दमक,११ जेठ / साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ ।
शुक्रबार झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा केशव आचार्यको प्रमुख आतिथ्यतामा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ प्राज्ञद्वय मुनाराज सेर्मा, सुमित्रा वाङ्देल चेली, वरिष्ठ गीतकार शिव शंकर थापामगर, सामाजिक अगुवा बालचन्द्र सुब्बा, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार हेम अधिकारी, हस्त परियार, कवि कृष्ण बराल लगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए ।
कार्यक्रमको सुरुमै स्रष्टा पब्लिकेसन विधिवत रूपमा उद्वघाटन गरिएको थियो ।
कृतिबारे कवि प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ र लीला अनमोलले बोलेका थिए ।
आफ्नो कृति बारे थेगुवाले विषयवस्तु प्रकाश पार्दै एउटा कविता वाचन गरेका थिए ।
थेगुवाकृत ‘सपनाहरुको बही’मा लामा र छोटा गरी ५१ वटा कविता संग्रहित छन् भने थप पाँच वटा कोरोना कालका कवितालाई संग्रहमा समावेश गरिएको छ । करिव तीन दशकदेखि निरन्तर साहित्य लेखनमा क्रियाशील उनका बुद्धले अश्त्र कविताकृति (२०५८) र हर्के, म अनि युद्ध गजलकाव्य (२०६७) प्रकाशित छन् ।
कार्यक्रम स्रष्टा पब्लिकेसन अध्यक्ष/कवि सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य स्रष्टा पब्लिकेसन कोषाध्यक्ष याम थुलुङले राखेका थिए भने संचालन राज कुमार सुब्बा अनिश्चितले गरेका थिए ।
स्रष्टा पब्लिकेसनको पहिलो प्रकाशनका रूपमा थेगुवाको कृति लोकार्पित गरिएको हो ।