प्रदेशको नाम कोशी खारेजी आन्दोलनकारी पक्षलाई वार्तामा बोलायो

  • निमा पोङ्स्युवा

विराटनगर /  प्रदेश १ नाम कोशी राखेपछि लगातार आन्दोलन गरिरहेका कोशी नाम खारेजी आन्दोलनरत पक्षलाई मुख्यमन्त्रीले वार्तामा बोलाएको छ ।

प्रदेश सरकारका प्रबक्ता समेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै -” पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र सम्बादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,भनिएको छ ।” बिज्ञप्तिमा शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ । यही सन्दर्भमा नामकरणको वारेमा रहेका आफ्‌ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गरिएको उल्लेख छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले गत फागुन १७ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन । शुरुवातिमै मुख्यमन्त्री हिक्मत कार्कि ओखलढुंगाबाट लखेटिएका थिए । पछि दमकमा हुने कार्यक्रमको स्टेज सबै तोडफोड गरिएका थिए । मुख्यमन्त्री जाने सबै कार्यक्रममा बाटो छेक्ने कालो झण्डा देखाउने नाराबाजि गर्दै आएको छ । त्यसैगरी हिक्मत कार्किको नेतृत्वलाई सघाएको भन्दै माओबादिका इन्द्र आङ्बो,एमालेका राम मगर स्थानीयले लखेटिएका छन । मुख्यमन्त्री सहित प्रदेशका जनप्रतिनिधिलाई यतिबेला कुनैपनि सार्वजनिक कार्यक्रममा निमन्त्रणा दिन छोडिएको छ । यस अवधिमा लाजेहाङले सहादत प्राप्त गरेका छन । आन्दोलनकारी धेरैजना घाइते भएका छ्न भने प्रहरी तर्फ पनि उत्तोकै घाइते भएका छन ।

विज्ञप्तिको पुर्ण पाठ:

प्रेस विज्ञप्ति मिति: जेष्ठ १६, २०८०

‘कोशी प्रदेश’ नामकरणको विषयलाई लिएर केही समय देखि भइरहेको असन्तुष्टि र विरोधका घटनाप्रति कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेशको नामकरण प्रति प्रदेशवासीको आम चासो र सरोकार हुँदा हुँदै प्रदेश सभाको अघिल्लो पाँच वर्षे कार्यकालमा तत्कालिन ‘प्रदेश नं १’ को नामकरण हुन नसक्दा नागरिक तहबाट उत्पन्न असन्तुष्टि र आलोचना प्रति हामी सबै जानकार नै छौ

नागरिक तहको यही चाहाना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजगर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशको आधारमा तत्कालिन प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दल, दलकाका नेता तथा प्रदेश सभा सदस्यहरुको अथक प्रयासबाट प्रदेश सभा ( प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जना प्रदेश सभा सदस्यहरु) का ९० प्रतिशत प्रदेशसभा सदस्यहरुको समर्थनमा प्रदेशको नामाकरण भएको व्यहोरा अवगत नै छ ।

नामाकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सार्वभौम जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको ‘आफ्नो प्रदेशको नामाकरण आफैँ गर्न पाउने संवैधानिक अधिकार हो, यही संवैधानिक अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा २९५ (२) अनुसार तत्कालिन प्रदेश नं १ को नामकरण ‘कोशी प्रदेश’ रहन पुगेको हो।

कोशी नामकरणपछि ‘कोशी प्रदेश’ नामकरण प्रति विमती राख्ने पक्षले यसको विरोधमा केही कार्यक्रमहरु गरिरहनु भएको छ । ती विरोधका कार्यक्रमहरुबाट उत्पन्न परिस्थितिको सन्दर्भमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १६ औ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वार्ता र सम्बादको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान र अनुरोध गरिसक्नु भएको छ ।

शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ । यही सन्दर्भमा नामकरणको वारेमा रहेका आफ्‌ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र सम्बादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।

सम्बन्धित खवर