✍️ काजीमान पालुङ्वा
ताप्लेजङ/ यो तस्बिरको ओरिजनल फोटो मसँग सुरक्षित छ ।
यो ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका -३ मा अवस्थित सिम्ले ,मेदिबुङ , ढाड्गाउ , बाटोघर , अम्बोटे आगेदिम तिरका २५ सुब्बाले गरिने मौलोको तस्बिर हो । हिजो २/४ जना मेरो गाँउका साथीहरूले यो फोटो लगाएर पालुङ्वाहरुले यति रमाइलो मौलो गर्न छोडे भनेर लेखेको पनि देख्न पाए । यसको बारेमा म यहाँ थोरै कुरा लेख्न चाहन्छु ।
पहिलो कुरा सुब्बा भनेका को थिए भनेर थाहा पाउनु जरुरी छ । पालुङ्वा बंशको पहिलो जिम्मावाल ढाडगाउँ ,बाटोघर , कौसिघरको पुर्खा भर्तमान हुन । उहाँले साल्बोटे खेत भिर्कुनाको र जामुने खेत खाल्टे बेसि पुछारको ठोक्रे बेसि छेउको खेत रण बहादुर शाहको सरकारलाई चडाएर राई गिरि पदल्याएका थिए ।
यसरी ल्याए पछि रैतिहरु राख्नु पर्थ्यो र गुरागाईं , भट्टराई , चापागाई, बराल , गौतम , पौडेल ,भुजेल ,सार्की , दमाई , मगर , कामी , सुनुवार घिमिरे , गिरि ,पुरी आदिलाइ रैतिको रुपमा राखी तिरो उठाएर सरकार बुझाउनु पर्थ्यो । हो यसै समय देखि मौलो पनि गर्न थालिएको हो । यस क्षेत्रको सम्पुर्ण जग्गा जमिन पालुङ्वाहरुको किपोट हो ।
पछि गएर सिम्लेको रैनसिङ पालुङ्वाले ६० मुरिको खेत सरकारलाई चडाएर सुब्बा जिम्मा ल्याएका थिए । ६० मुरिको खेत चडाउदा ताङ्सोभा खलक वा ढाडगाउको किपट त्रिसट्ठी खेत चडाएछ्न, पछि धेरै बर्ष उनीहरुसंग चैनपुरमा मुद्दा गरेका थिए तर यो सरकारमा चडाइ सकेको हुनाले फिर्ता भएन । सरकारलाई चडाइ सकेको जग्गा र रैतिलाई राख्न दिएको जग्गा रैकर भएर जान्थ्यो । रैकर जग्गा विक्री हुन्थ्यो भने किपट जग्गा पास हुदैनथ्यो । यस्तो कुरा आजभोलिका कसैलाई पनि थाहा छैन । पछि सुब्बा पद राणाहरुको पालामा ६० मुरिको खेत चडाउन सक्ने पालुङ्वाहरु सुब्बा थपिदै गए र मेदिबुङ , सिम्लेमा जम्मा २४ सुब्बा भए । हो यिनै २४ सुब्बाले आ-आफ्नो रैतिलाई मौलो भेटी उठाएर मौलो गर्नु भनी राणाहरुबाट हुकुम भएको मुताबिक यो मौलो गरेको थियो । एउटा नगरनिशान मेदिबुङमा थियो । अर्को सिम्लेमा थियो र अर्को अम्बोटेमा थियो । दशैमा औसिको दिन देखि बिचरा हाम्रो गाउँका दमाईहरु सुब्बाको घर – घरमा नरसिङहा , सनही बजाउन आउथे । घर-घरमा पढ्न जान्नेहरुले मालसिरी पढ्थे । मैले पनि माल्सिरी पढेको छु । जसमा नवदुर्गा , काली , नवदुर्गा भवानी राक्षस , चन्ड ,मुण्ड , निसुम्भ , महिसारसुर दैत्य आदिको बारेमा लेखिएको थियो ।
पालुङ्वाहरुले मौलो गर्दा एक बर्ष सिम्लेको सुब्बाहरुले राँगा ल्याउथे भने मेदिबुङ तिरकोले बोका र अर्को बर्ष सिम्लेको सुब्बाहरुले राँगा ल्याउदा मेदिबुङ्हरुले बोका ल्याउथे ।
वि.स.२०४४ सालमा नापि सकियो २०४५/०४६ सालसम्म सुब्बाहरुले रहल पहल तिरो उठाई मालमोतमा बुझाउन जान्थे त्यस पछि सम्पुर्ण सुब्बाहरुको जिम्मेवारी सरकारबाट खोसियो । २०४६ चैत्र अन्तिममा आएको बहुदलीय ब्यबस्थाको परिवर्तनको कारणले यो मौलो गर्न २४ सुब्बाहरुले पनि छोडेका हुन । गाउँका अन्य जातिले पनि सुब्बाहरुले हाम्रो पैसा उठाएर मौलो गर्ने भन्ने आरोप पनि लगाएका थिए तर अहिले चाहिँ गाउँका साथीहरु त्यो मौलोको सम्झना गर्छन रमाइलो गर्नको लागि उत्सुक हुन्छन ।
मैले धेरै पटक लेखेको छु तर काजिमान पालुङ्वा जातिय कुरा गर्न थालेको छ भनेर धेरैले कमेन्ट गरेको देखेको छु तर मैले यथार्थ कुरा दिन खोजेको हु । म सँग भर्तमान पालुङ्वा देखि अन्य सुब्बाहरुले प्राप्त गरेको कागजहरु सुरक्षित छन । यो पनि मैले मेरो बडाबाबु सुब्बा हुनुभएकोले उहाँको सुब्बागी सकिए पछि छरपस्ट हुने गरि फाल्नु भएको थियो र मैले काम लाग्छ होला भनेर बटुलेर राखेको थिए र अझै राखेको छु । केही कागजको प्रतिलिपी भु.पु. सिडियो भान्जा भागिराज इङ्नामलाई पनि दिएको छु र केही प्रति तेह्रथुम लालिगुँरास नगरपालिकाका मेयर अर्जुनबाबू माबुहाङलाई पनि दिएको छु । सिम्लेको नगर निशान स्व: आगे सुब्बा चतुरमान पालुङ्वाको छोराहरु , मेदिबुङको आहालेकोमा र अम्बोटेको डम्बर पालुङ्वाको छोराहरुको हुनु पर्ने हो । यो उहाँहरु नै जानुन । अब पालुङ्वाहरुले मौलो कदापी गर्ने छैनन यसमा म जन्मेको गाउँको साथीभाइहरुले गुनासो नगर्नु पनि होला ।