झापामा तीनराते तङसिङ अनुष्ठान गरिने

झापा/ किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखाको आयोजनामा तीनराते तङसिङ कार्यक्रम आयोजना गरिने भएको छ ।

शनिबार जिल्ला शाखामा बसेको नियमित बैठकले निर्णय गरे अनुसार आगामी पुस ३, ४ र ५ गते तीनराते (तीनदिने) तङसिङ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

याक्थुङ जातिको परम्परागत धार्मिक अनुष्ठान मध्ये तङसिङ अनुष्ठान लोपोन्मुख अवस्थामा पुगेकोले त्यसलाई जिवन्त गराउँदै लैजाने मूल उद्धेश्यका साथ तङ्सिङ कार्यक्रम गरिने जिल्ला शाखाले जनाएको छ ।

कार्यक्रम अनुसार आगामी पुस ३ गते झापाभरिका लिम्बूहरुको सुम्बुगेन हुक्वा (भेटी) सङकलन गरि गाली सराप बहन्ती गर्ने, पुस ४ गते सावाला साम्बाद्वारा मुन्धुम वाचन गरि तङसिङ अनुष्ठान गरिने र पुस ५ गते फुङवा चाङमा, चाेत्लुङ लेप्मा, खिम्बुङ का:क्मा, थाम्चोखिवे चो:त्लुङ उठाई सम्पूर्ण झापाबासी लिम्बूको फुङवा चाङ्मा अनुष्ठान गरिने र पुस ६ गते चुम्लुङ शाखालाई जग्गा र भवन दान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङ्बुहाङको ९४ औं जन्मजयन्ती भव्यताका साथ मनाउँदै तङसिङ अनुष्ठान समापन गरिने छ ।

बैठकले उल्लेखित निर्णयहरू गर्दै सम्पूर्ण नगर र गाउँ शाखालाई आगामी पुस मसान्तभित्र किरात याक्थुङ चुम्लुङको साधारण सदस्यता अभिलेख बुझाउने गरि साधारण सदस्यता निर्माण अभियान र सदस्यता नवीकरण अभियान सञ्चालन गर्न निर्देशन जारी गरिने भएको छ ।

बैठकले झापा जिल्लाभरिका नगर, गाउँ र वडास्तरसम्मको कार्य समितिसँग सुमधुर सांगठानिक सुदृढिकरणको निमित्त अनुगमन गर्ने जिम्मेवारी समेत सम्बन्धित क्षेत्रका जिल्ला सदस्यहरूलाई जिा्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

चासोक तङनाम -५०८३ को सन्दर्भमा झापा जिल्लाभरि नगर र गाउँ शाखाको आयोजनामा व्यापक रूपमा मनाउने गरि निर्देशन जारी गर्ने समेत बैठकले निर्णय गरेको कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले वताए ।

सम्बन्धित खवर