झापामा गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार स्थापना गरिने

झापा / साहित्यकार तथा इतिहासकार इमानसिं चेम्जोङको जन्मवार जनवरी १ तारिख तद्नुसार पुस १६ गते प्रदान गर्ने गरि झापामा दिवंगत झापाका बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार स्थापना गरिने भएको छ ।

सोमबार किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखाको कार्यलयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिवालयले निर्णय गरे अनुसार यस वर्ष झापावासी लेखक र सर्जकहरूले किरात लिम्बू/याक्थुङ जातिको धर्म, संस्कार, संस्कृति, भाषा, साहित्यको खोज अनुसन्धान गरेका साहित्यिक र खोज–अनुसन्धानमुलक वर्ष उत्कृ्ट कृतिलाई पुरस्कृत गरिने भएको छ । यसै वर्षदेखि वितरण गर्ने गरि स्थापना गरिएको गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कारको साहित्यकार दुर्गा नेम्बाङको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरि जिम्मेवारी तोकिएको समेत जनाइएको छ । समितिको सदस्यहरूमा साहित्यकार सेसेमी से–नाल्बो र रचना लाओती तोकिएका छन् ।

सोमबार बसेको सचिवालय बैठकले पुस ३, ४ र ५ गते गर्ने भनिएको स्थगित तीनराते तङसिङ अनुष्ठान आगामी माघ अन्तिम हप्तामा सञ्चालन गर्ने गरी तिथि मिति तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी उच्च लिम्बू/याक्थुङ भाषा शिक्षा अन्तरर्गत सञ्चालन गरिएको कक्षा ११ को शै.स. ०७९÷८० को परीक्षामा बोर्डले सिफारिस गरे वमोजिम सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्र योमन लिम्बू र छात्रा सेमी लिम्बूलाई किरात याक्थुङ चुम्लुङ क्यानडाको छात्रवृत्ति कोषबाट वितरण हुने छात्रवृत्ति जनही रू. १५ हजारका दरले किरात याक्थुङ चुम्लुङ संघीय समितिको समन्वयमा किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ शाखाद्वारा कमल–३ आदिवासी रङगशालामा आयोजित चासोक तङनाम तथा ३१९औं सिरिजङगा जन्म–जयन्ती समारोहमा वितरण गरिने भएको छ ।

बैठकले नियारा प्रोडक्शन सिक्किमद्वारा डिसेम्बर १३ देखि १६ तारिखसम्म सिक्किम रानीपुलमा आयोजित अन्तराष्ट्रिय केःलाङ प्रतियोगितामा प्रथम हासिल गरि विजेता टिम नेपाल झापाका किरात याक्थुङ चुम्लुङ कमल–३ केर्खा केलाङ समूहलाई किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाद्वारा कमल–३ आदिवासी रङगशालामा आयोजित संयुक्त चासोक तङनाम तथा ३१९ औं जन्म–जयन्ती समारोहमा सम्मान गर्ने समेत निर्णय गरिएको जनाइएको छ ।
बैठक किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर