाहरुको चोखोबा सम्माङको उत्पत्ति स्थल पनि मानिन्छ। त्यसैगरी तमोर, बराहा कोकाहा, साँगुरी जस्ता याक्थुङ मुन्धुमी स्थलहरु रहनुका साथै लिम्बुवानको ऐतिहासिक ठाँउ भएकोले संरक्षण गर्न आवश्यक थियो। ढिलै भएपनि किरात याक्थुङ चुम्लुङ सुनसरीको अगुवाइमा सम्पन्न भएको छ। यो चुम्लुङको एक प्रशंसानीय कार्य हो, यसमा सवै लिम्बुले गर्व गर्नैपर्छ। यहाँ याक्थुङ मुन्धुम यकको बोर्ड गाडेर विधिबद्द रूपमा याक्थुङ पुजारी फेदाङमाद्वारा माङ हाङको थानथपना राखेर पुजाआजा समेत गर्न थालेदेखी पवित्र स्थल बन्न पुगेको छ। यो ठाउँ अब धराने याक्थुङहरुको चो?लुङको रूपमा स्थापित भएको छ। यसले धरानको आन्तरिक पर्यटनमा निश्चय नै यसले टेवा पुर्याउनेछ।

यति प्रसंसनीय कार्य हुदाहुदै पनि याक्थुङ मुन्धुम यकको नामको विषयमा छोटो चर्चा गरिएको छ। लिम्बुको थामालुङ यक, माङगेन्ना यक, फेच्चुवा यक र नाहाङमा यक मात्र हुन्छ। मानव विकास क्रममा याक्थुङ वंश विभाजन वा छुटिने समयताका माङगेन्ना यक र फेच्चुवा यक निर्माण गर्ने वा मान्ने चलन थियो। वंशको सामुहिक माङगेन्ना यक हुन्छ भने छोरा मान्छेको सामुहिक नाहाङमा यक ताप्लेजुङमा छ तर मुन्धुमी स्थल हुन्छ यक हुदैन। मुन्धुम ज्ञान वा दर्शन हो, दर्शनको यक हुदैन। याक्थुङहरूको प्रथाजन्य संस्कार अनुसार एक निश्चित वंशले शासन गरेको थातथलो सम्बन्धित थरगत समूहको ‘माङ्गेन्ना यक’ भनिन्छ । कुनै एक वंशले हालको लिम्बुवान क्षेत्रभित्र पहिलोपटक आश्रय लिएर वंश विस्तार गरेको ठाउँलाई माङगेन्ना यक भनिन्छ । हरेक याक्थुङ वंशको आआफ्नै माङ्गेन्ना यक हुन्छ । आफ्नो वंशका पुर्खाले जीवन निर्वाहका लागि बसोबास गरेको ठाउँलाई ‘लुङ्धुङ् माङ्गेन्ना यक’ भनिन्छ । लुङ्धुङ् माङ्गेन्ना भनेको आफनो वंशको उत्पत्ति स्थल हो । माङ्गेन्ना पूजा गर्दा खास यक वा थातथलोका सन्तान भनेर फेदाङमाहरूले माङ्गेन्ना पूजा गर्दा यकको चर्चा गर्छन् ।

कसै कसैले सुलिकोट हालको मुन्धुम यकलाई पनि गढी भन्ने गरेको सुनिन्छ। त्यस्तै अन्य ठाउको याक्थुङ माङ्गेन्ना यकहरुलाई पनि गढी भन्न थालेका छन । यक र गढी फरक हुन् । याक्थुङ्बा लिम्बूको थामालुङ (उत्पत्ति) थलो माङ्गेन्ना यक हो हो भने गढी चाहिँ भोटे, लाप्चा र गोर्खालीले सैनिक राखेको ठाउँ हो । कतिपय माङ्गेन्ना यकमा नै गोर्खाली, भोटे, लाप्चाहरूले गढी राखेकाले भ्रम भएको हो। यक र गढीमा भ्रममा नपरौं, नपारौं।

अन्तत, याक्थुङ मुन्धुमी स्थल वा ऐतिहासिक स्थलहरुको अस्तित्व समाप्त भएपछि पुन निर्माण वा पुन नामाकरण गर्नु पर्ने हुन्छ। यसरी पुन निर्माण वा पुन नामाकरण गर्नु परेमा याक्थुङ मुन्धुमभित्रको मुन्धुमी स्थलहरुको नामहरु अध्ययन गर्न जरुरी हुन्छ। याक्थुङ मुन्धुमका ठाउँका नामहरु प्रायजसो लुङ, बुङ, देन र जोङ जस्ता प्रतय शब्द लागेर स्थान नामहरु बनेको पाइन्छ। लिम्बुवानमा रहेका लुङ, बुङ, देन र जोङ जोडेर बनिएका स्थान नामहरु प्राचीन नाम हुन। त्यसैले अब पुनर्स्थापना गरिने मुन्धुमी वा ऐतिहासिक स्थलका नामहरु लुङ, बुङ, देन र जोङ प्रतय जोडेर नामाकरण गर्दा राम्रो हुनेछ।