कविता
मुक्कुमलुङ

- लेकाली कान्छा मुक्कुम
चम्जम्लुङ रोइरहेछ सेवालुङ रोइरहेछ
एकल रङ्गीय बादलको विकासे अतिक्रमणले चट्याङ हान्दा फक्ताङलुङको कुम रोइरहेछ
हो यसरी देशभित्रकै उपनिवेशले टोकेर हाम्रो मुक्कुमलुङ रोइरहेछ
असिनाको गोली बर्षँदा पनि सहेकै हो
चट्याङको मिसायल झर्दा पनि सहेकै हो
फेरि किन उनको फूलबुट्टे मेख्लीमाथि खुट्टै चलाउन नमिल्नेगरी बेरीदिनु रातो सारीले
किन हात हल्लाउनै नहुनेगरी बाँधिदिनु चौबन्दीको तुनाले
सुन बादल! चरालाई उसकै प्वाँखको पखेटा चाहिन्छ
कहाँ माछाको पखेटाले उडाउन खोज्छौ?
हाँगामा बस्न पनि उसकै खुट्टा काफी छ
कहाँ हात्तीको खुट्टाले हिँडाउन खोज्छौ?
उनको छोलाने लगाउने हातमा
सुहाउदैन तिम्रो सीसाको चुरी
ताजा कन्दमुलमै रमाउछ खाँदैन तिम्रो जुठो पुरी
चाँप गुराँसको ढाका पथाङ ओढ्ने चाहाना हुँदा हुँदै
किन ओढाइरहेछौ तिम्रो बेहुली घुम्टो
नपढाउ तिम्रो संस्कारको पाठ
नओढाउ तिम्रो अनुहारको हिमपात
मुक्कुमलुङ सदबहार कुमारी हो कसैको बुहारी हैन
फक्ताङलुङले जन्माएको छोरी हो पिञ्जडाको चरी हैन
यसरी अपहरण नगर बादल
उ त स्थानीय परी हो तिम्रो सिन्दुर लगाउन नक्कचरी हैन
उनी त अमुर्त ढुङ्गाको साझा देवी हुन्
सृष्टिकै पहिलो राजा देवी हुन
ओ बादल !
उनको लुगा चयातेर नपहिराउ
तिम्रो पहिरन
उनकै निधारको भाग्य पुछेर नलगाइदेउ तम्रो विकासे टीका
अर्थात्
उनको खुट्टा भाँचेर नदेउ तोम्रो
बैसाखी
उनको टाउकै छिनाएर नओढाउ तिम्रो मुक्कुट
तिम्रो विकासे श्रृङ्गार भन्दा बहुमुल्य छ उनकै अनुहार
तिम्रो कृतिम उपहार भन्दा सुन्दर छ उनकै प्राकृतिक आकार
कति उखाल्यौ स्थानिय बचेराको भुत्ला
कति हानिझार्यौ निर्दोष जटायुहररुको पखेटा
तिम्रो केबुलकारको पुष्पक विमान चढ्दैन ऊ
तिम्रो श्रीलंकातिर तर्दैन ऊ
उसलाई उस्कै सल्ला र धूपमा बस्नदेउ
नपोत बादल तिम्रो आकृति
उसलाई उस्कै स्वरुपमा बस्न देउ
तिमी किचक जतिकै लोभमा नपर
तिमी रामणजतिकै अघि नसर
सगरमाथाभन्दा माथि राखेर ढोग्दा ढोग्दै
यतिसारो तल नझर
अलिकति विवेक छ भने
खुदो छोडेर गोबर नचर ।
ताप्लेजङ
