हाम्रो मुन्धुम पत्रिका विमोचन

  • मुसाहाङ अम्याङ्सा

तेह्रथुम,२ कातिक  / तेह्रथुमको मेयङलुङबाट प्रकाशन सुरु गरिएको हाम्रो मुन्धुम मासिक खबर पत्रिकाको विमोचन आज सम्पन्न भएको छ ।

बिहिबार तेह्रथुमको मेयङलुङस्थित मेयङलुङ नगरपालिका प्रमुख संजय तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा हाम्रो मुन्धुम मासिक खबर पत्रिका विमोचन गरेको छ ।

मेयर तुम्बाहाङफेले तेह्रथुम जिल्लामा पत्रिकाको आवश्यकता भएको बेला यो पत्रिका प्रकाशन हुनु खुशीको कुरा भएको बताए । यसअघि केही पत्रीकाहरु जिल्लाबाट प्रकाशन भए पनि निरन्तरता हुन नसकेकोमा दुःखसमेत व्यक्त गरेका थिए । पत्रकारिताले निःस्वार्थ जनभावनाको कदर गर्नुपर्ने साथै निष्पक्ष र सत्य तथ्य समाचारको प्रवाह गर्नुपर्नेमा मेयर तुम्बाहाङफेले जोड गरेका थिए । सबै कुरामा सूचना र सञ्चार भएकोले गर्दा जनतालाई सुसूचित गर्न यो पत्रिका लागि परोस् भन्दै नगरपालिकाको तर्फबाट यस पत्रिकाको प्रकाशनका लागि रु. १ लाख रकम विनियोजन गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसै गरी विशेष अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लिम्बुले डिजिटल मिडियाको भन्दा छापा मिडियाको महत्त्व धेरै रहेको बताएका थिए । उनले सजिलो र सरल मिडिया डिजिटल भए पनि अध्ययनको स्रोतका लागि छापा मिडियाको आवश्यकता त्यतिकै महत्त्वपूर्ण रहेको कुरा औल्याउँदै यो पत्रिकाले त्यस कार्यको पुर्ति गर्ने कुरामा विश्वास रहेको बताए ।

तेह्रथुमको मेयङलुङ नगरपालिका -३ जिरिखिम्ती स्थित लाक्चम चौकमा कार्यालय रहने गरी पत्रिका प्रकाशन गरेको हो ।


पत्रिकाको सम्पादक तथा प्रकाशकमा विष्णु कुमार हुक्पा चोङबाङ (सेसेहाङ) रहेको छ भने सह सम्पादकमा लाल अन्जान सम्बाहाङ्फे, कार्यकारी सम्पादकमा राजकुमार तेयुङ तरेवा र व्यवस्थापकमा साम थाम्देन रहेको छ । पत्रिका प्रत्येक महिनाको एक गते प्रकाशित हुने र पृष्ठ १२ पेज रहेको छ पत्रिका पाँच सय प्रति छापिने प्रकाशक चोङबाङले वताए ।

कार्यक्रममा मेयङलुङ नगरपालिकाका प्रबक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशका उपाध्यक्ष टंकमाया लिम्बू, बयोबृद्ध तथा समाजसेवी सर्वजीत निङलेकु, राजनीतिकर्मी कृष्ण चोङबाङ लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गरेका थिए । पत्रिकाको सल्लाहकारमा डा युवराज तेयुङ र देवेन्द्र खापुङ सुर्केली रहेका छन ।

विमोचन हाम्रो मुन्धुम पत्रिकाको प्रकाशक विष्णु कुमार हुक्पा चोङबाङ (सेसेहाङ)को अध्यक्षता सम्पन्न भएको थियो । स्वागत मन्तव्य व्यवस्थापक साम थाम्देन थाङवेनले राखेका थिए भने सञ्चालन कार्यकारी सम्पादक राजकुमार तेयुङ तरेवाले गरेका थिए ।