कप्तान रत्नबहादुर लिङ्थेप (१९५५–२०२५)

 


         पदम प्रसाद दाहाल

कप्तान रत्नबहादुर लिङ्थेपको वि.सं. १९५५ मा सङ्खुवासभा जिल्लाको साविक मावादिन गा.वि.स. वार्ड नं. २ र हालको मादी नगरपालिका वार्ड नं. ७ को बाघा गाउँमा जन्म भएको थियो । बाबु अगमध्वज र आमा फिपरानी एभेङ थोप्राका छोरा कप्ता रत्नबहादुर लिङ्थेप । उहाँका तीन पत्नीमा जेठी पूर्णवती सम्याङखाम (मावादिन), माइली सुखमाया साङपाङ (दार्जीलिङ) र कान्छी रामवती येहाङ (मावादिन) । उहाँका चन्द्रकुबेर (जेठा), बलकुबेर (माइला) र पूर्णकुबेर (कान्छा) गरी तीन भाइ छोरा अनि गंगादेवी (जेठी), भीमादेवी (माइली) र मेनकादेवी (कान्छी गरी तीन बहिनी छोरी थिए ।

                                          कप्तान रत्नबहादुर लिङ्थेप

रत्नबहादुरले स्वाध्यायनबाट साधारण लेखपढ गर्न सक्नेसम्मको शिक्षा घरैमा हाँसिल गर्नु भयो । ब्रिटिस इन्डियाको पल्टनमा भर्ती भएपछि रोमन, नेपाली, उर्दू र हिन्दी भाषामा बोलचाल तथा लेखपढको भाषा ग्रहण गर्न सक्नु भयो । ब्रिटिस इन्डियन गोर्खा राइफल्समा उहाँ सुबेदारसम्मको पदमा बढुवा हुनु भो । त्यसपछि उहाँ गाउँ फिरी आफ्नै घरायसी व्यवहार र सामाजिक कार्यमा लाग्नु भो ।

विदेश पुगेका पिताजी उतै बितेपछि १० वर्षको उमेरका टुहुरा बालक रत्नबहादुरलाई एक्ली आमाले आफ्नो संरक्षणमा हुर्काउनु प¥यो । झण्डै बीस वर्षको उमेरमा उहाँ ब्रिटिस इन्डियाको लाहुरे हुनु भो । दोस्रो विश्वयुद्ध सकिने बित्तिकै रत्नबहादुर इ. सन्. १९४५ मा स्वेच्छाले नै सेवानिवृत्त हुनु भयो । त्यतिखेर नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन जस्ता कुरा विद्यमान थिए, तिनका विरोधीकारूपमा उहाँ दरिनु भयो । कसैद्वारा उहाँ विरुद्ध यसबारे धनकुटा गौंडामा उजुरी परेछ । उहाँ राणाशासन विरोधीकारूपमा देखिनु भयो । त्यसैले उहाँलाई पक्राउपुर्जी पठाई धनकुटा झिकाइयो । राणा बडाहाकिम समक्ष हाजिर भएपछि उहाँलाई राणा विरोधी आरोपबाट मुक्त गरिएछ । यस्तो परिस्थितिमा आफू गाउँ बस्न अनुकूल नठानेर सँगै जाने गाउँलेहरूका साथ लागेर उहाँ आसामतर्फ लाग्नु भएछ ।
वि.सं. २००७ को बर्खेबाली थन्क्याउन उहाँ आफ्नो घर गाउँ आउनु भएथ्यो, कार्तिक महिनामा आसाम फर्किने सुरमा हुनु हुन्थ्यो, त्यहीबेला देशमा राणा शासन विरोधी जनक्रान्तिको लहर उर्लिएर आयो । राणाको एकतन्त्रीय शासनले राजा प्रजा दुवैथरी आकुल थिए । उक्त शासनको अन्त्यका लागि सारा नेपाली आतुर थिए । नेपाली जनतामा राजनीतिक चेतना बढिरहेको थियो ।

