कवि श्रीमान खजुमको कविता सङग्रह “तक्सङ माइली” विमोचन

केराबारी, जेठ २०/ पूर्वी नेपालको लिम्बुवानी क्षेत्रमा बोलिने भाषा संस्कार संस्कृति, जीवन शैली लवज र मिथकहरुलाई समेटर तयार पारिएको श्रीमान खजुमको कविता संग्रह तक्सङ माइली’ हिजो विमोचन गरिएको छ ।

मोरङ केराबारी गाउँपालिका-२ हाबेचारीस्थित जेफाले भवनमा साहित्यकार मुकुन्द प्रयासको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।  धनकुटा चौविसे गाउँपालिकामा स्थायी बसोबास गर्दै आएका कवि २० वर्ष अघि भित्ते पत्रिका प्रकाशन गर्दै त्यसपछि साहित्यिक हवाई पत्रिका मार्फत साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका खजुमले आफ्नै भूगोल र परिवेश भित्र भएका घट्नालाई समेटेर तयार पारिएको तक्सङ माइली कविता संग्रह विमोचन गरिएको हो ।

मोरङको पर्यटकीय क्षेत्रको रुपमा परिचित,साहित्यिक बन्दै गएको पर्यटकीय क्षेत्र जेफालेमा कविता संग्रह तक्सङ माइली कविता संग्रहलाई प्रमुख अतिथि साहित्यकार मुकुन्द प्रयास कृति समालोचक तथा वक्ताहरु राज माङलाक,केजी सुब्बा,दिवा चेम्जोङ लगायतले संयुक्त रुपमा लोर्कापण गर्नुभएको थियो ।

विमोचन समारोहमा साहित्यकार दिवा चेम्जोङले लेखक श्रीमान खजुमले २०७७ सालमा प्रकाशित गरेको रचनाहरुको संग्रह तक्संग माइलीलाई पुर्वीय साहित्यमा नयाँ आयामको रुपमा काम गर्ने बताए ।

त्यसैगरी केजी सुब्बाले तक्सङ माइली कविता संग्रह पहिचानका लागि सशक्त आन्दोलनको एउटा रुप भएको बताउनुभयो । कतिपय नश्लिय चिन्तनवादी साहित्यकारहरुले कविता संग्रहलाई कविताको रुपमा स्वीकार गर्न नसक्ने बताए ।

त्यसैगरी  राज माङलाकले पनि खजुमले ल्याएको कविता संग्रह तक्सङ माइली नेपाली साहित्यको नौलो आयाम रहेको बताउदै यसले स्थानीयता र परिवेश भूगोल र भाषा संस्कृतिलाई प्रश्रय दिने बताए ।

कृतिमा २३ ओटा कविताहरु समावेश छ । गाउँले परिवेशमा हुर्किएकी तक्सङ बस्तीकी तक्सङ माइली र गैरी गाउँको टाँकीबुङे जेठा विच भएको वियोगान्त प्रेम कहानीलाई कविता मार्फत उतार्ने प्रयास गरिएकोछ । नेपाली साहित्यमा टिपिकल भाषा ,संस्कार र लवजहरु मार्फत पनि नयाँ आयाम दिन सकिन्छ भन्ने ध्ययका साथ कविले याक्थुम्बाहरुले प्रयोग गर्ने भाषा संस्कार संस्कृति मुन्धुम तथा स्थानीय हाटबजारहरुको परिवेशमा घुमेका डुलेका र रोचक घट्नाहरुलाई समेटर प्रेम कहानीका रुपमा प्रस्तुत गरेका छन् ।

कविता संग्रहमा विभिन्न मेरो वाल्यकाल, तक्सङ माइलीसंग चिनजान, अन्तिम चिठी, कोक्मा अन्तरीसंग विवाह, टाँकीको रुख, सौर्य बजारको साँघुरो बाटोमा जस्ता २३ ओटा कविता समावेश गरिएको छ ।

कार्यक्रम याक्थुङ लेखक संघ धनकुटा अध्यक्ष कविन तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको हो । विमोचन समारोहमा धनकुटा पाँचथर,मोरङ लगायत विभिन्न ठाउँबाट साहित्यिक स्रष्टाहरु जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।