कृष्णविक्रमद्वारा लिखित लिम्बू इतिहास विमोचन

काठमाडौ / इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित”लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध” नामक पुस्तक आज विमोचन भएको छ ।

बुधबार ललितपुर थसिखेलको तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा-प्रतिष्ठान पुर्व कुलपति वैरागी काइलाको प्रमुख आतिथ्यतामा लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध पुस्तक विमोचन भएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता भगिराज इङ्नाम, प्राध्यापक बालकृष्ण माबुहाङ, साहित्यकार राधिका हुक्पा चोङ्बाङ, येहाङ लाओती, युग पाठक, कियाचु केन्द्रीय अध्यक्ष/प्राध्यापक प्रेम येक्तेन,कियाचु पुर्व केन्द्रीय अध्यक्ष अर्जुन नुगो, डा. कमल तिगेला,राम मादेन लगायतको उपस्थिति रहेको छ ।

नेम्बाङले पुस्तकमा लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध केलाएका छन् । यसमा लिम्बू जातिको हुन् र कस्तो मिश्रण छ भनेर देखाएका छन् । अर्को अध्यायमा लिम्बू र इलाम तथा सिक्किमका लेप्चा जातिबीच रहेको ऐतिहासिक सम्बन्धलाई पनि मिहीन रूपमा प्रस्ट्याएका छन् । उनले अर्को अध्यायमा विजयपुरका विजयनारायणको पहिचान खुट्याउने प्रयास समेत गरेका छन् ।

मुन्धुम एकेडेमीले प्रकाशित गरेको पुस्तकलाई मुन्धुमविद डी.बी. आङ्बुङले सम्पादन गरेका छन् । २ सय पेजको उक्त पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।