गाउँठाउँको नाम र सभ्यता

नन्द कन्दङवा

क. गाउँठाउँको नाम र ईतिहास

नाम भनेको बोलाउन प्रयोग हुन्छ । तर नाम भनेको बोलाउने कुरामा मात्र सिमित छैन । नाम बोलाउन प्रयोग भए पनि यसले अरु धेरै कुरालाई संकेत गर्दछ । ईतिहासमा विभिन्न देश, क्षेत्र तथा गाउठाउ बिशेषको नामहरुलाई विश्लेषण गरी खास मानव सभ्यतासंग जोडेर हेर्ने पनि गरिएको छ । समाज तथा संस्कृति बिकाससंग संगै ईतिहास निर्माणमा यस्ता नामहरुको महत्वपुर्ण भूमिका भए पनि नेपालका ईतिहासकारहरुले यस्ता नामहरुलाई ईतिहास निर्माणको लागी खासै आधार बनाएको पाईन्न । गाउठाउ, पहाड पर्वत, नदी तथा मानिसको नामले धेरै सुचनाहरु दिन्छ । नेपालको सन्दर्भमा ‘लिच्छवीकालका अभिलेखहरु’ भनेर धन बज्राचार्यले संकलन गर्नु भएको किरातकालीन ठाउ गाउको नामहरुले धेरै कुरा बोल्छ । यसले समाज, संस्कृति, ईतिहास, उपनिवेशीकरण, बर्चस्प, राजनीतिक व्यवस्था, समाज व्यवस्था, चलन, परिवर्तन, मानव बसाई सराई लगायतका धेरै सुचनाहरु दिन्छ । एकथरी ईतिहासकारहरुले यसलाई धेरै आधार नमान्नुको कारण तिनीहरु बर्चस्प (Domination) को मनोबिज्ञानबाट निर्देशित छन । हुन त ईतिहासले लिखत प्रमाण, शिलालेख, अभिलेख, पुरातात्विक बस्तु र थोर थोरै परम्परागत कथा कहानी, किमबदन्ती आदिलाई आधार बनाएको देखिन्छ । तर संस्कृतिसंग जोडिएको गाउठाउको नामहरुलाई ईतिहास निर्माणको लागी त्यति आधार बनाएको देखिन्न ।

ख. गाउँठाउँको नाम र सभ्यता

लि नाम मानव सभ्यताः गाउठाउको नामहरुले कुनै न कुनै सभ्यताको प्रतिनिधीत्व गर्दछन । नेपालको भूगोल भित्र विभिन्न ठाउहरुमा भिन्न तथा दोहोरिएका नामहरु पाउन सकिन्छ । नेपालमा तिव्वत–बर्मी भाषा परिवारबाट नाम रहेका हजारौ ठाउ गाउहरु रहेका छन । सभ्यताको हिसावले ठाउ तथा गाउको नाम पछि “ली” जोडिएर आउने शव्दहरु तिव्वत–बर्मी भाषीक सभ्यता अर्थात किरात सभ्यतासंग जोडिन्छ । ली को अर्थ स्थान भन्ने अर्थमा प्रयोग हुन्छ । यस्ता नामहरु काठमाण्डौ उपत्यकादेखि लिएर पुर्व पश्चिम चारैतिर फैलिएको पाईन्छ । यस्ता नामहरुमा काठमाण्डौको थली, थापाथली ललितपुरको टिकाथली, चांगाथली, तनहुको दमौली, काभ्रेकाे बल्थली, सिन्धुपाल्चोक जिल्लाको तौथली, दोलखा जिल्लाको राङराङ थली (जिरी, दोलखा), रामेछाप जिल्लाको सदरमुकाम मन्थली, त्रिसुली (खोलाको नाम), जिल्लाकै नाम सिन्धुली, सिन्धुली जिल्लाको सिन्धौली, गडयौली, घ्रिपौली, चितवनको बटयौली, चिरौली, मेघौली, अन्डयौली, कुथौली पाल्पाको खस्यौली, बुटवल भैरहवाको सुनौली, उदयपुर कटारी पश्चिम दुर्गौली, दुधौली नवलपरासीको अरग्यौली, चनौली मोरङ बिराटनगर पुर्व रंगेली, रुपाली (डडेलधुरा), कर्नाली (नदीको नाम) आदि रहेका छन । यसले परापुर्वकालमा काठमाण्डौ उपत्यकादेखि लिएर पश्चिम बुटवल–पाल्पा देखि मोरङ रंगेली क्षेत्रसम्म नाम पछि ली जोडने मानव सभ्यता थियो भन्ने देखिन्छ ।

