प्रदेशको नाम कोशी सरकारले १ नं. प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाए

विराटनगर,२९ जेठ/  कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १ नम्बर प्रदेश पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाई प्रदेश सरकारले संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको हो ।

पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधरले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका थिए ।