पवित्रहाङमा कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

माङ्सेबुङ,१४ माघ/  इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा आगामी २०८० माघ २४ देखि फागुन २ गतेसम्म सञ्चालन हुने १४ औं पवित्रहाङमा कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६८ औं जन्मोत्सवको अवसरमा आयोजना गरिएको पबित्रहाङमा कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना महान सेवा समारोहले आयोजना गरेको खेलकुद कार्यक्रमको संयोजन भने आत्मा पवित्र हक्चात यक्चुमको रहेको छ ।

प्रतियोगितामा नेपाल, भारत र भूटान गरी ८ टीमको सहभागिता रहेको हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएको छ ।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटनको दिन माघ २४ गते माङसेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबीच खेल हुनेछ । २५ गते कन्काई नगरपालिका झापा र वि.वाई.सी भूटानबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसरीनै २६ गते एमएफसी दार्जिलिङ भारत र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसैगरी २७ गते जनसहयोग युवा मोरङ र दीपेन्द्र शिखर फुटबल क्लब इलामबीचको खेल हुने तालिका सार्वजजिक गरिएको हो ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर