नन्द कन्दङ्वा
पृष्ठभूमि
नेपालमा हिजो आज जता ततै हाईड्रो पावर र केबलकार नै बिकास हो भन्ने भ्रम दिने काम भईरहेको छ । मुक्कुमलुङ (संस्कृतकृत गरिएको नाम पाथीभरा) को सन्दर्भमा केबलकार निर्माणबारे पनि बिकासको यस्तै भ्रम, हल्ला र प्रचार गरिएको छ । बिकास मानव समुदायसंग गासिएको बिषय हो । जनसमुदायलाई हित नगर्ने कुनै पनि कार्य बिकास भन्न मिल्दैन । कुनै पनि कार्यले २/४ जना व्यक्तिहरुलाई मात्र अकुत सम्पति आर्जन हुन्छ तर जनसमुदायलाई हित गर्दैन भने त्यो बिकास होईन २/४ जनाको पक्षमा हुने स्वार्थी बिकास हुन्छ । यस्तो कुरा बिकासको मोडलले निर्धारण गर्दछ ।
विकास
विकास भनेको आर्थिक, सामाजिक, सास्कृतिक, मानविय, वातवरणीय तथा भौतिक सुख सुविधाका साथै मानव अस्तित्वसंग गासिएको प्रकृतिको संरक्षण र रक्षाको लागी कार्य हो । यि सबै मानव समुहको लागी हो । कुनै पनि मानव समुहको जीवन यापन, जीवन पद्धति, सामाजिक–आध्यात्मीक विश्वास, सामाजिक–सांस्कृतिक तथा आर्थिक आधारलाई नष्ट गरेर गरिने भौतिक बिकासलाई मात्र बिकास भन्न सकिन्न । मानव अस्तित्वलाई नास गर्ने र संकट पैदा गर्ने कार्यहरुलाई बिकास भनिन्न । भौतिक बिकासको पनि आवश्यक पर्छ तर त्यसले मानव समुहको जीवन यापन, जीवन पद्धति, सामाजिक–सांस्कृतिक विश्वास तथा आर्थिक आधारलाई नष्ट गर्न र खलबल्याउन हुदैन मिल्दैन । यसको अर्थ मानव समुहको मानव अधिकार हनन् हुनु हुदैन । यि सबैलाई सन्तुलन गरेर गरिने कार्यहरु मात्र बिकास हुन जुन कार्यले कसैको पनि मानव अधिकार हनन् हुदैन । सन्तुलन कायम नगरिएको कार्य निश्चित समुह, शक्ति तथा व्यक्तिहरुको स्वार्थ रक्षा र स्वार्थ पुर्ति गर्ने साधन र कार्य मात्र हुन्छन् । यस अर्थमा यो एउटालाई सिध्याएर अर्कोलाई बनाउने बिनासकारी काम मात्र हुन्छ । जसलाई औपनिबेशिक बिकास मोडल (Colonial Development Model) भनिन्छ ।
बिकासले आधारभुतरुपमा ७ वटा काम गर्नै पर्ने हुन्छ । कुनै पनि कार्य या योजना बिकास हो कि होईन भन्न निश्चित आधारमा हेरिनु पर्दछ । लुटेरा बिकासको मोडल पनि हुन्छ तर त्यो समग्र जनता र देशको लागी हुदैन । त्यसैले बिकास भन्नको लागी त्यसले ७ वटा काम गर्नै पर्ने हुन्छ ।