वा नाम मानव सभ्यताः नेपालमा हजारौ नदी नालाहरु छन । ति नदी नाला, पोखरी, डाडा काडा, गाउ ठाउका नामहरुले कुनै न कुनै मानव समुहको सभ्यताको प्रतिनिधीत्व गर्दछन । उपनिवेशकारी जत्थाले तिनीहरुको नाम परिवर्तन गरि ति मानव समुहको सभ्यता र पहिचानलाई मेटाउने काम गरिरहेका छन । उदाहरणको लागी पुर्व लिम्बुवानका नदी, पहाड, पोखरी, डाडा काडा, गाउ ठाउका नामहरुलाई हेरौ । लिम्बुवान क्षेत्रमा बग्ने सबै भन्दा ठुलो नदी भनेको अपभ्रम्सीत नाम तमोर नदी हो । यो नदीलाई लिम्बु समुदायले ताप्लेजुङको उत्तरतिर ईम्बीरी याङधाङवा, आठराई आसपासमा तेम्तेम्वा, त्रिबेनीदेखि माथी थावा भन्दछन । यसलाई तमोर नामबाट परिवर्तन गरी संस्कृतकरण नेपालीकरण गर्ने क्रममा अपभ्रम्स गरिएको छ । तमोर पनि तेम्तेम्वाको अपभ्रम्सबाट बनेको नेपालीकृत नाम हो । लिम्बुवानमा यस्का शाखा नदीहरु काङवा (संस्कृतकृत नेपालीकृत नाम काबेली), मेवा अर्थात मिक्वा, मैवा, सबुवा, फावा, हेङवा, फेमेवा, खरङवा, येवा, अम्फवा, सावा, नावा, ताङखुवा, आप्ताङवा, थिदाङवा, कोक्वा, रगुवा, छरुवा, पुवा आदि रहेका छन । मावा (उर्लाबारी नजिकको खोला), रतुवा (दमक नजिकको खोला), सभावा (संखुवासभामा) संखुवा (संखुवासभामा), हिन्वा (संखुवासभा), लेगुवा (धनकुटा जिल्ला), रावा (धनकुटाको बन्चरे खोलाको शिर जोरपाटी मुनी बन्चरे खोलालाई रावा भनिन्छ), ताङखुवा (यहि रावा अलि तल गए पछि ताङखुवा भनिन्छ), मिक्वा (धनकुटा बजार र भीरगाउ बीचको खोला), सिसुवा (बेलटार पुर्वको खोला), कौवा (इ) (गाईघाटदेखि पश्चिमको खोला), गेरुवा (कटारी पुर्वको खोला), गेरुवा (बर्दिया पश्चिम कर्णाली नदी), कुलुवा (सिन्धुली क्षेत्रको खोला), मौवा (से), त्रियुवा (गा), बैरहवा (उदयपुरको एक खोला), भसुवा (उदयपुरकै एक खोला), तावा (उदयपुर), बरुवा (उदयपुरु) आदि सबै नदी नामहरुले लिम्बु तथा किरात सभ्यता र पहिचान दिन्छन । यस्ता नदी तथा खोलाहरु अरुण नदी पश्चिम हुदै काठमाण्डौ उपत्यकादेखि पश्चिम गण्डकी प्रदेशसम्म पाईन्छ । ति नदी तथा खोलाहरुमा पिखुवा (भोजपुर नजिकको खोला), रावा (खोटाङ जिल्लाको खोला), रावा ओखलढुंगा), साम्याङवा (लिम्बु मुन्धुममा आउने सुनौलो नदी – सम्भवत सुनकोशी), युप्पावा (लिम्बु मुन्धुममा आउने सेतो नदी – सम्भवत सेती या दुधकोशी), फेन्जेवा (लिम्बु मुन्धुममा आउने कालो पानी बग्ने नदी – सम्भवत काली गण्डकी), फेवा (फिजीएको नदी – पोखरा), मझुवा (लम्जुङ बेसीशहर नजिकको खोला), रुवा (मस्र्याङदीको बिद्युत गृह भए नजिकको खोला) आदि रहेका छन । यस्तो नदी नाम पछि वा जोडिएर आउने नदीको नाम भारत मध्य प्रदेश क्षेत्रमा पाईन्छ । उदाहरणको लागी रेवा (परिवर्तित नाम नर्मदा), बेत्वा, तावा, पुन्वा (यमुना नदीको पुरानो नाम) आदि । लिम्बुमा नदी नाम पछि “वा” जोडिए पछि खोला या नदी भनिरहनु पर्दैन । हुन त खोलालाई लिम्बुले यङघङ (सानो खोल्सा या खोला) पनि भन्ने गर्दछन । हिजो आज सावा खोला, नावा खोला, हेङवा खोला भनेर नेपालीकरण गर्न लागिएको छ । यि सबै सभ्य र बिकसित हुने बिकासको नाममा यस्तो भईरहेको छ । यसले पुर्व टिस्टादेखि पश्चिम नेपालको कालीगण्डकी क्षेत्रसम्म नदी नाम पछी वा जोडने मानव सभ्यता थियो भन्ने स्पष्ट गर्दछ । भारत मध्य प्रदेशका नदी नाम पछि वा जोडिएकाहरु भने वा सभ्यताका मानिसहरु प्राचिन कुनै समयमा सो क्षेत्रमा बस्दथे र उनीहरुले बिकास गरेको सभ्यताकोरुपमा रहेको देखिन्छ ।