राजा त्रिभुवन २००७ साल कार्तिक २१ मा भारतीय राजदूतावासमा शरण लिन गए । सोही मौकामा नेपाली काङग्रेसले मुलुकभरि सशस्त्र जनविद्रोहको नेतृत्व अघि बढायो । त्यसको प्रभाव माझ किरात, पल्लो किरातमा पनि नपरीकन छाडेन । पूर्व ४ नं. ४ भोजपुरका प्रजातन्त्र सेनानी नारदमुनि थुलुङ, रामप्रसाद राई र विष्णुप्रसाद राईहरूले स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि जनमुक्ति सेना गठन गर्न थाले । यही क्रममा नारदमुनि थुलुङ र पूर्णप्रसाद राईले चैनपुर पारिपट्टि बाघा गाउँका सुबेदार रत्नबहादुर लिङथेप र चन्द्रबहादुर लिङ्थेपलाई धनकुटा गौंडामा झिकाए । आपसी भेटघाटमा विचार विमर्श गरी सशस्त्र जनमुक्ति सेना गठन गर्नुपर्छ भन्ने कुराको तय भयो । उसबेला ब्रिटिस गोर्खा राइफल्समा नारदमुनि जमदार थिएभने रत्नबहादुर चाँहि सुबेदार ।त्यसैले उहाँहरूबीच निकटस्थ चिनजान रहेको थियो । त्यतिबेलै नारदमुनिका काका हर्कराज खोटाङका सुबेदार हप्पु गुरुङहरूएउटै सैनिक फौजीमा रही कार्यरत रहेका हुनाले यी सबैजना माझ धनकुटामा भेटघाट हुँदा जनमुक्ति सेना गठन गर्न निकै सहज हुने देखियो । त्यसैले उनीहरूसबैजना बीच सजिलै सहमति जुट्न सक्यो । प्रजातान्त्रिक सेनानी नारदमुनि छँदै थिए भने उनैले आफूभन्दा पनि सिनियर अफिसर रत्नबहादुर लिङ्थेपलाई सर्वसम्मतरूपमा मुख्य कमाण्डर भै काम गर्न स्वीकार गराइएछ । हप्पु गुरुङलाई दोस्रो स्थानका सहायक कमाण्डर र हर्कबहादुर लिम्बू (चित्लाङ, चैनपुर) लाई तेस्रो स्थानमा रहने गरी सहायक कमाण्डर हुन निर्णय गरिएछ । यसबारे ऐतिहासिक जानकारी सोधपुछ गर्ने क्रममा रत्नबहादुर लिङ्थेपकै जाति इतिहास अनुसन्धाता र लिङ्थेप वंशावलीविद् उत्तमकुमार लिङ्थेपद्वारा यसभित्रको धेरै कुरा र ऐतिहासिक तथ्यता प्राप्त भएको हो ।

धनकुटामा भएको यो अति गोप्य सल्लाह थियो । प्रजातन्त्र सेनानी नारदमुनि थुलुङको आदेशले खोटाङका हप्पु गुरुङ, भोजपुरका विष्णुप्रसाद राई, खगेन्द्र पाराली राईहरूलाई त्यसपछि चैनपुर पारिको बाघा गाउँका रत्नबहादुर लिङ्थेपका घरमा उहाँलाई नै जनमुक्ति सेनामा कमाण्डर भै काम गर्न नियुक्ति दिइने हुँदासोको खबर दिन पठाइयो । त्यसपछि उहाँकै पहलमा जनमुक्ति सेनाका लागि वारिपारि वाना, मैदाने, मादी तामाफोक देखिका भूतपूर्व सैनिकहरूडाकी धमाधम भर्ती गर्न थालियो । करिब एक हप्ताको अवधिमा १५० जनाभन्दा बढी पूर्व सैनिक जवानहरूभर्ती गरिए त्यहाँ । भू.पू. सैनिकहरूका साथमा भएका भरुवा र ठुटे बन्दुकसमेत लिंदै आए उनीहरू। उनीहरूका लागि खानपिन र बसोबासको प्रबन्ध मिलाउने कामको जिम्मा चाहिं हवल्दार पुनाहाङ लिङ्थेप र सिपाही रणबहादुर गुरुङलाई दिइएछ । कबाज खेलाउने, हातहतियार चलाउने कामको जिम्मा सुवेदार विष्णुप्रसाद लिङ्थेपलाई र बीसबीस जनाको टोलीलाई पङ्क्तिबद्धरूपमा खेतका गरामा उभ्याई विभिन्न युद्धकलाका सीपहरूसिकाउने कामको जिम्मा पूर्व सैनिक पूर्णबहादुर लिङ्थेप (तुलारामका बाबु) लाई दिइएछ । कतैबाट दुश्मनहरूआउलान् कि भनी सुराकी र निगरानी गर्नका लागि दुरबिन समेत दिएर खम्बसिंह लिङ्थेप र रामजित लिङ्थेपलाई खटाइएछ ।

२००७ साल मङ्सिर १४ गते भोजपुरको प्रजातन्त्र हेड क्वार्टरबाट पूर्व ६ नम्बर चैनपुर क्षेत्रको जनमुक्ति सेनाको सैनिक कमाण्डरमा सुबेदार रत्नबहादुर लिङ्थेपलाई नियुक्ति गरिएको पत्र बुझाउन दुईजना जवानलाई बाघा पठाइयो । हप्पु गुरुङलाई सहायक कमान्डरमा रही काम गर्न नियुक्ति गरियो । केही दिनपछि नै चित्लाङ्मा हर्कबहादुर कम्फे लिम्बूलाई पनि दोस्रो सहायक कमान्डरमा रही काम गर्न नियुक्ति गरीयो । त्यसपछि कमान्डर रत्नबहादुरद्वारा बाघाका सुबेदार विष्णुप्रसाद लिङ्थेप, हवल्दार पुनाहाङ, हवल्दार पूर्णबहादुर लिङ्थेप, ओपी खम्बसिंह लिङ्थेप, सिपाही रणबहादुर गुरुङ, सिपाही पहलमान तामाङ, फाबिङ्का राइटर नरसिंहबहादुर फाबेन फागो, बहिदार नरबहादुर फाबेन फागो, धनबहादुर फागो, मनबहादुर फागो, आदि पूर्व ब्रिटिस सैनिक जवानहरूलाई धमाधम भर्ती गर्ने काम भएछ । मावादिनका ओली देवान कार्यालय सहयोगी भएछन् । यी सबै प्रकारका नियुक्ति र कामको बाँडफाँड गर्ने पूर्ण जिम्मेवारी कप्तान रत्नबहादुर लिङ्थेपलाई नै दिइएको रहेछ । यसप्रकार २००७ सालको राणाशासन विरुद्धमा जनक्रान्तीको अगुवाइ गर्ने कामको श्रेय वास्तवमा बाघा निवासी क. रत्नबहादुर लिङ्थेपलाई नै जान्छ ।

प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङ र रामप्रसाद राईहरूको नेतृत्वमा पूर्वी नेपालमा भएको राणा विरोधी जनक्रान्तिको आधारभूमि थलो भनेको भोजपुर हो । उनीहरूकै निर्देशन र योजनानुसार २००७ मङ्सिर २४ गते भोजपुर कब्जा भो । त्यसपछि लगत्तै दिङ्लालाई कब्जा गर्न दोर्जे तामाङलाई टोली प्रमुख बनाएर पठाइयो । सोही टोलीले दिङ्लालाई सहजै आफ्नो कब्जामा लियो ।

