नन्द कन्दङवा
सन्दर्भ
हामीकहा राष्ट्र (Nation), राष्ट्रियता (Nationality), जाति (National) र जातिय समुह (Ethnic group) भन्ने शव्द र तिनीहरुले दिने अर्थबारे अझै पनि कतिपयमा अलमल (Confusion) रहेको छ । यहा त देशलाई राष्ट्र (Nation) बुझ्नेहरु पनि छन । कोही समग्र नेपाली जनतालाई राष्ट्र (Nation) बुझ्नेहरु पनि छन । हाम्रो संविधानले पनि समग्र जनतालाई राष्ट्र (Nation) भनेर परिभाषा दिएको छ । यसको अर्थ नेपाली जनता नै राष्ट्र र राष्ट्र भनेकै नेपाली जनता हो भन्ने अर्थ लगाउन खोजिएको छ । यसले नेपाली जनता के कस्ता नेपाली जनता छन भनेर भन्दैन ।
यहा राष्ट्रियता (Nationality) भनेको देशको अस्तित्वसंग सम्बन्धित कुरा हो भनेर बुझ्नेहरु पनि छन भने नेपाललाई चिनाउने भौतिक तथा अभौतिक कुराहरु राष्ट्रियता हो भनेर बुझ्नेहरु पनि छन । कतिपयले जाति (National) लाई खास मानव समुहकोरुपमा बुझ्ने गर्दछन । यसैलाई कतिपयले जाति र अंग्रेजीमा नेशानालिटी (Nationaliity) भन्ने गर्दछन । धेरैले सबै जाति तथा राष्ट्र र राष्ट्रियतालाई जातिय समुह (Ethnic group) कोरुपमा बुझ्ने गर्दछन । त्यसैले, प्रयोग गरिने यि शव्द र तिनको अर्थ के हो भनेर बहस हुन जरुरी भएको छ ।
राष्ट्रको वास्तविक अर्थ र बुझाई
यि शव्द र तिनको अर्थ सम्बन्धमा विभिन्न विद्धानहरुको आ–आफ्नै बिचार तथा राय रहेका छन । ति मध्ये पश्चिमा देशहरु सहित धेरैले स्विकार गरेको एउटा बिचार तथा राय चाही देश भनेको भौगोलिक ईकाई हो, राष्ट्र भनेको सांस्कृतिक ईकाई हो र राज्य भनेको राजनीतिक ईकाई हो भन्ने रहेको छ । यसबाट देश भनेको राष्ट्र होईन भन्ने स्पष्ट बुझिन्छ । तर पन्चायतकालिन समयमा भने जस्तो “एक जाति एक धर्म एक देश, एक भाषा एक संस्कृति एक भेष” भयो भने चाही देशले राष्ट्रकोरुप ग्रहण गर्दछ अर्थात देश र राष्ट्रमा फरक छुट्टिन्न । यस अवस्थामा देशको अस्तित्व नै राष्ट्रियताको अर्थमा जोडिन आउछ । यो भनेको एकल राष्ट्र राज्यको अवधारणा हो ।
राष्ट्र भनेको सांस्कृतिक ईकाई भन्ने राय तथा बिचारले हरेक सांस्कृतिक ईकाइ राष्ट्र हुन्छ । यसले आर्थिक सम्बन्ध र बर्गको आधारमा विभिन्न समयको समाज विश्लेषणबाट आएको राष्ट्रको बुझाईलाई मान्दैन । उक्त बिश्लेषण अनुसार आदिम साम्यवादी समाज, गण, कबिला, जाति र राष्ट्र विकास हुदै आए अनुसार राउटे चाही कबिला र नेवार चाही राष्ट्र हुन्छ । तर राष्ट्र भनेको सांस्कृतिक ईकाइ हो भन्ने राय तथा बिचार अनुसार सबै मानव समुह राउटे देखि नेवारसम्म राष्ट्र नै हुन्छन । हरेक राष्ट्र निश्चित भूगोल या भौगोलिक भूभागसंग सम्बन्धित हुन्छन । यो चाही मानव समुहले बिकास गरेका भाषा, संस्कृति तथा जीवन पद्धति लगायतका तत्वहरुका आधारमा गरिएको विश्लेषण र निकालिएको निश्कर्ष हो । यो भनेको बहुल राष्ट्र राज्यको अवधारणा हो ।