यहि विसाल क्षेत्रमा ठाउको नाम पछि देन या दिम जोडिएर आउने ठाउ गाउका नामहरु पाईन्छ । साना डाडाको नाम पछि गु जोडिएका र अलि अग्ला चुचुराको नाम चो, चङ तथा जङ जोडिएर नामहरु आउछन । देन दिम जोडिएका नामहरुमा जोन्जोन्दीम (किरातकालीन नक्सालको प्राचिन नाम), सिक्दीम (तेह्रथुमको एक ठाउको नाम), फुजिकखामदेन अर्थात फुकामदेन (तेह्रथुम आठराईमा), फेदेन (हाल पान्थरको फिदीम), सामदेन, ओदेन, फेउदेन (पान्थरकै फेदेन नजिकका ठाउका नामहरु), थुम्मेदीन (ताप्लेजुङ सिनामसंगै रहेको ठाउको नाम), लिम्बुदेन (ताप्लेजुङकै सिनाम काङवा खोला पारीको ठाउको नाम) आदि रहेका छन । यसैगरि, ठाउ गाउको नाम पछी बे, बा या बु जोडिएका नामहरु जस्तै यम्बु या ये (काठमाण्डौको किरातकालीन प्राचिन नाम), सलम्बु (साखुतिरको एक क्षेत्रको किरातकालीन पा्रचिन नाम), थेचम्बु (ताप्लेजुङ जिल्लाको एउटा ठाउको नाम), ईख्खाबु (ताप्लेजुङ जिल्लाकै तमोर थुम क्षेत्रको एक ठाउको नाम), तेम्बे (ताप्लेजुङ जिल्लाकै मैवा थुम क्षेत्रको एक ठाउको नाम), थिङलाबु (ताप्लेजुङ जिल्लाकै एक ठाउको नाम), सङसङबो, दोरोम्बा आदि रहेका छन । नामको पछी लुङ या ङ जोडिएका नामहरु जस्तै बुङकुलुङ (ताप्लेजुङ जिल्लाको एक ठाउको नाम), ओक्मालुङ (धनकुटाको पुरानो नाम), मेयङलुङ (तेह्रथुम जिल्लाको सदरमुकामको नाम), तेम्मेलुङ (तेह्रथुम जिल्लाको आठराई क्षेत्र अन्तर्गत एक ठाउको नाम), खाम्लुङ (ताप्लेजुङको मेवा थुम अन्तर्गतको एक ठाउको नाम), थगकलुङ (तेह्रथुम आठराईको एक ठाउको नाम), फालेलुङ (पान्थर जिल्लाको सिक्किम सिमानसंग जोडिएको ठाउको नाम), तेस्तुङ (काठमाण्डौ उपत्यका नजिकको पालुङसंग जोडिएको ठाउको नाम), पालुङ (काठमाण्डौ उपत्यकादेखि लुम्बचो अर्थात चन्द्रागिरी पल्लो पट्टीको उपत्यकाको नाम), गोर्खा जिल्लाको पालुङ (पालुङटार), सेसेलुङ (लिम्बुवानको एक पहाडको नाम), फक्ताङलुङ (ताप्लेजुङ जिल्लामा अवस्थित नेपालको प्रशिद्ध हिमालको नाम), चन्चनलुङ (ताप्लेजुङ जिल्लामा अवस्थित नेपालको प्रशिद्ध हिमालको नाम), चोमोलुङ या चोमोलुङमा (सगरमाथको नाम), फियालुङ = फालेलुङ, मुक्कुम्लुङ (ताप्लेजुङ जिल्लामा अवस्थित आध्यात्मिक मुन्धुमी आस्थाको स्थल तथा पहाडको नाम) आदि रहेका छन । यि नामहरुले खास मानव समुह खासगरि किरात मानव समुहको सभ्यतालाई प्रतिनिधीत्व गर्दछन । यसैगरि, नामको पछी जङ/जुङ या चङ या चो जोडिएका ठाउ तथा पहाडको नामहरु पनि प्रशस्तै आउछन । उदाहरणको लागी काठमाण्डौ उपत्यकाको थानकोट भनिएको ठाउको एक पहाडको किरातकालिन नाम थेन्चो, लुम्बचो (थानकोट नजिकैको पहाडी चुचुरा हाल चन्द्रागिरी), ललितपुरको थेचो, ललितपुरकै फुलचो (हाल फुलचोकी डाडा), तेह्रथुम जिल्लाको एक ठाउको नाम वयाकजङ, पान्थरको थर्पु नजिकको याङसिङजङ, जिल्लाको नाम ताप्लेजङ, तेह्रथुम जिल्लाको एक ठाउको नाम सम्फरजङ, तेह्रथुम आठराईको नाम्जङ, तेहथुमकै पोमाजङ, शेरजङ र हमरजङ, ईलामको साखेजङ, पान्थरको यासोकजङ, मिक्लाजङ, नेपाल पश्चिमको एक जिल्लाको नाम लम्जुङ आदि रहेका छन । दोलखाको कालिनचङ (अपभ्रम्स भएको नाम कालिनचोक) हुदै पुर्वतिर यस्ता नामहरु प्रशस्त छन । यसैगरि नामको पछी बुङ जोडिएर बनेका ठाउ गाउका नामहरु पनि प्रशस्तै छन । उदाहरणको लागी ईलामको कोलबुङ, ताप्लेजुङको मेदीबुङ, तेह्रथुमको लिसिङबुङ, ताप्लेजुङ जिल्लाको ठाउ तथा लिम्बुको थर लिवाङ, ताप्लेजुङकै लिङखिम आदि रहेका छन ।