पहिलो, बिकासले कुनै पनि समुदायको संस्कृति र आध्यात्मिक आस्थालाई प्रतिकुल प्रभाव पार्नु हुन्न । त्यसले समुदायको संस्कृति र आध्यात्मिक आस्थालाई संरक्षण गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय कानूनले पनि यहि कुरालाई जोड दिएको छ । मुक्कुमलुङमा बनाउन योजना गरिएको केबलकारले त्यहाको आदिवासी लिम्बु समुदायको मुन्धुमी, सास्कृतिक तथा पवित्र स्थल मुक्कुमलुङ र त्यस्को मुल्य मान्यतालाई नास गर्दैछ कि संरक्षण गर्दैछ भन्ने सहजरुपमा देखिन्छ । मुक्कुमलुङ मुन्धुमी, सांस्कृतिक तथा पवित्र स्थलको मुल्य मान्यता भनेको त्यस क्षेत्रमा आधुनिक संरचनाहरु निर्माण गरिनु हुन्न । फोहोर गरिनु हुन्न । माथिल्लो फेदीको थानदेखि धागो टाङदै माथी यूमा माङ थानसम्म लगिए फल प्राप्त हुन्छ जस्ता अनगिन्ती विश्वास तथा मान्यता रहेका छन । यदि यस मुल्य मान्यताको उलंघन गरिए त्यस क्षेत्रमा चट्याङले हानेर मानिस मार्ने, असिना पानी परेर बालीनालीको क्षति गर्ने, पहिरो जाने र धन जनको क्षति गर्ने जस्ता थुप्रै घट्नाहरु हुने गर्दछ भन्ने जनविश्वास रहेको छ ।
दोस्रो, बिकासले जनसमुदायमा आर्थिक कारोबार बढाउनु पर्ने हुन्छ । उक्त आर्थिक कारोबार जनसमुदायको हितमा हुनु पर्ने हुन्छ । तस्कर, कालो बजारी, भ्रष्ट दलाल र बेथितीवालाहरुले राज्यलाई थोरै कर तिरेर अर्थतन्त्र कव्जा गर्ने आर्थिक कारोबारले जनसमुदायको हित हुदैन । त्यो त जनसमुदाय बिरोधी एउटा सानो निश्चित लुटेरा डफ्फालाई मात्र फाईदा हुन्छ । यसले पुंजीको बितरण जनसमुदायमा गर्दैन । बिकासको नाममा पुंजी एकिकृत गर्ने र निश्चित व्यक्तिहरुमा पुंजी थुपार्ने यस्तो अर्थतन्त्रलाई नै दलाल नोकरशाही पुंजीवादी अर्थतन्त्र भनिन्छ । नेपालमा सरकार कव्जा गर्ने नेतादेखि कार्यकर्ता र आउरेबाउरेहरु अहिले यहि सानो लुटेरा डफ्फाकोरुपमा पहिचानीत भएका छन । सरकारमा रहेका दलहरु र तिनका नेताहरु दलाल नोकरशाही पुंजीपति व्यापारीहरुसंग शेयरमा र तिनैको सहयोगमा अकुत सम्पति कमाउने धन्धामा लागेका छन । उनीहरुको चुनाव खर्च पनि यिनै दलाल नोकरशाही पुंजीपतिहरुले व्यहोरेका छन । त्यसैले ति सरकार र राज्य सत्तामा बसेका नेता तथा मानिसहरुले तिनै दलाल नोकरशाही पुंजीपति व्यापारीहरुको पक्षमा काम गर्ने गर्दछन । मुक्कुमलुङ केबलकारको सन्दर्भमा पनि यहि कुरा लागु भएको छ ।
राज्य सत्ताको कुरा गर्दा राज्य सत्ताको ३ वटै अंगले यस मामिलामा उपनिबेशकारी तथा दलाल नोकरशाही पुंजीपति व्यापारी तथा एउटा सानो जत्थालाई साथ दिईरहको छ । सरकार आफै उपनिबेशकारीकोरुपमा खडा भई जनसमुदायको बिरुद्धमा दलाल नोकरशाही पुंजीपति व्यापारीहरुलाई संरक्षण गर्न काम गरिरहेको छ । राज्य सत्ताको अर्को अंग संसद भने यस मामिलामा वेवास्ता गरेर बसिरहेको छ । मुख्य दलहरु उपनिबेशकारी तथा दलाल नोकरशाही पुंजीपति व्यापारीहरुको गुलाम भएकोले तिनका सांसदले संसदमा आवाज नउठाउने कुरा स्वभाविकै हो । राज्यसत्ताको अर्को अंग न्यायलय हो । न्यायलय स्वतन्त्र हुन्छ र कानून अनुसार न्याय दिन्छ भने कुरा मिथ्या हो भन्ने कुरा मुक्कुमलुङको सन्दर्भमा नेपालको कानून र अन्तर्राष्ट्रिय कानूनको आधारमा धेरै जोखाना हेरिरहनु पर्ने बिषय होईन तर पनि उ आफै उपनिबेशकारी भावनाले ग्रस्त भएकोले उपयुक्त समयको जोखाना हेरिरहेको छ । न्यायलयहरु भ्रष्टाचारको अखडा भएको कुरा समाचारहरुले बताई नै रहेका छन । न्यायलय पनि उपनिबेशकारी र दलाल माफियाहरुको हितमा काम गर्छ भन्ने कुरा विभिन्न समयका घट्नाहरुले देखाईरहेको छ । मुक्कुमलुङको सन्दर्भमा १७ वटा संस्था र लिम्बु थरगत संस्था सहित ७ जिल्लाका १४७ जना रिट निबेदकहरुले दिएको रिटमा यिनै उपनिबेशकारी तथा दलाल माफियाहरुको प्रभावका कारण न त न्यायलयले जनताको पक्षमा फैसला दिन सकेको छ न त देशमा अशान्ती हुन सक्ने यस्तो सम्बेदनशिल मुद्धालाई टुंगो लगाउछ । यो मुद्धा करिव ३ बर्षदेखि सर्बोच्चमा झुण्डीएको छ ।
अहिले मुक्कुमलुङमा तिर्थयात्रीहरु आउछन, ताप्लेजुङ फुङलिङ बजार देखि तल्लो फेदी (काफ्ले पाटी) हुदै माथिल्लो फेदीसम्म बास बस्छन र खाजा खाना खान्छन । यसले त्यहा खपत हुने स्थानिय कृषी उत्पादन बढाएको छ भने कृषकहरुको आयमा सोझै योगदान गरेको छ । स्थानियरुपमा बनेका विभिन्न खालका बस्तुहरुको बिक्रि बढाएको छ । यस खाले आर्थिक कारोबार र आर्थिक सम्बन्धले जिल्लाको त्यस भेगका जनताको जीवन यापनलाई सहज बनाएको मात्र नभई आर्थिरुपले बलियो बनाउन सहयोग गरेको छ । यस्तो आर्थिक सम्बन्धले स्थानिय समुदाय, साना व्यापारी तथा व्यवसायी र राज्य सरकार सबैलाई फाईदा भईरहेको छ । स्थानिय समुदायले उत्पादन गरेका विभिन्न उत्पादन बिक्री भएर स्थानिय समुदायलाई सोझै फाईदा भईरहेको छ । साना व्यापारी तथा व्यवसायीहरुको व्यापार व्यवसाय चलिरहेको छ भने तिनीहरुले राज्यलाई कर तिर्न सकिरहेका छन । यसले केबलकार चल्दा एक ठाउमा थुप्रिने पुंजीलाई विभिन्न तहमा बितरण गर्दछ गरिरहेको हुन्छ ।
तेस्रो, बिकासले वातावरण र पर्यावरणलाई प्रतिकुल प्रभाव पार्नु हुदैन । केबलकार निर्माणको लागी त्यहा घोषीतरुपमा करिव ११ हजार रुखहरु काटिने छ भने अघोषीतरुपमा त्यहा लाखौ रुख बिरुवाहरु काटिने छ । त्यसले बर्षाको बेला पहिरो जाने र सो स्थानबाट तल रहेका बस्तिहरुमा धन जनको क्षति गर्ने अवस्था रहन्छ । यसैको कारण तल पानीका श्रोतहरुमा प्रतिकुल प्रभाव पार्छ । काटिने रुख बिरुवाहरु हजारौ बर्ष पुराना लालीगुरास लगायत मुन्धुमी र सांस्कृतिक महत्वका बोट बिरुवाहरु पर्दछन । यस वन फडानीले त्यस क्षेत्रमा पाईने दुर्लभ बन्य जन्तुमाथी प्रतिकुल प्रभाव पर्छ ।