यसपछि नारदमुनि थुलुङद्वारा चैनपुर निवासी प्रजातन्त्रप्रेमी क्रान्तिकारीहरूमदनप्रसाद श्रेष्ठ, शङ्करप्रसाद श्रेष्ठ, शेरबहादुर श्रेष्ठहरूलाई एक पत्र लेखिएको थियो । उक्त पत्रमा बाघा निवासी रत्नबहादुर लिङ्थेपलाई चैनपुर कब्जा गर्ने उद्देश्यले मुक्तिसेनाको सङ्गठन, परिचालन र सञ्चालन गर्ने कामको जिम्मा दिइसकिएको, उहाँलाई नै कमाण्डर भै काम गर्ने नियुक्ति समेत दिइ सकिएको र त्यही मुक्तिसेना भर्ना गर्नेदेखि लिएर सैनिक तालिम गर्नेसम्मको कार्य निजबाट भैरहेकोले निजसँग सम्पर्क राखी चैनपुर कब्जा गर्ने काममा साथ सहयोग गर्नुहोला भन्ने आशयको पत्र लिएर मुक्ति सेनाको १२/१५ जवान सम्मिलित एक टोली चैनपुरतर्फ आएको थियो ।

टोलीको नायक जगतबहादुर बार्ताङ्गे (शाक्य भरतकुमार पृ. २१ः२०५६) थिए । चैनपुरमा थोरै सङ्ख्यामा भएका सैनिक जवान मात्रले मेजर पाटीमा राणापक्षका सैनिक र हातहतियार विरुद्ध आक्रमण गर्नाले सफल हुन सकिदैन भन्ने बुझेपछि चैनपुरका प्रजातन्त्रप्रेमी मदनमोहन र वीरेन्द्रकुमार श्रेष्ठ २ जनालाई नारदमुनिसित अन्य थप सैनिक जवान र हातहतियारको मद्दतका लागि भेट गर्न दिङ्ला पठाइयो । त्यही बेला रातको समयमा केही मुक्तिसेनाका १२/१५ जना र अन्य केही भै मद्यपान समेत गरी मेजरपाटीमा रहेका सेना प्रमुख पुण्यविक्रम र उनका साथमा रहेका सशस्त्रधारी उपर जाइ लागे । तर पुण्यविक्रमले गोली हान्ने आदेश दिएपछि तिनीहरूनभागी धरै भएन । यो नै थियो चैनपुर कब्जा गर्न खोजिएको पहिलो पल्टको आक्रमण ।

जब यो सफल हुन सकेन त्यसपछि कप्तान रत्नबहादुर लिङ्थेपको कमाण्डिङको टोली चैनपुर कब्जा गर्ने हिसाबले बाघादेखि अघि बढ्यो । मेजरपाटीमा पुण्यविक्रमको राणा फौजमाथि आक्रमण भएको पहिलोचोटिको खबर देशभर सनसनी फैलियो, त्यसैले पुण्यविक्रमको सैनिक टोली बचाउन र चैनपुरलाई कब्जा हुनबाट रोक्ने अभिप्रायले तेह्रथुमबाट एकजना अभिदल भुजेलको नेतृत्वको एउटा राणा समर्थक फौज चैनपुरमा तैनाथ रहेको कप्तान रत्नबहादुर लिङ्थेपको नेतृत्वको मुक्ति सेनाका जवानलाई खत्तम पार्ने उद्देश्यले अघि बढ्यो । उक्त टोली मादी विर्ताका मुखिया श्रीप्रसाद दाहालको घरमा निस्की खानपान गरी एउटा सेतो घोडा समेत साथै लिई इम्लुङ–किलिसलपीबाट पिलुवा खोला तरी तीनखोप्रे–रातमाटे हुँदै सिद्धकालीतर्फ उक्लियो ।

