धरानमा सिलाम साक्मा र के (च्याब्रुङ) काे स्तम्भ अनावरण हुँदै

  • अमित थेबे “मिहाङ”

२९ पुस, विजयपुर/ याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान झल्काउने उद्देश्यले धरानमा निर्माण भएको सिलाम साक्मा र के (च्याब्रुङ) काे स्तम्भ अनावरण हुने भएको छ ।

लिम्बू जातिको राष्ट्रिय महान चाड कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) काे अवसरमा स्तम्भकाे उद्घाटन याक्थुङ लिम्बु समुदायको सामाजिक संस्था कियाचुकाे वडा नम्बर १९ समितिकाे अगुवाइमा निर्माण भएको स्तम्भकाे अनावरण कक्फेक्वा तङ्नामकाे अवसर पारेर माघ एक गते मङ्गलबार एक कार्यक्रमबीच हुन लागेको सचिव वसन्ती थेवेले बताइन् ।

कियाचु सङ्घीय अध्यक्ष/उपप्राध्यापक प्रेम येक्तेनकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा साँझ साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको उनले बताइन् । करिब डेढ महिनादेखि सुरु भएको अभियानले पाैने १० लाख रूपैयाँ बढीको लागतमा स्तम्भ निर्माण गरेको स्मारक निर्माण समिति संयाेजक देउमान ताप्मादेनले बताए ।

“सिलाम साक्मा” र “के” अङ्कित स्तम्भ धरानमै पहिलो मानिएको छ । यसअघि, लिम्बुुवान क्षेेत्रकाे विभिन्न ठाउँहरूमा स्तम्भहरू राखिएका छन् । धरान उपमहानगरपालिकाभित्र याक्थुङ समुदायको दाेस्राे ठूलो बसाेबास रहेको इलाकाका रूपमा वडा नम्बर १९ रहेको तथ्यांकले देखाउँछ । वडामा “सिलाम साक्मा” र “के”काे स्तम्भ निर्माणले समुदायको साँस्कृतिक पहिचानलाई सम्बाेधन गरेको निर्माण समितिका सल्लाहकार एवम् लेखक हितराम तिल्लिङले वताए ।
उनका अनुसार के(च्याब्रुङ) समुदायको सबैभन्दा महत्त्वपूर्ण साँस्कृतिक बाजा हाे । त्यस्तै, सिलाम साक्मा विशेषत: पेगिफाङहाङ (येबा, साम्बा, फेदाङ्मा)ले तङ्सिङ् अनुष्ठान गर्दा प्रयोग गर्छन् ।