चौथो, बिकासले रोजगारी सिर्जना गर्नु पर्ने हुन्छ । केबलकार निर्माण गर्दा बढी भन्दा बढी एक डेढ सय जना मानिसहरुले रोजगारी पाउन सक्छन । एक डेढ सय जनाको बद्ला करिव ६ सय तिर्थयात्री सहयोगीहरुको रोजगारी प्रत्यक्षरुपमा जाने मात्र होईन बिस्थापन समेत हुन्छन भने ४/५ सय होटल व्यवसायीहरु सहित ३/४ हजार मानिसहरुको रोजगारी प्रत्यक्षरुपमा गुम्छ । ४/५ सय होटल व्यवसायीहरु त्यहाबाट बिस्थापीत हुन्छन । अप्रत्यक्षरुपमा करिव हजार बार सय घर परिवार कृषकहरुको जीवन यापन र आयमा क्षति हुन्छ । एक ढेड सय मानिसहरुको बद्ला ४/५ हजार मानिसहरुको रोजगारी गुम्नुलाई बिकास भनिन्छ र ? यसले राष्ट्रिय आयमा थोरै योगदान गरे पनि स्थानिय समुदायको रोजगारी खोस्छ, व्यवसाय र जीवन यापनका साधनहरुलाई ध्वस्त गर्ने भएकोले यो बिकास नभएर बिनास हो । केबलकार जस्ता संरचनाको पनि देशमा आवश्यकता छ तर कस्तो ठाउमा भन्ने प्रश्न आउछ । केबलकार बनाउ जहा मुन्धुमी तथा सांस्कृतिक आस्थामा फरक नपरोस, जनताको रोजगारी नखोसियोस, जनताको जीवन यापनका साधनहरुलाई ध्वस्त नहोस, विभिन्न खाले व्यवसायीहरुको व्यवसायमाथी प्रतिकुल प्रभाव नपरोस ।
पाँचौ, बिकासले घरपरिवारहरुलाई आफ्नो घर जग्गाबाट बेदखल गरी सुकुम्बासी बनाउदैन । यसले त घरपरिवार तथा आम मानिसहरुको हितमा काम गर्नु पर्ने हुन्छ । २०५३ सालमा गठित कथित पाथीभरा क्षेत्र बिकास समिति गठन आदेश र २०७५ सालमा गरिएको संसोधनले ताप्लेजुङको सिरिजंगा गापाको वडा नं ३ को हर्कटे डाडालाई भित्र पारी फुङलिङ नपाको वडा नं. ११ फावाखोला सिम्बु सम्मको सम्पुर्ण क्षेत्र, पश्चिममा फक्ताङलुङ गापाको वडा नं. ३ लिमखिम र वडा नं. ४ तापेथोकको पाथीभरा मन्दिरबाट ३ किलोमिटर क्षेत्र भित्रको सम्पुर्ण क्षेत्र, उत्तरमा फक्ताङलुङ गापाको वडा नं. ४ र सिरिजंगा गापाको वडा नं. ३ र वडा नं. ६ को सिमान क्षेत्र भित्रको सम्पुर्ण क्षेत्र, दक्षिणमा फुङलिङ नपाको वडा नं. १० को फुरुम्बु गढी डाडा, वडा नं. ९ को देउराली, वडा नं. ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पुर्ण क्षेत्र र पाथीभरा याङवरक गापाको वडा नं. ३ को दुधिले पश्चिम फुङलिङ नपाको सिमानाको सम्पुर्ण क्षेत्र पाथीभरा क्षेत्र बिकास समितिको क्षेत्र सिमान्कन गरि राजपत्रमा प्रकाशन गरिएको छ । यस भित्र करिव १५०० भन्दा बढी घरघुरीहरु रहेका छन । दलाल तथा भ्रष्ट जत्थाले ति परिवारलाई जे आश्वासन दिए पनि सरकारबाट गठित यस्ता बिकास समिति र तिनको क्षेत्र भित्रका जमिन राजपत्रमा प्रकाशन भए पछि