- मुसाहाङ अम्याङ्सा

दमक १४ फागुन २०७८/ दमक प्रज्ञा–प्रतिष्ठान दमक झापाको चौथो स्थापना दिवसको अवसरमा दमक पुस्तकालय समुदघाटन , दमक प्रज्ञा पुरस्कार अर्पण एवं सास्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

शनिबार दमक १ स्थित दमक नगरपालिका छेउ दुर्गा मन्दिरको सभाहलमा नेपाल प्रज्ञा–प्रतिष्ठान उपकुलपति प्रा.डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा प्रज्ञा पुरस्कार २०७८ द्वारा पुरस्कृत स्रष्टाहरु दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा. डा. गोबिन्दराज भट्टराईलाई नगद ५१ हजार ,दमक प्रज्ञा संस्कृति पुरस्कारबाट सोम बहादुर धिमाललाई २१ हजार, दमक प्रज्ञा विज्ञानप्रविधि पुरस्कारबाट जसहाङ लिम्बूलाई २१ हजार, दमक प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट रचना लाओतीलाई नगद २१ हजार, दमक प्रज्ञा कलासाधना पुरस्कारबाट चन्द्रा गडतौलालाई २१ हजार र दमक प्रज्ञा बाल प्रतिभा पुरस्कारबाट सेलिया श्रेष्ठलाई नगद १५ हजार सहित प्रमाणपत्रद्वारा पुरस्कृत भएका छन् ।

त्यस्तै गरी कार्यक्रममा दमक प्रज्ञा–प्रतिष्ठान पुस्तकालय समेतको उद्धघाटन भएको छ ।

कार्यक्रममा डा. अन्जना भट्टराईको समय संवेग, मेघराज तिम्सिना (दिगभ्रम कविता संग्रह लोकार्पण गर्नु भएको छ । यस्तै, अम्बिका प्रसाद सापकोटा र देवेन्द्र सापकोटाको समेत शोक काव्य, मुक्तक र नाटक विधाका पुस्तकहरु समेत विमोचन गरिएको थियो ।

नेपालमा पहिलो पटक स्थानीय सरकारको संयोजनमा प्रज्ञा–प्रतिष्ठान संचालनमा ल्याएर साहित्य, कलाको विकासमा समाजलाई अगाडि बढाउन पाउँदा नगरपालिकाले गौरव महशुस गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
कार्यक्रममा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, भाषाविद टङक न्यौपाने, मोरङ मिक्लाजङ गाउँपालिका अध्यक्ष देबी प्रसाद आचार्य, साहित्यकार मुक्ति उपाध्य शर्मा, मिश्र वैजयनी प्रा.डा. खडक मौदाने, सम्मानितको तर्फबाट प्रा. डा. गोबिन्दराज भट्टराई लगायतले बोलेका थिए ।

प्रतिष्ठानले दमक ज्योति र बालज्योति नामक साहित्यिक पत्रिका समेत नियमित रुपमा प्रकाशन थालेको छ ।
कार्यक्रम प्रज्ञा प्रतिष्ठान अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षता,स्वागत मन्तव्य जिवन गुरुङ्ले राखेका थिए । सचिव बिष्णु न्यौपानेले संचालन गरेका थिए ।

कार्यक्रममा विभिन्न जातिका साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।

यस्तै साँस्कृतिक र साहित्य वाचन समेत गरिएको कार्यक्रममा भारत लगायत अन्य जिल्लाका साहित्यकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पिण्डेश्वर क्याम्पस धरान उप प्राध्यापक गिरिराज खडिवडा, मोती संस्मरण समिति धरान अध्यक्ष गोविन्द तिम्सिना, राष्ट्रिय आदिवासी जनजाति महासंघ उपाध्यक्ष जंग देवान, महेन्द्र बहुमुखी क्याम्पस धरान उप प्राध्यापक तथा समालोचक दीपक न्यौपाने, कवि अमृत आचार्य, जनता बहुमुखी क्याम्पस इटहरी उप प्राध्यापक/साहित्यकार टीका आत्रेय लगायतको उपस्थिति रहेको थियो ।