राष्ट्रियता, जाति र जातिय समुह
अंग्रेजी शव्द नेशनालिटी, नेशनल, ईथ्निक ग्रुप (Nationality, National/nationality, Ethnic group) लाई बर्णाश्रम प्रभावित मुलुकहरु खास गरि भारतिय उपद्धिपमा अनुवाद गर्दा राष्ट्रियता, जाति र जातिय समुुह भन्ने शव्दहरु आएकोबाट समस्या भएका हुन । माक्र्सवादी स्कुलबाट आएको जातिलाई हामी धेरैले राष्ट्रसंग सट्टापट्टाकोरुपमा (Interchangeably) प्रयोग गर्यौ र जाति नै राष्ट्र हो भन्न पुग्यौ, अझै पनि भन्दै आएका छौ । त्यसैले, नेपालमा बर्णाश्रम व्यवस्था भित्रका जातवालाहरुलाई जातजाति भनियो भने बर्णाश्रम भन्दा बाहिर अर्थात जातसंग सम्बन्ध नभएकाहरुलाई जनजाति भनियो । आदिवासी त जातवाला पनि हुन सक्छन भने नेपालका सबै जनजातिहरु आदिवासी रहेका छन । तर सिद्धान्ततः सबै जनजातिहरु आदिवासी हुदैनन ।
नेशानालिटी (Nationality भनेको राष्ट्रसंग जोडिएको पहिचान र अस्तित्व हो । राष्ट्रियताले व्यक्ति कुन देश र कुन राष्ट्र÷समुदायसंग सम्बन्धित छ भन्ने देखाउछ । राष्ट्रहरु कुनै न कुनै देशमा रहेका हुन्छन । एक मात्र राष्ट्र रहेको देश शायदै होला । त्यसैले राष्ट्रियता देशसंग र देशको नागरिकसंग पनि जोडिन्छ । जस्तै, कुनै व्यक्तिको राष्ट्रियता लिम्बु भए देश र देशको नागरिकसंग जोडिदा लिम्बु नेपाली राष्ट्रियता बन्छ । कुनै लिम्बु भारतिय नागरिक हुन सक्छ । त्यस्तो अवस्थामा उसको राष्ट्रियता लिम्बु भारतिय या भारतिय लिम्बु भन्ने हुन्छ । यसरी नै बाहुन नेपाली अर्थात नेपाली बाहुन हुन्छ भने भारनिय बाहुन हुन्छ । मगर नेपाली हुन्छ भने मगर भारनिय हुन्छ । बर्णाश्रमी बिद्धानहरुले राष्ट्रियतालाई बुझ्ने क्रममा देश र नागरिकलाई मात्र सम्झे तर राष्ट्रलाई बिर्सन खोजे । त्यसैले राष्ट्रियताको बुझाईमा समस्या आयो । गलतढंगले देशलाई नै राष्ट्र बुझ्नेहरुले राष्ट्रियतालाई देश र देशको नागरिक मात्र बुझ्नु स्वभाविक हो । हाम्रो देशमा पनि राष्ट्रिय परिचय पत्र बनेको अवस्था छ । उक्त राष्ट्रिय परिचय पत्रमा राष्टियतामा हामीले लिम्बु नेपाली, नेवा नेपाली, मगर नेपाली लेखाउनु पर्ने हो । तर त्यस्तो शायदै भयो होला ।