सबै जमिन सार्वजनिक जमिन हुने कानूनी व्यवस्था छ । ति १५०० भन्दा बढी घरघुरी अहिलेको अवस्थामा कानूनी हिसावले घरबारविहीनको अवस्थामा पुगेका छन । के बिकासले मानिसहरुलाई घरबारविहीन बनाउछ ? त्यसैले यो बिकास होईन यो बिनास र उठिबास हो । यसको शसक्त प्रतिरोध गरि कथित पाथीभरा क्षेत्र बिकास समितिका साथै यसको क्षेत्र निर्धारणलाई खारेज गर्दै नया ढंगले क्षेत्र निर्धारण गरि जनस्तरबाट मुक्कुमलुुङ क्षेत्र तथा बिकास समिति बनाउन आवश्यक भएको छ ।
छैटौ, बिकासले बढी भन्दा बढी जनसमुदायको जीवन यापन र आर्थिक उपार्जनलाई बढोत्तरी गर्नु पर्ने हुन्छ । बिकास मानिसहरुको जीवन यापन र आर्थिक उपार्जनसंग गासिएको हुन्छ । मुक्कुमलुङको सन्दर्भमा करिव २ हजार २५ सय मानिसहरुको होटल व्यवसायबाट जीवन यापन भएको छ र आर्थिक उपार्जन भईरहेको छ । करिव ६ सय तिर्थयात्री सहयोगीहरुको परिवार सहित करिव २ हजार २५ सय मानिसहरुको जीवन यापन र आर्थिक उपार्जनको आधार भएको छ । करिव हजार बाह्र सय किसानहरुको कृषी उत्पादन विक्री भएर जीवन यापनका साथै आर्थिक उपार्जनको साधन भएको छ । केबलकार निर्माण भए धरान र बिर्तामोडबाट गाडीमा ४ घण्टामा आउने १/२ घण्टा दर्शनमा लाग्ने र ४ घण्टामा फर्केर फेरी धरान र बिर्तामोड नै पुग्ने भएकोले यि सबैको जीवन यापन र आर्थिक उपार्जन सिद्धिन्छ । तिनीहरु गरिवीको रेखातिर धकेलिन्छन । ताप्लेजुङ फुङलिङदेखि माथी तल्लो फेदी (काफ्लेपाटी) सम्म यातायातको साधन प्रयोग गरेर २/४ सय गाडीहरुले जीवन यापनको लागी थोरै कमाउछन । केबलकारवालाहरुले आफ्नै गाडीमा बिर्तामोड र धरानदेखि तिर्थयात्रीहरु ल्याउने र लैजाने, आफ्नै होटल खडा गरि व्यवस्थापन गर्ने योजना भएकोले ति गाडी मालिक र गाडी चलाउने मजदुरहरुको कमाउने बाटो समेत हराउछ । के बिकासले गर्ने काम यस्तै हो ? त्यसैले यो बिकास नभएर मानिसहरुको जीवन यापन र आर्थिक उपार्जनमा संकट ल्याउने कुरुप योजना हो ।
सातौ, बिकासले राज्यको कर राजश्वमा बढोत्तरी गर्नु पर्ने हुन्छ । धेरै व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्दछ । धेरै भन्दा धेरै व्यवसायीहरुले राज्यलाई कर तिरी राष्ट्रिय आय बढाउने काम गर्दछ । राज्यलाई एक जना दलाल नोकरशाही पुंजीपति व्यापारीले तिर्ने व्यापारिक कर भन्दा हजारौ व्यवसायीहरुले तिर्ने कर बढी हुन्छ । हजारौ व्यवसायीसंग जोडिएका लाखौ मानिसहरुको जीवन यापनलाई ध्वस्त गरेर एक दुई जना दलाल नोकरशाही पुजीपतिहरुलाई सुरक्षा दिने र प्राथमिक्ता दिने सरकारी निर्णय तथा नीति के ठिक हुन्छ र ? यसले के कुरा सावित गर्छ भने दलाल नोकरशाही पुंजीपतिहरुले दल र दलका नेताहरुलाई निर्वाचनमा पर्याप्त रकम सहयोग दिएका छन, सरकार र सरकारका मन्त्रि तथा नोकरशाही कर्मचारीहरुलाई खर्चले धानेका छन भन्ने स्पष्ट बुझिन्छ ।
