कविता ~ सजन गाउँको पागल कवि
- सेसेहाङ फियाक लिम्बू
यो बस्ती, त्यो बस्ती
सबै बस्ती, सजन मानवको बस्ती
त्यो बस्तीमा
एकजना पागल कवि, कविता लेखिरहन्छ
कहिले उनको कविता लेख्छ
कहिले खुनको कविता लेख्छ
कहिले जुनको कविता लेख्छ
कहिले सुनको कविता लेख्छ
कहिले गुणको कविता लेख्छ
हुंदा हुंदा
कहिले काहिं त
आफ्नै आन्द्रा भुंडिको पनि कविता लेख्छ
अनि,
घोषणा गर्छ रवि नपुगेकोमा कवि पुग्छ
बिच सडकमा उभेर चिच्याउंछ कवितामै
चिरफार गरेर शासकहरूको
अचम्म त
राष्ट्र, जनता, डांडा, कांडा, खोला, नाला, बन, जङगल
नीति नियम सबथोक म नै हुं भन्छ
मानौं
ऊ बाहेक कोहि छैनन् रे ठुलाबढा, संसारमा
नाथे
एउटा कलम यसो कपिमा धसेर
किन यत्रो गफाडिन्छ ?
किन यत्रो चिच्याउंछ ?
किन यत्रो बकबास गर्छ भनेको त
ऊ
एउटा पागल कवि पो रहेछ
उनको कविता
त्यो सजन गाउंका मानवहरूले कहिले सुन्दैनन्
उनलाई कवि पनि भन्दैनन्
किन की
उनी कल्पनामा सपना देख्छ
उनी सपनामा कविता लेख्छ
अनि
अन्तिममा थाकेर
भट्टि पसलमा
एक गिलाससंग प्रेम पिरती गांसेर
हौ…..कविता लेख्दैछु है भन्दै उतानो पल्टिन्छ ।