पोक्लाबाङ संवाददाता
दमक / किरात याक्थुङ चुम्लुङको आजीवन तथा संरक्षक सदस्य भेला झापा माई पश्चिम क्षेत्रका नगर र गाउँपालिका निवासीहरूको फागुन १३ गते दमकस्थित किरात भवनमा सम्पन्न भएको छ ।

चुम्लुङको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आवश्यक राय, सल्लाह र सुझाव सङ्कलन गर्न सदस्य भेला गरिएको आयोजक चुम्लुङ जिल्ला शाखा झापाले जनाएको छ । राष्ट्रिय महाधिवेशन फागुन २८, २९ र ३० गते पान्थरको फेदेनमा सम्पन्न हुने निश्चित भएको छ ।
माईपश्चिम क्षेत्र दमक, शिवसताक्षी, गौरादह नगरपालिका र कमल, गौरीगञ्ज गाउँपालिका निवासी कियाचु आजीवन तथा संरक्षक सदस्यहरूलाई भेला गराई आवश्यक सल्लाह सुझाव सङकलन गरिएको छ । उल्लेखित क्षेत्रका करिव ३५० जना सदस्यहरूलाई आमन्त्रण गरिएकोमा करिव ६ दर्जन सदस्यहरूको मात्र उपस्थिति रहेको थियो ।

उपस्थित संख्यालाई तीन समूहमा विभाजन गराई केन्द्रीय महाधिवेशन तयारी समितिले आगामी महाधिवेशनमा छलफलको निमित्त प्रस्तुत गरिने ६ बुँदाका एजेण्डाहरू माथी छलफल गराइयो ।

छलफलमा उठेका विषय उपर समूहले निष्कर्षमा ल्याएका बुँदागत विषयहरू समूह १ का समूह नेता चन्द्र कन्दङवा, समूह २ समूह नेता आकाश लाओती र समूह ३ का समूह नेता साहित्यकार सेसेमी से–नाल्वोले आफ्नो समूहमा उठेका निष्कर्षका बुँदाहरू सविस्तार वाचन गरेर सुनाएका थिए । जसमा समूह ३ का प्रमुख लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी नाल्वोले वर्तमान परिप्रेक्ष्यमा उठिरहेको लिम्बू भाषा आलेखनको सन्दर्भका विषयलाई पनि आसन्न राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरि टुङ्गो लगाउनुपर्ने बताए ।

यो कुरा पनि केन्द्रीय सदस्यहरूले महाधिवेशनमा छलफलको एजेण्डा बनाउन रिपोर्ट गरि टुङ्ग्याउनु पर्ने कुरा बताउनुभयो ।
समूहगत रूपमा उठेका राय, सुझाव र सल्लाहहरू लिखित रूपमा केन्द्रीय सदस्य पूर्णबहादुर हाङस्रोङ र विष्णुमाया चेम्जोङलाई समूह प्रमुखहरूले बुझाएका छन् ।

कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य पूर्णबहादुर हाङस्रोङले आजीवन र संरक्षक सदस्यहरूले छलफल गरि आफ्नो राय, सल्लाह र सुझावहरू बुँदागत लिखित रूपमा बुझाएका कुराहरूलाई राष्ट्रिय महाधिवेशनमा छलफल हुने गरि पठाउने कुरामा जोड दिनुभयो ।

सदस्यहरूबाट लिखित रूपमा पेश भएका कागज पत्र ग्रहण गर्नुहुँदै केन्द्रीय सदस्य हाङस्रोङ्ले राष्ट्रिय महाधिवेशनमा छलफलको निमित्त हु–बाहु रिपोर्टिङ गर्ने बचन बद्धता पनि व्यक्त गर्नुभएको थियो ।
कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले स्वागत मन्तव्य राख्नुभएको थियो भने चुम्लुङको संगठनात्मक सम्बन्धि केहि आवश्यकीय कुरा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ सङबाङफेले राख्नुहुँदै आफ्नो राय, सल्लाह र सुझाव पेश गर्नु भएको थियो ।

आसन्न महाधिवेशन सफल पार्नको निमित्त सम्पूर्ण सदस्यहरूले सर्–सहयोग गरौं भन्ने मूल उद्धेश्यका साथ आयोजित भेलामा राष्ट्रिय चुम्लुङ सदस्य तथा तान्छोप्पा झापा प्रतिनिधि र वितरक गुमानसिङ् सम्बाङफेले तान्छोप्पा पत्रिकाको वितरण अवस्था सहित आफ्नो राय, सुझाव प्रस्तुत समेत गर्नु भएको थियो भने चुम्लुङ दमक नगर शाखा सचिव सुक बहादुर सोदेम्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

स्मरण रहोस्, फागुन १३ गते माईपश्चिम क्षेत्रका सदस्य भेला गरिएको थियो भने माईपूर्वका सदस्य भेला फागुन १६ गते विर्तामोड पश्चिम पश्चिम बसस्टेण्डस्थित सेन्टर पार्टी प्यालेसमा आजीवन सदस्य भेला समपन्न गरिएको जनाइएको छ ।