गु नाम सभ्यताः बर्तमान नेपालको सबै जसो भागमा ठाउ या डाडा तथा डिस्काको नाम पछि गु जोडिएर आएका ठाउ, डाडा तथा डिस्काहरु यत्र तत्र पाईन्छ । नामको पछि गु जोडिएर बनेका डाडा तथा ठाउका नामहरुमा काठमाण्डौ उपत्यका भित्रको किरातकालदेखिकै नाम चाङगु (अहिले चांगुनारायण), सनिगु (स्वयम्भुको किरातकालिन नाम), ईचङगु, ह्यागु, चापागु (सानो हात्तिवन हरिसिद्धी ललितपुर), ताप्लेजुङको एक ठाउको नाम साङगु, पान्थरको चोक्मागु, लिम्बुवानको डाडा जनाउने एक ठाउको नाम साङमाङगु, सेङगु, लिम्बुवानमा डाडा जनाउने नाम थेगु आदि पाईन्छन । दोलखा जिल्लामा बिगु, खोपा चांगु, थामी चांगु, जुगु (जिरेल बस्ती) आदि डाडा तथा ठाउका नामहरु पाईन्छन । यि सबै नामहरुले खास मानव समुहको सांस्कृतिक सभ्यताको प्रतिनिधीत्व गर्दछन ।

