पार्थेनियम

—–पार्थेनियम—-

पुष्पहाङ लोवा 

सदियौँको पसिना चोपेको थियो यो माटो,
सतारका गोठ, राजवंशीका गाउँ
थारूको बगैंचा, दराईको माछा पोखरी,
मुस्लिमको नमाज बज्ने बाँसघारी
खेतका कान्छा, फूलका नाम,
पसिनाले बगाएका परालका थुप्रा,
यी भूगोलका रेखामा थिए हाम्रो चिह्न,
हाम्रो माटोको मुहार र अस्तित्व ।

तर-
ओर्लिए एकदिन
पहाडको छायाँ बोकेका पाइला,
भाषा फरक, आकांक्षा फरक,
र, साथमा ल्याए
पार्थेनियमका बीउहरू ।

शुरूमा त झै लाग्यो,
केही हरियो-हरियो आएकै हो,
तर विस्तारै
उसको जराले थिच्न थाल्यो
सतारको मुडुलो, राजवंशीको पराल,
थारूको जंगल, दराईको जल,
मुस्लिमको मौन अजान ।

बिस्तारै हराए नामहरू,
बदलिँदै गए गामहरू
र,
नक्शामा देखा पर्न थाल्यो
विकासको वर्चस्व
हाम्रो टाउकाको मोलमा ।

पार्थेनियम,
तिमी केवल बिरुवा होइनौ,
तिमी प्रतीक हौ
संस्कृतिको अतिक्रमण,
भूमिको अपहरण
र पहिचानको मरणगीत ।

हाम्रा टुहुरा भएका गीतहरू
अहिले खेतमा सुन्न सकिँदैन,
कठौतीमा बचेको बोली
तिमीले चपायौ विकासको नाउँमा ।
हाम्रा आँशुहरू सरकारी आँकडामा छैनन्,
हाम्रा उजुरीहरू योजनाको नक्शामा छैनन् ।

तर याद राख
यो माटोमा गाडिएको छ इतिहास,
यी कंकालहरू शिथिल छैनन्,
यी आँखा झुकेका छैनन्,
र,
यी मुटुहरूमा अझै बाँचेको छ प्रतिरोध ।

पार्थेनियम,
तिमी फूल होइनौ
तिमी हाम्रो आक्रोशको बिम्ब हौ ।
र,
हामी लेख्नेछौँ नयाँ कविता
जहाँ फेरि उम्रिनेछन् सतारका च्याँखे फूल,
राजवंशीका बगैंचाहरू,
थारूको हलो–हसिया,
दराईको डुङ्गा–जाल,
र मुस्लिमको शान्त मन्द स्वर ।
माटोमा फर्किनेछ
हाम्रो नाम, हाम्रो गन्ध,
हाम्रो स्वत्व, हाम्रो भविष्य ।