फोनिज २४ औँ स्थापना दिवसमा छ प्रतिभा सम्मानित

दमक २५, साउन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यस वर्ष छ जना प्रतिभालाई सम्मानित र पुरस्कृत गर्ने भएको छ ।

आफ्नो २४ औँ स्थापना दिवसको अवसर पारेर प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजना गरिने फोनिजले स्थापना गरेको राष्ट्रिय पत्रकारिता सम्मान र पुरस्कार वितरण गरिन लागिएको हो ।

यस वर्ष फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० बाट सरोकार टेलिभिजन काठमाडौंका दिलिप थापा मगर  भने फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० बाट नेपाल भाषा टाइम्स दैनिक काठमाडौं सम्मानित हुने भएको छ । त्यस्तै गरी फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० बाट किसन राई (मरणोपरान्त), हङकङ, देव पचभैया मगर, श्रीनगर एफएम, पाल्पा, जीवन लामा, कालिन्चोक सन्देश, दोलखा र उन्नति चौधरी, केर्नीन्यूज, कैलाली पुरस्कृत हुँदैछन् ।

फोनिज संघीय समितिले पुरस्कार तथा सम्मान छनोट गर्न निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहनुभएको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरिएको थियो ।

फोनिज संघीय महासचिव मिलन लिम्बूले बिहीबार जारी गरेको प्रेस नोटमा सम्मानित र पुरस्कृत प्रतिभाहरुको बारे जानकारी दिइएको छ ।

फोनिजले २८ गते आइतबार बिराटनगरमा नै पहिचानको आन्दोलन : अबको बाटो शीर्षकमा संवाद कार्यक्रममा वक्ताका रूपमा प्राद्यापक डा. महेन्द्र लाओती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक खगेन्द्र संग्रौला र वरिष्ठ पत्रकार भवानी बराल सहभागी हुने छन् ।