
- लेकाली कान्छा मुक्कुम
कैले आफ्नो भाग नपाएर रोको छ पेट
कैले आफ्नो माग नपाएर रोको छ पेट
किनकि युगौदेखि गाँस नपाएर भोको छ पेट
मेरो जायज मागमा पनि नाजायजको खोट
लागिरहेछ
बाबा मलाई भोक लागिरहेछ
हजुरको राष्ट्रवादी कविताले मेरो भोक मर्दैन
हजुरको नयाँ रेडियो र टिभिको बूढो
भजनले
मेरो तीर्खा मर्दैन
त्यसैले यो अशान्त मनमा शान्तिको गीत
गाउनु पर्दैन
खोक्रो उपदेशदेखि टाढीरहेछु
भोकै भोकले हाइ काढीरहेछु
किन हजुरबाट रुनुमा रोक लागिरहेछ
बाबा मलाई भोक लागिरहेछ
हजुरको स्कुलमा स्कुले ड्रेस छ
मैले लगाउने भेष छैन
आगान्तुक भाषामा पढ्न जिब्रो लाग्दैन
मेरो मातृभाषाको अबशेष छैन
मैले पढ्ने पुस्तकमा मेरो परिवेष छैन
अब यो बिरानो स्कुलमा म जन्मेको देश छैन
रत बाबाको एकल दर्शन कतै बेश छैन
भन्नैपर्दा भोकलाई प्रवचनको टेस छैन ।
मेरो भाँचिएको बिनायोमा बाबाको कर्तव्य
हराईरहेछ
मेरो फाटेको तागामा टुहुराको गन्ध
आईरहेछ
भोकै भोकले पेट कराईरहेछ
रत आफन्तको अभावमा शोक लागिरहेछ
बाबा मलाई भोक लागिरहेछ
हजुरले नै पालना नगरेको कानून कति पटक
पढाउनुहुन्छ
किन मलाई पिटेर माया रटाउनुहुन्छ
कर्फ्युको बन्दले आँसु रोक्छर?
बन्दुकको गोलीले ऐयाको बोली छेक्छर ?
लट्ठी नउठाउनुहोस बाबा महजुरको स्कुलमा
उभिएर राष्ट्र गान गाउन सक्दिन
मेरो अनुहार नदेखिने हजुरको राष्ट्र झण्डा
उठाउन सक्दिन
व्यर्थै भोकमाथि कार्बाही नबढाउनुहोस तेल
छैन इञ्जीनमा स्ट्रिङ नचलाउनुहोस्
आज सौतेली भाईको थालमा जूठो भात
उभ्रेन
त्यसैले मेरो मुखमा मामै जुरेन
रत चित्तमा चोट लागिरहेछ
बाबा मलाई भोक लागिरहेछ ।
तपाईं साझा बाबा हुनुहुन्छ कि सिंहराजा
हुनुहुन्छ ?हो बाबा हजुरको बिभेदकारी
शासन कसैले रोक्दै रोक्दैन
दुनियामाझ चुप लाग भन्नुहुन्छ परेलीले
आँसु छोप्दै छोप्दैन ।
अभिभावकको महसुस नहुने घरमा
पराई जस्तो बाबाको भरमा
एक्कैछिन बस्न सक्दिन डरै डरमा
खोक्रो पेटमा बाबाले माया भरेकै छैन
त्यसैले मैले बाबालाई विस्वास गरेकै छैन
अब त पूरै अविस्वासको रोग लागिरहेछ
बाबा मलाई भोक लागिरहेछ ।
जति-जति बन्द कोठामा राखेर मुक्तिको
भाषण दिनुहुन्छ उति -उति खोरभित्रबाटै
हजुरको बिरुद्धमा बाँस्नेछु
हजुरको सुनाम लेखिएको होर्डिङबोर्डमा
भोकको नारा टाँस्नेछु
सायद हजुरलाई झोँक लागिरहेछ
रत म माथि फाँसीको तोक लागिरहेछ ।
जे-जे लगाउनुहुन्छ लगाउनुहोस् बाबा मेरो
आवाजको लामो लाइन चोक लागिरहेछ
किनकि आाज त मलाई बेस्सरी भोक
लागिरहेछ ।