विकासका विभिन्न मोडलहरु
बिकासबारे मानिसहरुले धेरै बुझेका छैनन । दलाल पुंजीपति, दलाल नोकरशाशी पुंजीपति र तिनका दलिय तथा सरकारी हिस्सेदारहरुले बिकासलाई चलाख श्याल झै चिल आयो भनेर मानिसहरुलाई आकासतिर हेर्न लगाई भुईमा भएको कुखुरा समातेर लैजाने कार्यलाई बिकास हो भनि चोर लुटेरा मोडललाई बिकास हो भनेर जनतालाई भ्रम दिईरहेका छन । त्यसैले हामीहरुले विश्वमा भईरहेका बिकासका विभिन्न मोडलहरुबारे बुझ्न जरुरी छ । ति बिकासका विभिन्न मोडलहरुलाई बुझे पछि मात्र कुन बिकास हो कुन होईन र कुन बिकास मोडल समुदायको लागी उचित हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
औपनिबेशिक विकास मोडल
औपनिवेशिक बिकास मोडल उपनिबेशवादको ३ वटा चरित्र र बिशेषता (१) राज्य शासनमाथी नियन्त्रण, (२) देशको श्रोत साधन र अर्थतन्त्रमाथी नियन्त्रण, र (३) उक्त देशका जनसमुदायमाथी उपनिवशेकारीका मुल्य मान्यता, संस्कृति, भाषा तथा जीवन पद्धति अरुमाथी लाद्ने चरित्र र बिशेषताबाट निर्देशित हुन्छ । यसले आफ्नो बर्चस्प स्थापित गर्न अरुलाई दास र परनिर्भर बनाएर आफ्नो कुरा अरुलाई मान्न बाध्य गराउने नीति अबलम्बन गर्दछ । यस बिचारमा आधारीत बिकास मोडलले कुनै पनि देशले, समुदायले र कुनै पनि राष्ट्रले स्वतन्त्र ढंगले निर्णय गरि आफ्नो अनुकुलता अनुसारको बिकास कार्य कार्यान्वयन गर्न दिदैन । यो आफ्नो मुल्य र मान्यतालाई स्थापित गर्न अरुको भूमि, संस्कृति, आस्था र जीवन यापनसंग जोडिएका सम्बन्धहरु माथी अतिक्रमण गर्दछ । मुक्कुमलुङको सन्दर्भमा राज्य आफै उपनिबेशकारी भएको छ भने दलाल नोकरशाही पुंजीपतिलाई भित्र्याएर स्थानिय अर्थतन्त्रलाई कव्जामा लिई पुंजीको केन्द्रिकरण गर्न लगाईएको छ । यसैले, यो औपनिवेशिक बिकास मोडलबाट निर्देशित बिकास मोडल हो । यसले स्थानिय समुदायमाथी नश्लिय ब्राह्मणवादको उपनिबेशलाई सुदृढ गर्दछ ।
विकासका अन्य मोडलहरु
औपनिवेशिक बिकास मोडलको अलावा विश्वमा पुंजीवादी बिकास मोडल, समाजवादी बिकास मोडल, बजारमुखि बिकास मोडल, कल्याणकारी बिकास मोडल रहेका छन । यि सबै बिकासका मोडलहरुले यो या त्यो तरिकाले समुदायलाई थोरै भरथेग गर्ने तर धेरै धरासायी बनाउने काम गर्दछन । तिनीहरुले समुदायको सामुहिक सामुदायिक जीवन पद्धति, सामुदायिक अर्थ व्यवस्था, आर्थिक सम्बन्ध, परम्परागत जीवन प्रणाली र सामाजिक–सांस्कृतिक सम्बन्धहरुलाई अतिक्रमण गर्दछन र धरासायी बनाउछन । यसैले, बिकासको सन्दर्भमा बहुलराष्ट्रिय सामुदायिक बिकास मोडल हाम्रो लागी उपयुक्त र प्रभावकारी हुने भएकोले त्यसकोबारे यहा थोरै चर्चा गरिन्छ ।
बहुलराष्ट्रिय सामुदायिक विकास मोडल
यस बिकास मोडलमा उत्पादनका साधनहरु बहुलराष्ट्रिय समुदायको स्वामित्व र नियन्त्रणमा रहन्छ । यसले उत्पादनका साधनहरु जल, जमिन, जंगल, उद्योग कलकारखान, औजार, पुंजी आदीहरु राज्य या खास बर्गको स्वामित्व र नियन्त्रणमा नरहेर बहुलराष्ट्रिय समुदायको स्वामित्व र नियन्त्रणमा रहने कुरालाई सुनिश्चित गर्दछ । उत्पादनका साधनहरुलाई राष्ट्रियकरण गर्ने, राज्यको स्वामित्व र नियन्त्रणमा लैजाने र सर्वहारा बर्ग या निश्चित बर्गको स्वमित्व र नियन्त्रणमा लैजाने कुराको यसले बिरोध गर्दछ । उत्पदनका साधनहरु व्यक्ति तथा परिवारले के र कसरी उपभोग गर्दछन् भन्ने कुरा सम्बन्धित बहुलराष्ट्रिय समुदायले निर्णय र निर्धारण गर्दछ । सरकारहरु यस्तो कामको लागी सहजकर्ता मात्र रहन्छन् ।
यस मोडलको बिचारले बहुलराष्ट्रिय अस्तित्व भित्र रहेका धनी र गरिव भन्ने बर्गहरुलाई नीतिगत र कार्यक्रमको माध्यमबाट समान बनाउन बहुलराष्ट्रिय समुदाय र तिनका सरकारले बर्गिय भिन्नतालाई हटाउछ र समानता कायम गर्दछ । यसले बर्गलाई अस्थायी अस्तित्वकोरुपमा लिन्छ । धनी र गरिव वीचको असमानता, अन्याय र विभेदलाई अवसर, बितरण र आर्थिक आर्जनलाई न्यायीक र समतामुखी बनाएर निर्मुल गर्न सोही अनुरुपका नीति तथा कार्यक्रमको तर्जुमा गर्दछ । यो बिकास मोडलमा बहुलराष्ट्रिय सामुदायिक उत्पादन प्रणाली रहन्छ । उत्पादन प्रणाली भनेको उत्पादनका साधन, श्रम तथा पुंजी (लगानी) बीचको अन्तरसम्बन्ध हो । यि ३ तत्वहरु कस्को स्वामित्व, नियन्त्रण र कस्ले कसरी परिचालन गर्दछ भन्ने कुरा हो – उत्पादन प्रणाली भनेको । यस बहुलराष्ट्रिय सामुदायिक उत्पादन व्यवस्थामा समुदायको अग्रणी भूमिका रहन्छ । उत्पादनका साधनहरु राष्ट्र समुदायको स्वामित्व र नियन्त्रणमा रहन्छ । उत्पादन आत्मनिर्भर, अन्तरनिर्भर र समुन्नत तथा सम्बृद्धिमुखी रहनेछ । समाजलाई समुन्नत र सम्बृद्ध बनाउन छिमेककासाथै क्षेत्रिय र विश्व आर्थिक व्यवस्था तथा भूमण्डलीकरणका कतिपय अवसर र बिशेषताहरुलाई भरपुर उपयोग र उपभोग गर्ने नीति रहन्छ । बहुलराष्ट्रिय सामुदायिक उत्पादन प्रणाली र उत्पादन सम्बन्ध सामन्तवादी, पुंजीवादी तथा साम्यवादी—समाजवादी उत्पादन प्रणाली र उत्पादन सम्बन्ध भन्दा भिन्न हुन्छ ।
मुक्कुमलुङमा विकासको मोडल कस्तो हुनु पर्छ ?
