जग्गा-भवनदाता स्व. कमला आङ्बुहाङ छैटौं स्मृतिसभा सम्पन्न

विर्तामोड/ किरात याक्थुङ चुम्लुङ झापा शाखालाई जग्गा र भवन निर्माण गरि भवन सहित अनुदान प्रदान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङ्बुहाङकी धर्मपत्नी स्व. कमलादेवी आङबुहाङको छैटौं स्मृति सभा सम्पन्न गरेको छ ।

जिल्ला चुम्लुङहिम्मा साउन २ गते विशेष कार्यक्रमको आयोजना गरि चुम्लुङ परिसरमा स्थापित आङबुहाङ दम्पत्तिको शालिकमा फूलमाला अर्पण गरि स्मृति सभा मनाइएको हो ।

विर्तामोड नगरपालिका वडा नं. १ सिरिजङगा चौकस्थित १ कट्ठा ७ धुर जग्गामा एकतला भवन निर्माण गरि किरात याक्थुङ चुम्लुङ झापा शाखालाई संस्थागत विकासको निमित्त नि:शुल्क स्व. नरेन्द्र बहादुर आङ्बुहाङ, वहाँकि धर्मपत्नी स्व. कमलादेवी आङ्बुहाङ र परिवारले चुम्लुङलाई हस्तान्तरण गर्नुभएको हो ।

जग्गा र भवन दाता, दानवीर स्व. नरेन्द्र बहादुर आङबुहाङको प्रत्येक वर्ष पुस ६ गते जन्म-जयन्ती मनाउने गरिन्छ भने वहाँकी धर्मपत्नी स्व. कमलादेवी आङबुहाङको वार्षिक स्मृति दिवस प्रत्येक वर्ष साउन २ गते मनाउने गरिन्छ ।

वहाँहरूको संस्थागत योगदानलाई ऐतिहासिक बनाउँदै लैजाने मूल उद्धेश्यले पछिल्लो समयमा संस्थाको आन्तरिक स्रोतबाट वार्षिक रूपमा रू. ३,०००/- प्रदान गर्ने गरि “स्व. नरेन्द्र +कमलादेवी आङबुहाङ स्मृति साहित्य पुरस्कार” स्थापना गरिएको छ । यो पुरस्कार लिम्बू साहित्य र इतिहासमा विशेष योगदान दिने स्रस्टालाई वार्षिक रूपमा प्रदान गरिन्दै आएको छ ।

स्मृतिसभामा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापाका राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, विशिष्ट अतिथि हल्दिवारी गाउँ पालिका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड चुम्लुङ नगर अध्यक्ष हिमालय प्रकाश कन्दङवा, दाता परिवारमा सदस्य रेखा आङबुहाङ लगायतका महानुभावहरुले स्व. नरेन्द्र बहादुर आङबुहाङ र स्व. कमलादेवी आङबुहाङको जीवन चर्चा गर्नुहुँदै वहाँहरूले प्रदान गर्नुभएको भौतिक संरचनालाई संस्थाले व्यवस्थापन र सुरक्षण गर्नु्पर्ने कुरामा विशेष जोड दिनुभयो ।

किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको सभापतित्वमा सम्पन्न स्मृतिसभामा जिल्ला सदस्य धर्म लक्सम्बाले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।