झापामा चुम्लुङको सप्ताहव्यापी कार्यक्रम समापन, जिल्ला उत्कृष्ट केलाङ् समूह विर्तामोड घोषित

झापामा / किरात याक्थुङ चुम्लुङको ३५ अौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम झापामा आइतवार समापन भएको छ ।

चुम्लुङ स्थापनाको दिन भदौ १७ गतेलाई केन्द्रविन्दू मानी भदौ १० गते शुभारम्भ गरिएको सप्ताहव्यापी कार्यक्रमलाई विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसको सभाहलमा अाइतवार समापन गरिएको हो ।

समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य, पूर्व सचिव, वर्तमान संघीय सल्लाहकार तथा नायक नरप्रसाद लुम्फुङ्वाले सप्ताहव्यापी कार्यक्रमको समापन गर्नुहुँदै किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर शाखाद्वारा प्रस्तुत केलाङ् समूहलाई जिल्ला उत्कृष्ट-२०८० घोषणा गर्नुभयो ।

प्रमुख अतिथि लुम्फुङ्वाले चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा भदौ १६ गते आयोजना गरिएको जिल्लास्तरीय केलाङ् प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो भएका ४ वटा केलाङ् समूहलाई क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाण-पत्र प्रदान गर्नुभयो ।

यसैगरी प्रमुख अतिथि लुम्फुङ्वाले श्रीमती खेममाया सिङ्गक् आङ्बुहाङ् अक्षयकोषबाट छात्रवृति प्राप्त गर्नुहुने काकडभिट्टा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत फुङ्सा लिम्बूलाई नगद रू. १० हजार, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषबाट छात्रवृत्ति प्राप्त गर्नुहुने बालकल्याण माध्यमिमक विद्यालय मेचीनगर-५ मा कक्षा ६ मा अध्ययनरत स्नेहा लिम्बूलाई नगद रू. १० हजार र किरात याक्थुङ चुम्लुङ सहयोग कोषबाट छात्रवृत्ति प्राप्त गर्नुहुने सरस्वती मा.वि. कमल-७ मा कक्षा ९ मा अध्ययनरत सिम्रन लिम्बू र चन्द्रभानु ज्योति मा.वि. भदरपुर-३ मा कक्षा १० मा अध्ययनरत कुद्विमान लिम्बूलाई जनही ५ हजारका दरले नगद सहित प्रशंसा पत्र प्रदान गर्नुभयो ।

किरात याक्थुङ चुम्लुङमा योगदान गर्नुहुने दर्जनौं महानुभावहरूलाई सम्मान गर्नुहुँदै प्रमुख अतिथिले किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड-५ इन्द्रेणी टोललाई नगद रू. १० हजार ५ रूपैयाँ सहित प्रोत्साहन पत्र प्रदान गर्नुभयो ।

झापा जिल्लाभरिका संगठन विस्तारमा उत्कृष्ट ठहरिएका कियाचु मेचीनगर शाखा र अक्षयकोष निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने कियाचु विर्तामोड नगर शाखालाई सम्मान पत्रद्वारा सम्मान प्रमुख अतिथिले गर्नुभयो ।

किरात याक्थुङ चुम्लुङको विशिष्ट संरक्षक सदस्य बन्नुभएका र कियाचु शिवसताक्षी ३ नं. वडा शाखालाई १ कट्ठा १० धुर निशुल्क जग्गा प्रदान गर्नुहुने दम्पतिद्वय दुर्गाप्रसाद सम्बाहाङ्फे र धनमाया तुम्वापो सम्बाहाङ्फेलाई प्रमुख अतिथिले अभिनन्दन गर्नुभएको थियो भने चुम्लुङलाई संस्थागत योगदान पुर्याउनुहुने महानुभावहरू दमक-१ का राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ् सम्बाहाङ्फे, दमक-२ निवासी कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मुलाई सम्मान गर्नुभएको थियो ।

त्यसैगरी समारोहमा प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलनमा घाईते भएका र पक्राउ परेका योद्धाहरू कमल-३ निवासी नरेन हाङ् लिम्बू, कमल-२ निवासी खड्ग पन्गेनहाङ्, दमक-५ निवासी मनकुमारी बेघा, दमक-९ निवासी जिल्ला चुम्लुङ सदस्य बन्दना नेम्बाङ् र अर्जुनधारा-६ निवासी चन्द्र साँबालाई प्रमुख अतिथिले विशेष सम्मान गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि लुम्फुङवाले याक्थुङ/लिम्बू जातिको साझा संस्थाको रूपमा वि.स. २०४६ सालमा स्थापना गरि हालसम्म भईरहेको चुम्लुङका गतिविधीहरूको वारेमा विस्तृत बेलि विस्तार सुनाउनुभयो ।

वहाँले भन्नुभयो- “हामीले चाहेको जस्तो, सोचेको जस्तो चुम्लुङ जिवन्त रहेर संगिन घडिमा पनि चुम्लुङले सारा याक्थुङ/लिम्बू जातिको धर्म, संस्कार, भाषा, साहित्य, संरक्षण र संबर्द्धन गर्दै मौलिक हक अधिकारप्राप्तिको लडाँईमा अग्रणी भूमिका खेलिरहेको पाउँदा अत्यन्तै हर्षित भएको दर्शाउनुहुँदै सम्पूर्ण याक्थुङ/लिम्बूहरू चुम्लुङमा आबद्ध भई आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, भाषिक, साहित्यिक र सांस्कृतिक उन्नति प्रगतिमा अग्रसर हुन अाव्हान गर्नुभयो ।

विशिष्ट अतिथित्रय कियाचु संघीय सदस्य, कियाचु झापा सल्लाहकार तथा विर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे र नेपाल आदिवासी जनजाति महासघ (नेफिन) झापाका अध्यक्ष पाण्डवलाल चौधरीले किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा देशविदेशमा रहनुभएका समस्त मानवमा शुभकामना व्यक्त गर्नुहुँदै देशमा पहिचान पक्ष र पहिचान विरोधीकोबिच शीत युद्ध सुरु भएको संकेत गर्नुभयो । यस्तो परिस्थितिबाट सम्प्रदायलाई जोगाएर धार्मिक र जातीय द्वन्द्व हुन नदिन चुम्लुङले अपनाएको सांस्कृतिक जगेर्नाको आन्दोलनको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो ।

समारोहमा राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर चवेगु, पूर्व जिल्ला सदस्य भरत आङ्देम्बे, भक्त खेवाङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ ३५औं स्थापना दिवस समारोह झापाका संयोजक तथा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा सम्पन्न चुम्लुङ स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम समापन समारोहमा किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर शाखाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड-५ का पालामी अभियन्ता माङ्गेन्ना चेलिहरूको पालामी गुञ्जायसँगै प्रारम्भ भएको कार्यक्रममा राष्ट्रिय गायिका गंगा फियाक लिम्बू र याक्थुङ स्टारका फाइनललिष्ट दिलीप माखिमको बेजोड सांगिती प्रस्तुति रहेको कार्यक्रम फरक आयामका कवि साङ्सेन पन्दाक र सञ्चारकर्मी भूमिका फियाकले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर