फेदाप र मेयङलुङमा याक्थुङ पहिचान सम्बन्धि कार्यक्रम सम्पन्न

मेयङलुङ, १६ कातिक/ तेह्रथुम जिल्लाको फेदाप गाउपालिका र मेयङलुङ नगरपालिकामा लिम्बू जातिको पहिचान, संस्कृति र मुन्धुम सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका आदिम जाती लिम्बुहरुको अवस्था उनीहरुको मौलिक संस्कार संस्कृति, इतिहास, पहिचान र मुन्धुम बिषयक अन्तरक्रियात्मक छलफल सम्पन्न भएको हो ।

फेदापमा पोक्लाबाङ यक माङगेन्न लुङधुङ थामरुङ फेदाप संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने तेह्रथुमको सदरमुकाम मेयङलुङमा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको आयोजनामा सम्पन्न भएको छ ।

खास याक्थुङ लिम्बुहरुको मौलिक संस्कार संस्कृति र मुन्धुम के हो? अहिले लिम्बुहरुले आफ्नो मौलिकतालाई पछ्याइरहेका छन कि छोड्न थालिसके? आफ्नो संस्कार, संस्कृति संरक्षण गर्न के गर्नु पर्छ? लिम्बुहरुको पहिचान के हो? किरात के हो? लिम्बू इतिहासको फेहरिस्त के छ? वर्तमान चलिरहेको पहिचानको आन्दोलनलाई कसरी सफल बनाउनु पर्छ? माङगेन्ना यक र थामरुङ के हुन? लगायतका बिषयमा छलफल कार्यक्रम केन्द्रित भएको थियो । छलफल कार्यक्रमको मुख्य स्रोत व्यक्ति मुन्धुम एकाडेमीका संयोजक तथा मुन्धुम अध्येता डी.बि. आङबुङको सहजीकरण रहेको थियो । विभिन्न बौद्धिक व्यक्तित्वहरुको उपस्थित रहेको कार्यक्रम परिणाम मुखी बनेको छ । यो कार्यक्रममा अन्योलमा रहेको लिम्बू समुदायका धर्म, संस्कृतिमा समेत छलफल गरिएको छ । छलफल कार्यक्रमहरुले सबै लिम्बुहरु एकजुट भएर आफ्नो पहिचान र अस्तित्व संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सबै क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रम दुबै संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।