लुटपाट गर्दै चैनपुरतर्फ गैरहेको उक्त टोलीलाई चैनपुर पस्न नदिई छेक्न भनेर कमाण्डर क. रत्नबहादुर र सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुरलिम्बू सहितको करीब डेढसय सङ्ख्याको प्रजातान्त्रिक मुक्ति सेनाको फौज लामेचौरीमा तैनाथ थियो । चैनपुरभन्दा माथिको चुलीडाँडामा पुगेको तेह्रथुम देखि आउँदै गरेको उक्त राणा फौजको टोली प्रमुख अभिदल भुजेलको नेतृत्वमा अघि बढ्दैछ भन्ने कुरा क. रत्नबहादुरलाई अवगत भयो । रत्नबहादुर र अभिदल अघि सँगसँगै ब्रिटिस सेनामा रही काम गर्दाका सहयोद्धा सहयोगी थिए । त्यसबेला रत्नबहादुर सुबेदार पदमा रहेका तर अभिदल भने तल्लो सैनिक पदमा रहेका हुनाले दुवैबिच राम्रो साथीत्वको सम्बन्ध पनि हुनाले अभिदललाई सम्झाइबुझाइ गरी तै शिथिल पार्न सकिन्छ कि भन्ने अभिप्रायले क. रत्नबहादुर लिङ्थेपले आफूसँग भएका सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुर लिम्बूसित रायसल्लाह लिन खोज्दा उनीहरूको सल्लाहमुताविक युद्धको मैदानमा शत्रुपक्ष कदापि आफ्नो हुन सक्तैन भनेपछि उहाँकै नेतृत्वको उक्त फौजी टोली र राणापक्षीय फौजबीच गोली बारुद पड्किन थाले आपसी हानाहान हुन थाल्यो । अभिदलको नेतृत्वको फौजी टोलीको सानो सङ्ख्या थियो । हातहतियार र रसद पानी आदिको व्यवस्थापन पनि कमजोर भैरहेको अवस्थामा चैनपुरपट्टिको मुक्तिसेनाले एकोहोरो गोला बारुद बर्साइरहेपछि अभिदलको एउटा हातमा गोली लागी औलो नै झरेछ । त्यसपछि अब बाँच्न सकिंदैन भन्ने डरले अभिदलको फौजी टोली सेतो घोडा त्यहीं छोडेर कुलेलम ठोकेछ । उक्त कुरा कप्तान रत्नबहादुर लिङ्थेपतर्फको मुक्तिसेनामा एक जना लडाकुकारूपमा रही सामेल भएका उहाँकै नितान्त मीत मादीका रत्नबहादुर खड्का (मादी) पनि हुनुहुँदो रहेछ । उहाँले आफ्ना छोरा रामबहादुर खड्कालाई बताएको कुरा रामबहादुरद्वारा लेखकलाई जानकारी भएको हो ।

क. रत्नबहादुर लिङ्थेपको अगुवाइको मुक्तिसेनाले अभिदलको फौजलाई लखेट्न सफल भएपछि तुरुन्तै चैनपुरको मेजरपाटीमा आई पुण्यविक्रमको कमाण्डिङमा बसिरहेको राणापक्षीय फौजमाथि आक्रमण ग¥यो । मेजरपाटीभित्र रहेको राणापक्षीय फौजी दस्ता पनि सानो सङ्ख्यामा भएको र तिनका साथमा गोली गठ्ठा, ग्रिनेट, बन्दुक आदि पनि यथेष्ट नभएका कारणले पुण्यविक्रमले बाहिर निस्केर दोहोरो भिडन्तमा लाग्नु बुद्धिमानी ठहराएन, बरु आत्मसमर्पण गर्नु नै उपयुक्त ठान्यो । वास्तवमा जिल्ला जिल्लाका प्रमुख तत्कालीन परिप्रेक्ष्यमा पुण्यविक्रमले आफ्नो साथमा भएका बन्दुक, गोली, ग्रिनेट, पेस्तोल आदि तत्कालीन चैनपुरका प्रधानपञ्च लक्ष्मीप्रसाद नेउपाने रउपप्रधानपञ्च शेरबहादुर श्रेष्ठलाई डाकी सहज ढङ्गले जिम्मा लगाइदियो । यसप्रकार चैनपुर कब्जा गर्ने उद्देश्यले क. रत्नबहादुर र सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुर लिम्बुहरूको सक्रियतामा चैनपुर कब्जा भयो मंसिर २६ गते । भोजपुरबाट आएको मुक्ति सेनाको राजनैतिक कमाण्डरमा मुक्तिप्रसाद चापागाईँ, सेमन्तराज अधिकारी, खगेन्द्र पाराली राई लगायत चैनपुरका प्रजातन्त्रप्रेमी परिवर्तनकारी व्यक्तित्वहरूको पनि यसमा साथ सहयोग रहेको थियो ।

रत्नबहादुर लिङ्थेपलाई कप्तान दर्जा थप गरी उहाँको मातहतमा सहायक कमाण्डर दिई सैनिक सङ्गठन गर्ने कामको जिम्मामात्र नभै चैनपुर विजयपछि पौष २ गते जिल्ला प्रशासक र कतिपय प्रशासनिक कामको समेत जिम्मेवारी दिइयो । उहाँले आफू प्रशासक भएको नाताले त्यो बेला प्रजातन्त्र समर्थक व्यक्तिहरूलाई छनौट गरी विभिन्न पद प्रदान गर्नु भएछ, काम लगाउनु भएछ । जसमध्ये चैनपुरका जयबहादुर अधिकारीलाई राइटर, वानाका रुद्रनाथ रेग्मी र लवहाङ राईलाई बिचारी र मावादिनका नरसिंहबहादुर लिम्बुलाई पनि राइटर पदमा नियुक्त गर्नु भएछ । २००७ सालमा नेपाली काङ्गं्रेसले देशका विभिन्न क्षेत्रमा राणाशासन अन्त्य गर्ने उद्देश्यले सशस्त्र क्रान्ति अघि बढायो, मुक्ति सेना गठन ग¥यो त्यही मौका छोपेर राणापक्षका मतियारहरूले नेपाली काङ्ग्रेस सशस्त्र आन्दोलनको बद्नाम गराउने अभिप्रायले देशका विभिन्न भागमा लुटपाट र आतङ्क मच्चाउन थाले । यसक्रममा मादीविर्ता, चित्लाङ, चैनपुर, ताप्लेजुङ आठराई पनि आतङ्कित परिस्थितिबाट अछुतो रहेनन् । मादीविर्तामा यस किसिमको आततायी घुसपैठ कसैबाट हुन नदिनका लागि बाघाका क. रत्नबहादुर लिङ्थेप, बुद्धिनारायण लिङ्थेपहरूर मादी रैकरका लाखबहादुर देवान (दुर्गामणिका बाबु) र मजिया मानबहादुर जिमीले नै कवचकोरूपमा रही यको रोकथामको काम गर्नु भएको थियो भन्ने मैले सुनेको हुँ । यसरी समाजमा मेलमिलाप कायम गरी बन्धुत्वको भावना राखी बस्नु पर्छ भन्ने क. रत्नबहादुरको अटल विश्वास थियो र सुझबुझ पनि ।

                                    चैनपुर

छिमेकी गाउँ समाज र समुदायबीच शान्ति सुव्यवस्था, मेलमिलाप र आपसी सद्भाव भैरहनु पर्छ भन्ने उहाँको भित्री इच्छा थियो । यसका लागि उहाँले विभिन्न ठाउँका मान्छेसित मीतेरी सम्बन्ध गाँस्नु भएको थियो, जस्तो मादीविर्ताका दाहालहरूसित राम्रो सुसम्बन्ध कायम राखिरहनका लागि सीताराम दाहालसित बाहाँ जोडी मीत लगाउनु भएको थियो भने मादी रैकरका रत्नबहादुर खड्कासित पनि उसैगरी बाहाँ जोडी मीत लगाउनु भएको थियो । यसैगरी उहाँले चैनपुरका राइटर जयबहादुर अधिकारी सित पनि मीत लगाउनु भएको थियो । यस अर्थमा हेर्दा उहाँमा कूटनीतिक क्षमता र दूरदर्शिता रहेछ भन्न सकिन्छ । यसरी उहाँ समाजसेवी, समाज सुधारक व्यक्ति हुनुहुँदो रहेछ भनी सहजै अड्कल काट्न सकिन्छ । उहाँले आफ्नो गाउँ क्षेत्रदेखि वारिपारिसम्म विभिन्न सामाजिक भलाइका निकै उपयोगी काम गरेको देखिन्छ ।