डि या दि नाम सभ्यताः नेपालको पश्चिम भाग खासगरि तनहु, लम्जुङ, पाल्पा, कास्की लगायतको क्षेत्रमा बगिरहेका नदीहरुको नाम पछी डि या दि जोडिएका छन । उदाहरणको लागी मस्र्याङदी (लम्जुङ भएर बग्ने नदी), मादी (दमौली नजिक भएर बग्ने नदी), सेदी या सेती (पोखरा कास्की भएर बग्ने नदी), मोदी (पर्वत कुश्मा नजिक भएर बग्ने नदी), रिडी, दरौदी, चरौदी, ताडी (नुवाकोट), राप्ती (बाके), बुडी (बुडीगण्डकी), चन्डी (रौतहट खोलाको नाम), दोर्दी (लम्जुङ), कुवाडी खोला (बाजुरा), खुदी खोला (लम्जुङ), जमादी खोला (बैतडी), ज्यागदी खोला (पाल्पा) लगायत नाम गरेका नदीहरु पाईन्छन । यस क्षेत्रमा यि बाहेक साना तिना अनगिन्ती खोला, खाल्सीहरुको नाम पछी डि या दी जोडिएर बनेका खोला नामहरु रहेका छन । यसले कालीगण्डकी क्षेत्रदेखि प्राचिन नेपाल उपन्यकासम्म नदी नाम पछी डि या दी जोडने मानव सभ्यता थियो भन्ने स्पष्ट देखिन्छ ।