एक शव्दमा भन्नु पर्दा मुक्कुमलुङमा सामुदायिक बिकास मोडल अपनाईनु पर्दछ । त्यसको मतलब त्यहाको भूमि, आध्यात्मिक अभ्यास, आर्थिक कारोबार, अर्थ सम्बन्ध, वातावरण र पर्यावरण त्यहिका समुदायको नियन्त्रण र व्यवस्थापनमा रहनु पर्ने हुन्छ । कस्तो भौतिक, आर्थिक तथा आध्यात्मिक बिकास भन्ने कुरा त्यहिको समुदायले निर्धारण गर्न पाउनु पर्ने हुन्छ । समुदायको नियन्त्रण र व्यवस्थापन भए पछि स्थानियलाई रोजगारी, आय दिने उत्पादनमुलक कार्य योजना लगायतका कुराहरु त्यहिको समुदायले निर्णय र निर्धारण गर्न पाउनु पर्ने हुन्छ ।
समुदायले केबलकार जस्ता ठुला र २/४ जनाले अकुत सम्पति कमाउने योजनाको सट्टा हाल भईरहेको स्थानियको रोजगारी, व्यवसाय तथा आय आर्जनलाई बढाउने योजना गर्न सक्छन । सहज बाटो निर्माण गरि असक्त तथा बृद्ध बृद्धाहरुले मुक्कुमलुङको दर्शन गर्न मानिसहरुले ठेलेर चलाउने हाते ट्रलीहरु सन्चालन गर्न सक्ने हुन सक्छ जस्ले तिर्थयात्रीहरुलाई सहयोग गर्ने सहयोगीहरुको रोजगारीलाई बरकरार राख्ने काम गर्दछ भने असक्तहरुलाई मुक्कुमलुङको दर्शन गराउन सहज बनाउछ । यसैगरि, समुदायको नियन्त्रण र व्यवस्थापनमा त्यस क्षेत्रको कृषी उत्पादनलाई बढाउने खालका कृषी उत्पादित बस्तुहरुलाई होटल व्यवसायमा प्राथमिक्ता दिन सक्ने योजना गर्न सक्छन । मुक्कुमलुङमा पुजा गर्ने सरसामानको उत्पादनलाई स्थानिय समुदायले उत्पादन गर्ने गरि योजना बनाउन सक्छ । मुक्कुमलुङको सहयोग रकमहरुलाई कुनै पनि तहको सरकारमा जानबाट रोकेर समुदायको नियनत्रण र व्यवस्थापनमा सो क्षेत्र खास गरि मुक्कुमलुुङ वरी परीको क्षेत्र तथा समुदायको हित र उनीहरुको आर्थिक अवस्थाका साथै विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाउन सक्छ । यसले मुक्कुमलुङको पवित्रता, मुन्धुमी तथा सांस्कृतिक मुल्य र मान्यतालाई बचाएर त्यहा विभिन्न सिर्जनात्मक बिकासका कार्य गर्न सक्ने ढोका खोल्दछ ।
लेखक: लिम्बू थरगत सहजीकरण समूहको संयोजक हुनुहुन्छ ।