रचना लाओतीको शब्दसङगालो

  • पुष्पहाङ लोवा

झापा/पान्थर जिल्लाको तुम्बेवा गाउँपालिका– ३ मक्वामा जन्मिएर झापाको दमकलाई स्थायी कर्मथलो बनाएर निरन्तर सिर्जना कर्ममा लागिरहने स्रष्टा हुन् रचना लाओती ‘कुसाङ्’ ।

हात बाँधेर त्यतिकै बस्न कर नपर्ने अक्षर र शब्दहरूको खेती गरिरहने स्रष्टा रचना लाओतीका नटुङ्गिने यात्रा (गीतिसङ्ग्रह २०६३). जाउँला हाटैमा (गीतिएल्बम २०६३), दुर्भाग्य (उपन्यास २०६५), हितकोष (उक्तिसङ्ग्रह २०६८), प्रीतिको डायरी (कवितासङ्ग्रह २०६९), स्मृति (गजलसङ्ग्रह २०७५) र सेम्मुइ (हाःम्लाक्वा सुङ् २०७७) कृतिरत्नहरु बजारमा आइसकेका छन् । शोक छन्द (हाःम्लाक्वा पेन्युक्)मा सिर्जित सेम्मुइ कविता कृति निकाल्ने लिम्बू साहित्यिक जगतमा लाओती नै प्रथम हुन् । उनले यस विधामा इतिहास जित्ने काम गरेकी छिन् । अहिलेसम्म यस विधाबाट अरु कसैको कृति देखा परेको छैन ।

यतिखेर भने रचना लाओतीले सङ्कलन, सम्पादन गरेर लेखेको (लिम्बू – नेपाली) शब्दसङ्गालो (२०७९) मेरो हातमा परेको छ । यस पुस्तकलाई लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक झापाले प्रकाशन गरेको हो । यो पुस्तक जम्मा १४०+४=१४४ पृष्ठको रहेको छ ।

व्यञ्जन वर्ण, मात्रा, स्वर वर्ण, नौखरी, सानो अक्षर, संयुक्ताक्षर, सानो अक्षरको प्रयोग, संयुक्ताक्षरको प्रयोग, ध्वनि, एक अक्षरका शब्दहरु, अङ्क, इकाई अङ्क, गणितीय चिन्ह, गुणन, समय, क्रमसङ्ख्या, आवृतिबोधक, बार, महिना, ऋतु, दिशा, ज्योतिष नाम, ग्रह, योगिनी, तिथि, नक्षत्र, राशी, सम्बत्सर, परिवार, शरीरका भागहरु, घरमा चाहिने सामानहरुको नाम, औषधी जडीबुटीहरुको नाम, अन्नको नाम, चराहरुको नाम, माछाहरुको नाम, किराहरुको नाम, जनावरहरुको नाम, बोटबिरुवाहरुको नाम, झारहरुको नाम, फलहरुको नाम, सब्जीको नाम, फूलहरुको नाम, शैक्षिक नाम, रोगहरुको नाम, विज्ञानका शब्दावलीहरु, सम्मानित नाम, साङ्गठनिक पदाधिकारीको नामहरु, लिम्बू भाषमा नामहरु, कृषि सम्बन्धी र साहित्यिक शब्दहरु यसरी विभिन्न विषयमा लेखिएको शब्दसङ्गालो निकै उपयोगी र महत्वपूर्ण भएको छ ।लिम्बू र नेपाली दुईवटा भाषामा लेखिएको यस पुस्तक सिकारु र अन्य पाठक, जिज्ञासु सबैको लागि उपयोगी भएको छ । यस पुस्तकबाट धेरै कुरा सिक्न जान्न सकिन्छ ।

तथापि यसो हुँदाहुँदै पनि कतै कतै प्राविधिकि समस्याले हो कि केही अलमल परिने अवस्था पनि देखापर्छ । जस्तैः विज्ञान शब्दावलीलाई लिम्बूमा लागाप्चिक् भनेर बुझिन्छ भने यहाँ ताजिक् उल्लेख भएको छ । ताजिक् भनेको प्राचीन भनेर अहिलेसम्म बुझिँदै आएको छ । कुनै कुनै ठाउँमा चिन्हहरुको प्रयोगमा त्रुटि देखिन्छ । आगामी संस्करणमा यी त्रुटिहरुलाई सच्याएर प्रकाशन गरे सुनमा सुगन्ध थपिने निश्चित छ । सर्जक रचना लाओतीको कलम अविराम दौडिरहोस् शुभकामना ।