लाजेहाङ

  • सेसेफुङ सेर्मा 

हाम्रो हजारौं अरु लाजेहाङहरु ढल्न सक्छन्

जसरी

हिजो काङसोरे ढलेका थिए

अनि ढलेका थिए माङतोक र मनिलहरु

तर

कहिले ढल्ने छैन

फक्ताङलुङ जस्तो हाम्रो साहस

यहाँ

लाजेहाङको जीउँदो सपनाहरु

बारबार साटिई रहन सक्छन्

कुनै सकुनी सम्झौताको सस्तो मूल्यमा

तर त्यो मूल्यले

कहिले पनि च्यात्तिने छैन

हाम्रो मन मनमा छापिएका ताम्रपत्र र लालमोहरहरु

कहिले मेटिने छैनन्

हाम्रो आत्मा भित्र कोरिएको युद्दमोर्चाका स्केचहरु

जबसम्म

यहाँको माटो च्याब्रुङको कम्पनले थर्किरहन्छ

तब सम्म

हाम्रो मुटु मुटुमा लाजेहाङको सपना बाचि रहनेछ

चाहे, ,तिमी

लाजेहाङलाई काटेर टुक्रा टुक्रा पारेर फाल

या उसको मृत शरीर धुजा धुजा बनाएर

खोलामा बगाई पठाऊ

तर फेरी पनि यहाँको माटोले

घरी घरी – जन्माई रहनेछ ‘लाजे हाङ’हरु

तिमी आफ्नो शक्तिले दबाएर

हाम्रो लाजेहाङहरु लाई सजिलै मार्न सक्छौं

तर लाजेहाङ्को जस्तै

हाम्रो सपनाहरु कहिल्यै मार्न सक्दैनौँ  ।