- टङक सम्बाहाङफे
सन्दर्भ खोतलेर
जीवनका यावत पक्षहरु
जीवनका यावत विपक्षहरु
हरेक सेकेण्ड/मिनेट/घण्टा
हरेक दिन/हप्ता/महिना
अथवा हरेक बर्ष
अनेकौ ढङ्गले दिमाकिय नाङ्लोमा राखेर
कहिले केलाउछु
कहिले निफन्छु
सफा र साग्ला विचारहरु
अनि आफ्नै प्रसंगको भाडोमा खन्याउछु
किनभने मलाई बाँच्नको लागि
यी आदि ईत्यादिहरु
आड्भरोसाको रुपमा चाहिन्छ्न
वास्तवमा सन्दर्भ तिनै हुन
जस्ले बाँच्नको लागि उर्जा दिन्छ
र त जीवनको सन्दर्भ
अनेकौ भएर आएका हुन्छ्न
हामीलाई लाग्दछ
विना सन्दर्भ पनि जीवन चलिरहेकै हुन्छ
तर त्यो पनि होइन रहेछ
किनकी सन्दर्भका शृङ्खलाहरु
अटुट/अविछिन्न/निरन्तर
जीवनसंगै सलल बगिरहेका हुन्छन
हामीलाई थाहा छ कि जीवन
एक सन्दर्भ हो
त्यही सन्दर्भबाट नै
पक्षहरु पनि आएका हुन
विपक्षहरु पनि छाएका हुन
तसर्थ
सन्दर्भहरु कहि कतैबाट छेक्न सकिँदैन
सन्दर्भहरु कहि कतैबाट रोक्न सकिँदैन
त्यसकारण आईरहन्छ
र निरन्तर गईरहन्छ
किनभने समयले सन्दर्भलाई
आफ्नो नियन्त्रणमा लिएको हुन्छ
त्यसैले त सन्दर्भलाई समयले
कहिले वर्तमान सन्दर्भ
कहिले भूतसन्दर्भ बनाउदै
भविश्य सन्दर्भमा जोडि दिन्छ
तर पनि सन्दर्भ कोट्याई रहन्छौ
हरेक सेकेण्ड/मिनेट/घण्टा
हरेक दिन/हप्ता/महिना
अथवा हरेक बर्ष
किनभने हामीले बाँचेको परिबेश
त्यही सन्दर्भले ढाकिएको हुन्छ
एकपछी अर्को सन्दर्भले जोडिएको हुन्छ
जीवनको आरोह अवरोह मात्र नभएर
यावत पक्षहरु
यावत विपक्षहरु
सन्दर्भले गाँसिएका हुन्छन
जन्म एक सन्दर्भ
जीवन बाँच्नु अनेक सन्दर्भ
मृत्यु अन्तिम सन्दर्भ
यसरी सन्दर्भलाई बाडेर हेर्छौ
कतै हाँसेर/बाँचेर/नाचेर हेर्छौ
कतै रोएर/छोएर/धोएर हेर्छौ
यसरी जीवन बाँच्नुको सन्दर्भ अनेक छन
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो अर्कै सन्दर्भ कुरा हो
तर जीवन पाएर भोग्न थालेपछी
कुनै न कुनै सन्दर्भले कोट्याउछ
तब सन्दर्भसंग सान्दर्भिक भएर
अनेक पक्षहरु
अनेक विपक्षहरु खोज्न थाल्दछौ
जीवन कसैको लागि सन्दर्भ बन्न सक्छ
जीवन कसैको लागि सन्दर्भ नबन्न सक्छ
तर जीवन एक सन्दर्भ नै हो
दृष्टि वा दृष्टिकोण फरक हुन सक्छ
परिभाषा अलग हुन सक्छ
किनभने हरेक मान्छेको बाँच्ने सन्दर्भ मिल्दैनन
यहि नमिल्नुले नै अनेकौ सन्दर्भ आएका हुन
त्यसैले एकपछी अर्को सन्दर्भ निरन्तर जोड्दै
जीवनयापन गरिरहेका छौ ।
टङक सम्बाहाङफेको वालबाट साभार ।