नेशनल (National) भनेको राष्ट्रसंग जोडिएको कुरा हो । यो राष्ट्र शव्दबाट नै विकास भएको हो । सामान्यतया नेपालमा यसलाई जातिकोरुपमा प्रयोग गरिएको छ । यसको अर्थ राष्ट्रको बिशेषता हो । अहिलेको आधुनिक राज्य जहा विभिन्न राष्ट्रहरु मिलेर राज्य बनेको छ त्यसलाई जनाउन राष्ट्र र राज्य जोडिन्छ । नेपालको सन्दर्भमा राष्ट्रियता अभिव्यक्त गर्न र बुझ्न देश/राज्य तथा देशको नागरिक एवम नागरिक्ता बढी हावी भएको देखिन्छ । विश्वको विभिन्न देशमा जादा अरुले लिम्बु, नेवार, तामाङ, मगर, आर्य, खस नेशनल नभनेर नेपाली नेशनल भन्ने गर्दछन । नेपाली नेशनल भनिए पनि भेटघाटमा तपाई के थरी हो भनेर सोध्ने गरिन्छ । त्यो भनेको देश पछि राष्ट्रको खोजी तलासी हुन्छ । त्यसैले नेपाली नेशनलमा पनि लिम्बु नेपाली नेशनल, खस नेपाली नेशनल, मगर नेपाली नेशनल भनिनु पर्ने हो । तर यस्तो प्रचलन कम छ ।
जातिय समुह (Ethnic group) भनेको भाषा, संस्कृति र विश्वास प्रणाली भएका र तिनलाई अभ्यास गरि आएका मानव समुह हुन जस्को परम्परागत भौगोलिक भूमी हुदैन । परम्परागत भौगोलिक भूमी भए त्यो राष्ट्र हुन्छ जसलाई नेपाली शव्दावलीमा जाति पनि भन्ने गरेका छन । सारमा जाति र राष्ट्र एउटै होईन । उदाहरणको लागी बाहुन भनेको बर्ण व्यवस्था भित्रको एक जात हो तर यसलाई जातिय समुहको हिसावले जातजाति भनियो । यथार्थमा बाहुन लगायत केही समुह जस्को परम्परागत भौगोलिक भुमी छैन तिनीहरु जातिय समुह (Ethnic group) हुन । यस बाहेकका अन्य समुदाय जस्को परम्परागत भौगोलिक भूमी रहेको छ तिनीहरु सबै राष्ट्र हुन । तर सबैलाई ईंकित गर्न भने विभिन्न जातिय समुह पनि भन्ने गरिएको छ ।
अल्पसंख्यक (Minority) समुह भनेको जातिय समुह (Ethnic group) भित्रका कम संख्याका समुदाय हुन जस्को राज्यका पहुच छैन र उत्पीडित तथा सिमान्तकृत अवस्थामा रहेका हुन्छन । नेपालको सन्दर्भमा मुस्लिम धार्मीक अल्पसंख्यक हुन भने आदिवासीमा नपर्ने र खस आर्यमा नपर्नेहरु अल्पसंख्यक हुन । यस्ता समुदायमा शिख लगायतका समुदायहरु अल्पसंख्यकमा पर्दछन । दलित र दलित भित्रका विभिन्न समुहहरु अल्पसंख्यक हुन । तर दलितहरु दलित समुदायकैरुपमा रहेकोले र छुट्टै समुहकोरुपमा मान्यता प्राप्त गरेको र त्यसैको आधारमा सुविधाहरु पाईरहेकोले अल्पसंख्यक समुहमा रहने या नरहने भन्ने कुरा दलितहरुकै निर्णयको कुरा हो । एउटा कुरा दोहोरो सुविधा कसैले पनि लिन हुन्न र दिन पनि हुन्न । दोहोरो तेहोरो सुविधा लिने प्रवृतिलाई निरुत्साहित गरिनु पर्ने हुन्छ ।