तुम्बाहाङफे र थाङदेनद्वारा पोक्लाबाङ यकलाई दुई रोपनी जग्गा निशुल्क प्रदान

  • पोक्लाबाङ समाचार कक्ष

फेदाप/ पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ, फेदाप संस्थालाई दुई रोपनी जग्गा निशुल्क रूपमा सम्सेर तुम्बाहाङफे र उत्तमसिं थाङदेन तथा उहाँको छोरी निङवा थाङदेनले प्रदान गरेका छन ।

फेदाप गाउँपालिका वडा नं. १ पोक्लाबाङमा रहेको दुई रोपनी जग्गा दुइजनाले संस्थालाई निशुल्क प्रदान गर्नुभएको हो । समाज सेवामा समर्पित तुम्बाहाङफे र थाङदेन अहिले हङकङ र काठमाडौ बस्दै आउनुभएको छ ।

पोक्लाबाङमा अहिले फेदाप पोक्लाबाङ संग्राहलय निर्माणको लागि संघीय सरकारको सहरी विकास मन्त्रालयबाट १ करोड रुपैया बजेट विनियोजन भइ डिपिआर निर्माण भइसकेको छ । उक्त संग्रहालय निर्माणको लागि पनि संस्थालाई जग्गा आवश्यकता खड्किएको समयमा उहाँहरुले जग्गा उपलब्ध गराउनु भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप १८ थरी फेदाप्पे लिम्बुहरुको प्रतिनिधिमुलक एउटा सामाजिक संस्था हो । यसले लिम्बू जातिको भाषिक, धार्मिक तथा सांस्कृतिक पक्षमा काम गर्दछ । यसरी सामुदायिक हितमा काम गर्ने संस्थालाई जग्गा उपलब्ध गराएर तुम्बाहाङफे र थाङदेनले ठूलो पुन्यको काम गर्नुभएको छ ।

जग्गा प्रदान गर्ने सम्सेर तुम्बाहाङफेले यो हामीले उपलब्ध गराएको जग्गा सिङ्गो फेदापको सांस्कृतिक विकासमा प्रयोग होस भन्ने आशा राखेको कुरा बताउनु भयो । त्यसैगरी उत्तमसिं थाङदेनले आफू किरात याक्थुङ चुम्लुङमा लामो समय काम गरेकोले गर्दा अझै लिम्बू समुदायको क्षेत्र धेरै काम गर्नुपर्ने भएकोले बाकी कामको केही अंश यो संस्थाले गर्न सकोस भन्ने हेतुले जग्गा प्रदान गरिएको जानकारी गराउनुभयो ।

यसरी सामाजिक व्यक्तित्वहरुबाट जग्गा उपलब्ध हुनु संस्थाको लागि सौभाग्यको कुरा भएको पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङ्बाङ्ले जानकारी गराउनु भयो ।