कति हेपिने ? कति हेपाई खाने ? कहिलेसम्म हेपाई खाने ?

                                                                                 नन्द कन्दङवा
हेपाईको ईतिहास
             नेपालमा आदिवासी जनजातिमाथी उपनिवेशकारीको हेपाई शुरु भएको लगभग २५० बर्ष भयो । दलितहरुलाई विभेद र उनीहरुमाथी हेपाई भएको हजारौ बर्ष भयो । मधेसीहरुमाथी हेपाई भएको सयौ बर्ष भयो । उपनिवेशकारीहरुको यो हेपाईको निरन्तर जारी छ । उपनिवेशकारीलाई केही मित्रहरुले ब्राह्मणवादी /बाहुनवादी जत्था त केहीले सर्वोच्चतावादी (Supramacist) त केहीले नश्लिय जातिवादी जत्था भनेका छन । सारमा यिनीहरु राज्य सत्ता तथा राज्य शासनमा बर्चस्प बनाउन पुगेका समग्र जनतालाई अन्याय र असमानता थोपर्ने जनबिरोधी तत्वहरु हुन । यिनैबाट भ्रष्टाचार, अराष्ट्रिय देशघाती कार्य, कुशासन र देशलाई खोक्रो तथा कंगाल बनाउने काम भईरहेको छ ।
आदिवासी जनजातिहरुको सन्दर्भमा कुरा गर्दा यि उपनिवेशकारीहरुले उनीहरुको राज्य र भूमी हडप्ने काम गरे । हिन्दु चाड पर्वहरु थोपरेर उनीहरुका संस्कृति सिध्याउने काम गरे । संस्कृत नेपाली भाषालाई थोपरेर आदिवासी जनजातिहरुका भाषालाई बोल्न, लेख्न र पढ्न प्रतिबन्द लगाए । उनीहरुका भाषा तथा साहित्यलाई सिध्याउने काम गरे । उनीहरुका सभ्यता र ईतिहासलाई समाप्त गर्ने काम अहिले पनि गरिहेका छन । बि.संं १९१० को राणा जंग बहादुरको मुलुकी ऐनले उपनिबेशकारीहरुद्धारा कानूनीरुपमा उपनिवेश कायम गर्ने व्यवस्थालाई मान्यता प्रदान गर्ने काम भयो । यो अन्याय, असमानता र विभेदलाई सामाजिक, सांस्कृतिक तथा कानूनीरुपमा मान्यता दिने काम हो । ३० बर्षे पन्चायति शासनकालमा ‘एक जाति एक भाषा एक दे्श, एक धर्म एक संस्कृति एक भेष’ को अवधारणागत नारालाई सार्थक बनाउन खोजियो । राष्ट्रिय एकताको नाममा राष्ट्रिय एकरुपता कायम गर्ने काम भयो । त्यो भनेको नेपाललाई एकल राष्ट्र राज्य निर्माण गर्ने र अरु सबै खाले जाति, भाषा, धर्म, संस्कृति र भेषहरुलाई सिध्याउने उपनिवेशकारी कदम थियो ।
राणा जंग बहादुरको मुलुकी ऐनमा केही संसोधन भए र नया ऐनहरु आए तर देशलाई सन्चालन गर्ने मुल नीति, सिद्धान्त र बिचार बद्लीएन संसोधन भएन । त्यहि आर्य हिन्दुको दृष्ट्रिकोणबाट चल्ने मुलुकी ऐनकै भावना र सिद्धान्तमा देशलाई हिडाउने काम भईरहयो । गाई गोरु काटेर मासु खादा राज्यको कानून लाग्ने, पक्राउन गर्ने र जेल हाल्ने काम, सित्तल पाण्डेले मगर र तामाङमा दाजु बहिनी बीच विहे गर्छन, यि समुदाय अपराधी समुदाय हुन भन्ने जस्ता अभिव्यक्तिहरु प्रतिनिधी पात्रहरु मात्र हुन । ति समुदायलाई मानव समुदाय नमान्ने घृणा एवम् जानिय हिसात्मक बिचार तथा सोच सरकारीदेखि गैरसरकारी क्षेत्रसम्म यत्र तत्र रहि रहेकै छ । यस बिचार तथा सोचलाई विभेदकारी कानूनले संरक्षण गरेको छ, प्रहरी प्रशासनले संरक्षण गरेको छ, अदालत र सरकारले संरक्षण गरेको छ भन्ने कुरा सित्तल पाण्डेलाई कार्वाही नगरि अदालतको आदेशमा तुरुन्त छोड्नु र कार्वाही गर भनेर गएका आदिवासी जनजातिका महिला तथा व्यक्तिहरुलाई दमन गर्ने, पक्रने, थुन्ने, यौन हिंसा गर्ने टेकु प्रहरी कार्वाहीले स्पष्ट गर्दछ । यसले बिगतदेखि आजसम्म आदिवासी जनजाति र उत्पीडित समुदायलाई राज्य, प्रशासन र उपनिबेशकारी जत्थाहरुद्धारा हेप्ने काम निरन्तर भईरहेको छ भन्ने स्पष्ट गर्दछ ।
