मुनाराज सेर्मा
ओ महान योद्वा
तिम्रो पाइतालाहरु यहिँको
दर्शिङ ढुङ्गाले बनेको छ
जो अनवरत क्रान्तिको आगो
झोस्दै नथाकि हिड्छ
तिम्रो खुट्टाहरु यहिँको
सखुवाको अग्राठले निर्मित छ
जो हजार वर्ष शासकीय घाम
पानी थेगेर बाँच्न सक्छ
तिम्रो जाँघ यहिँको
अजम्बरी सिलाजित झैँ
पहराको मुटुबाट सिन्चित छ
जो अनेक अजम्बरी योद्धाहरु
जन्माउन सक्छ
यार्सागुम्बा झैँ फेरि बाँचेर
जीवन अर्पण गर्न सक्छ
बनेको छ यहिँको पहराले
तिम्रो काँध शताव्दी गल्ने छैन
बोकेर आफ्नो स्वत्व
तिम्रो बलिष्ठ पाखुराहरु
यहिको देब्रे लहराझैँ फनफनी घुमेर
चढ्न सक्छ असम्भव
चढाइको गन्तव्य
खेल्न सक्छ जस्तै अफ्ट्यारो
चुनौती सित
बटार्न सक्छ परक्क हरेक
समस्याको चुरोलाई
तिम्रो जिब्रो पानी हाँसको झैँ
छ जो छुट्याउँछ हिलो र पानी
बाचाल भै रहन्छ सदा
अन्यायको खिलाफ सहिदको
जिब्रो झैँ
तिम्रो आँखा बाजको झैँ छ जो
सधैं चुकाउदैन निसाना
चिम्लिदैन भयले
कुनै हारको शब्दकोष छैन
तिमिसित
नेपोलियनले झैँ बनाउने छौ
कर्मको रेखा आफै
सहिदले झैँ कोर्ने छौ मुक्तिको मार्ग
काङ्सोरे झैँ लड्नेछौ हरेक
चुनौतीसँग
तिम्रो कानहरु हर्दम सुनि
रहनेछ्न् असहायका पुकारहरु
तिम्रो ओठहरु अवस्य
चुम्नेछ्न् मानिसका दुखेका मनहरु
तिम्रो मस्तिष्क यो धर्तिकै
अब्बल हुनेछ जो सोच्छ
फरक तरिकाले
त्यहाँ सर्वत्र उमृने छ मात्र
न्याय र समानता
केहि गर्ने छैन उनिहरुको
बनावटी परिभाषित ब्याख्याले
तिम्रो ब्याख्यामा इतिहासको जग छ
सदियौ भोगेको संस्कृतीको धर्ती छ
मानवता र सहिष्णुताको
अनन्त आकाश छ
सृष्टिको उद्भवलाई गवाही
दिने तिम्रो लौकिक ईश्वरको अस्तित्व छ
तिम्रो पसिनाले निर्मित आफ्नै
लौकिक सिमेभुमे छ
रैथाने वंशको तिम्रो आफ्नै
प्रजाति छ
तिम्रो ज्ञान मिमाङ्सा यो
माटोको सजातिय उत्पादन हुन्
तिम्रो जेनेटिक अस्तित्वको
शृङ्खला यहिँको ब्रान्डेड र
स्थानिक हुन्
यो पहाड यो नदि
यो हिमाल तिम्रो आफनै हुन्
यहाँको हरेक बोट वृक्ष
नदिनाला चराचुरुङ्गी
किट्पतङ्गको तिमी लौकिक
विशेषज्ञ हौ
तिमिले नै राख्यौ हरेक स्थान
नदि र हिमालको नाम जो
कुनै अद्भुत इतिहाससित जोडिन्छ
तिमिले फलाउँदा अन्न धर्तिमा
अन्नको संस्कार नै थिएन
तिमिले गाँस्दा प्रेम धर्ती बाँझै
उदास थियो
तिमिले आफ्नै सांस्कृतिक
कानुन बनाउँदा यो सभ्यता
जंगली थियो
तिमिले नै हो छुल्ला र दर्शिङ
ढुङ्गा घोटेर आगो उत्पत्ती गरेको
तिम्रै जिब्रोले हो यहाँको
झारपात कन्दमुल फलफुल
चाखेर अर्पण गरेको हो लोकलाई
चराको सङ्गीत हावाको लय
नदिको बहाव जनावरको
गतिबाट हो
तिमिले निर्माण गरेको सङ्गीत
राष्ट्रको लागि
तिमिले नै हो बसाएको
सहिष्णु मानव सभ्यताको
इतिहास तिमिले नै उचालेको हो
जितको आकाश
तिमिले नै हो बनाएको मैत्रीवत प्रकृतिलाई
साराले बुझेको छ यो धर्तिको
न्याय मात्र तिमिले गर्न सक्छौ
तिमी त हो नि त्यो
अध्याँरोलाई हाँक दिने
तिमी नै त एक हो नि त्यो
अनिष्टलाई चुनौती दिने
तिम्रो आवाजमा ब्रह्माण्ड
गुन्जयमान हुनेछ
असल मानिस र असल
विचारहरुको स्थापनार्थ
तिम्रो सहादत समेत
आवस्यक हुन सक्नेछ
तिम्रो बलि लिन तम्सिरहेको
हुन सक्छ समय
अनवरत अनेकन अनेक
सभ्यताहरुमा तिम्रै रगत
चम्किरहेको छ
तिम्रै शिर ठ्डिन्जेल सम्म न
हो मानिसहरुको शिर
उज्यालो हुने
अरुको के कुरा गर्नु हेरन तिम्रै
माटोमा के कुनै रगत नपोखी
के कुनै शिर बलि नभै
तिनिहरु उखेलिए
उनिहरु ढले ?
मुक्ती असजिलो पनि छैन
कदापि
प्राप्ति जहिल्यै अप्राप्य पनि
नहुने होइन
यो एक अनवरत युद्ध जस्तै हो
आज नभए भोलि हुन्छ नै
दशक पछि पनि स्थापना हुन सक्छ
ए महान योद्धा
यो जुनि तेसै खेर जानू भन्दा
खास उद्देश्यको लागि त्याग्नु
तिम्रो अभिष्ट महान छ
ओ महान योद्धा१
तिम्रो अभियानको पछि
उभिएका छन् अगणित
योद्धाहरु
जो यो सभ्यताको निरन्तर
अस्तित्वको लागि तयार छन्