खु नाम सभ्यताः प्राचिन नेपाल उपत्यकादेखि पश्चिममा त्रिसुली र पुर्वमा रामेछापसम्मको क्षेत्रमा नदी नाम पछी खु जोडिएर आउने नदीहरु पाईन्छ । उदाहरणको लागी काठमाण्डौ उपत्यका भित्र यस्ता नाम गरेका नदीहरुमा टुंखु (बागबजार बीचबाट बग्ने टुकुचा खोला हाल यसलाई संस्कृतकरण नेपालीकरण गरेर ईक्क्षुमती बनाईएको छ), टेंखु (हाल टेकु नजिक भएर बग्ने खोला तथा स्थान), बल्खु (संस्कृतकरण नेपालीकरण गरिएको नाम रत्नावती), सामाखु (हालको सामाखुशी भएर बग्ने खोला जसलाई अहिले बिष्णुमती भन्दछन), सांखु (सांखु भएर बग्ने नदी र स्थान हाल त्यस नदी या खोलालाई साली नदी बनाईएको छ), नखु (भैसेपाटी र कुसुन्ती वीच बग्नेखोला हाल नकु खोला भन्ने गरिन्छ), मलेखु (धादिङ पृथ्वी राजमार्गमा रहेको खोला तथा स्थान नाम), न्वा–खु (संस्कृतकरण नेपालीकरण पछि बागमती नदी), हिजा—खु (संस्कृतकरण गरिएको नाम रुद्रमति र नेपालीकरण गरिएको नाम धोवी खोला), या—खु (नक्सालको खोला), सलाङ—खु (त्रिसुली नदी), लिखु (रामेछाप जिल्लामा पर्ने नदी), फलाखु (नुवाकोटमा), खोडखु (ललितपुर) आदि पाईन्छन । यसै सभ्यता क्षेत्र भित्र प्राचिन किरातकालीन नामहरु यम्बु, ये, यल, खोप, फारप्रिङ (फरप्रिङ – गाउ), बुगायुमी (बुङमती), च्यासल, थेचो, फुटुङ, टोखा, थुन्तुरी द्रङ (हाल बुढानिलकण्ठ), ईम्माडोल, लुम्भु, बलम्बु, सलम्बु, नैक्याप, सतुंगल, खोकना, ठमेल जस्ता नाम भएका ठाउहरु अनगिन्ती रहेका छन । यि नामहरुले किरात नेवा सभ्यतालाई प्रतिनिधीत्व गर्दछन । धेरै नामहरु संस्कृतकरण नेपालीकरण भईसकेका छन ।

पछिल्लो समयमा संस्कृतकरण र नेपालीकरण भएर बनेका ठाउका नामहरु पनि छयास छयास्ती भेटिन्छन । जस्तै नाम पछि पुर जोडिएका ठाउका नामहरु कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुर, उदयपुर, भोजपुर, चैनपुर आदि । यिनले पनि पुर नाम सभ्यताकोरुपमा लिनु पर्ने हुन्छ । यसरी नै अपभ्रम्सकैरुपमा भए पनि ठाउ गाउको नाम पछि जा जोडिएर आउने नामहरुमा स्याङजा, हेम्जा, रामजा आदि पाईन्छन भने नामको पछि कोट जोडिनेमा बालकोट, जाजरकोट, पुरकोट, खुरकोट, सिमीकोट, नगरकोट, भीरकोट, गलकोट, चरीकोट, थानकोट, नुवाकोट, रुकुमकोट आदि विभिन्न क्षेत्रमा पाईन्छ । यि नामहरुले पनि कुनै न कुनै सभ्यताको प्रतिनिधीत्व गर्दछन ।

ग. सभ्यता र पहिचानको सम्बन्ध
पहिचान भनेको प्रत्येक राष्ट्र, समुदाय, ईतिहास तथा सभ्यतालाई चिनाउने नाम पहिचानदेखि तिनको भाषा, लिपी, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीको संरक्षण, सम्बर्धन र प्रवर्दन हो । यसको अर्थ पहिचान भनेको सभ्यता, ईतिहास र भूमि पनि हो । सारमा पहिचान भनेको पहिचानको नामदेखि राष्ट्र तथा राष्ट्रियता र जनसमुदायको अस्तित्व रक्षा, संरक्षण सम्बर्धनसंगै स्वशासन र स्वायत्ततालाई जीवन्तता दिने कुरा हो । यो सोझै सभ्यतासित जोडिएको छ । सभ्यता भनेको खास समयमा कुनै मानव समुह तथा समुदाय या राज्यले सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा गरेको बिकास हो जस्ले फरक पहिचान स्थापित गरेको हुन्छ । यसर्थ, सभ्यता र पहिचानको नङ मासु झै सम्बन्ध हुन्छ ।