हेपाईको कारण
यो हेपाईको मुल कारण उपनिवेशकारी राज्य संरचना हो, उपनिवेशकारी राज्य शासन व्यवस्था हो, उपनिवेशकारी राज्य सत्ता हो । मुल धमिलो रहेसम्म धमिलो पानी आईरहन्छ । उपनिवेशकारी राज्य सत्तालाई सबल बनाई रहने संस्कृतकरण, हिन्दुकरण र नेपालीकरणको हतियार चलेसम्म यस्ता विभेद, अन्याय, असमानता भईरहन्छ । समाबेशीको नाममा चाहे त्यो कुटनीतिक क्षेत्रको नियुक्तिमा होस, सिडीओ अर्थात प्रशासनिक क्षेत्रको नियुक्ति तथा बढुवा होस्, सबैधानिक परिषदको नियुक्तिमा होस या मन्त्रालय तथा सरकारका कर्मचारीहरुको नियुक्तिमा होस या सरकार निर्माणमा होस या अदालतको न्याय सम्पादनमा होस् यस्तो विभेद, अन्याय र असमानता भईरहन्छ । समग्रतामा कुरा गर्ने कि अंशमा कुरा गर्ने अर्थात समग्रतामा परिवर्तनको कुरा गर्ने कि सानो अंशमा सुधार या संसोधन खोज्ने कुन बाटो लिने अब निर्णय गर्ने दिन आएको छ ।
कति हेपिने र कति हेपाई खाने ? कहिले सम्म हेपाई खाने ?
हेपिने र हेपाई खाने काम पनि सयौ हजारौ बर्ष भई सक्यो । अब कहिलेसम्म हेपाई खाईरहने भन्ने प्रश्नमा मन्थन गरिनु पर्दछ । आफ्नो घरमा अर्को मालिक बनेर आए पछि स्वभाविकरुमा उसले घर परिवारका सदस्यहरुलाई हेप्छ, अन्याय गर्छ, असमानता गर्छ र विभेद गर्छ । उपनिवेशकारी भनेको चाहे आन्तरिक होस या बाह्य त्यो उपनिवेशकारी नै हो । त्यसैले, अब सद्भाव बिथोलिन्छ कि, मालिकहरु रिसाउछन कि, हामीले सबै ठेक्का लिए जस्तो गर्ने फोबियाबाट अब बाहिर निस्कनु पर्छ । घर डढाएर अरुको लागी साखिलो बन्ने काम बन्द गरिनु पर्दछ । घर भनेको आफ्नै घर हो । घर भए परिवारका आफ्ना प्रचलन जिवन्त हुन्छन । पारिवारमा सामुदायिक संस्कृतिले निरन्तरता पाउछ भने संस्कृति बलियो हुन्छ । परिवारमा बोलिने भाषाले निरन्तरता पाउछ । पारिवारीक व्यवस्थापन सहज हुन्छ । पारिवारीक एकता बलियो हुन्छ । परिवार बलियो भयो भने बैरीहरुलाई परास्त गर्न सहज हुन्छ । घर नभएको अवस्थामा परिवारको बिचल्ली हुन्छ । बाहिरीयहरुको प्रभाव र चलखेलमा बाच्नु पर्ने हुन्छ । सामुदायिक एकता टुक्रिन्छ । त्यसैले, यो हेपाईबाट मुक्ति पाउन पहिचानको लडाई लढ्न जरुरी छ ।
पहिचान भनेको प्रत्येक समुदाय, राष्ट्र, ईतिहास तथा सभ्यतालाई चिनाउने नाम पहिचानदेखि तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीको संरक्षण, सम्बर्धन र प्रवर्दन हो । यसको अर्थ पहिचान भनेको सभ्यता र ईतिहास पनि हो । सारमा पहिचान भनेको पहिचानको नामदेखि जनसमुदायको अस्तित्व रक्षा, संरक्षण सम्बर्धन, जनसमुदायको सम्बृद्धि र विकाससंगै स्वशासन र स्वायत्ततालाई जीवन्तता दिने कुरा हो । यसको अर्थ उपनिवेशकारी राज्य सत्ता, राज्य शासन व्यवस्था र राज्य संरचनालाई ध्वस्त गर्दै पहिचानका राज्य तथा ईकाईहरु खडा गरिनु पर्दछ भन्ने हो ।
लेखक ःयाक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक हुनुहुन्छ । 

सम्बन्धित खवर