१) चैनपुरदेखि मयमसम्म बाटो खनाएको ।

२) चैनपुर–पोखरीदेखि मयम चित्लाङ नुनढाकी हुँदै चाँगे –ताप्लेजुङ) सम्मको बाटो खनाउँदा श्रमदान घटाएको ।

३) किपटिया दाजुभाइहरूबाट परम्परागतरूपमा उठाउने झारा, ठेकीबेठी, कोसेलीपात (दशैँमा सिसार लिएर जाने)को प्रचलनको कटौती गरेको ।

४) चैनपुर बजारको टुँडिखेल सम्याउन आफ्नो मौजाबाट श्रमदान जुटाएको ।

५) बाघाको मेहेले फेदी पिलुवा खोलामा चैनपुर जाने काठे साँघुको निर्माण गराएको ।

६) बाघाको धर्मदेवी मन्दिरको स्थापनामा अगुवाइ गरेको र आफ्नै नाउँको पित्तलको घण्ट चढाएको ।

७) बाघादेखि तेह्रथुम जाने कागते–देउराली–धनपोखरी–मङ्गलबारेसम्म जाने बाटोको लागि जनश्रमदान जुटाएको ।

८) वि.सं. २००९ सालमा भारतीय एक्ससर्भिस म्यानका छोराछोरी पढाउनका लागि स्थानीय बुद्धिजीवी तथा समाजसेवी सुब्बा बुद्धिनारायण लिङ्थेप समेतको अगुवाइमा बाघामा एक्ससर्भिसमेन हाइअर प्राइमरी स्कुलको स्थापना गराएको र आज सोही विद्यालय जनता माध्यमिक विद्यालयको नामबाट कक्षा १० सम्म सञ्चालित रहेको ।

९) २०१३ सालतिर मादीको डबलेमा (हालको गणेश प्रा.वि.) र याङ्सिजुङ –हालको पाङसिजुङ प्रा.वि.) प्राइमरी स्कुलहरूस्थापना गराएको र ती दुवैका निति आवश्यक शिक्षकको तलब भत्ता आदि इन्डियन एक्स–मिलिट्री पेन्सन पेइङ अफिस पूर्णियाबाट प्राप्त हुने व्यवस्था मिलाएको ।

२०१५ सालमा धनकुटा क्षेत्र नं. ०२२ का नेपाली काङ्ग्रेसका संसदीय उम्मेद्वार लीलानाथ दाहाललाई जिताउन अत्यन्त सक्रिय सहनु भएको थियो उहाँ । २०१७ मा राजा महेन्द्रबाट राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि स्थानीय स्तरमा हुने प्रधानपञ्च पदको निर्वाचनमा पनि उहाँले नेकाकोतर्फबाट उम्मेद्वारी गर्नु भएछ तर जित्नुभएन । देहावसान हुनु अघिसम्म उहाँ नेपाली काङ्ग्रेस जिल्ला कमिटिको सदस्य रहिरहनु भएको थियो । २०४६ सालमा बहुदलको पनर्वहालीपश्चात् उहाँकै नाति ठाकुरसिंह लिङ्थेपलाई क. रत्नबहादुर बाजेले पार्टिलाई पु¥याएको योगदानको कदरस्वरूप नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरी लिङ्थेप परिवारप्रति पार्टिले सम्मान प्रकट गरेको देखिन्छ । २००८ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि क. रत्नबहादुरलाई चैनपुरको जिल्ला प्रशासक पदबाट हटाइएछ तर मुलुकमा प्रजातन्त्र ल्याउन उहाँले पु¥याएको अदम्य साहस बफादारीता र योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले उहाँलाई गोरखा दक्षिणबाहु पदवीबाट समेत विभूषित गरेको देखिन्छ । यी सम्पूर्ण उहाँले गर्नु भएको कामको धेरैजसो विवरण उहाँकै नाति उत्तम लिङ्थेपबाट प्राप्त भएको हो ।

चैनपुर कब्जा गरिसकेपछि क. रत्नबहादुरको कमाण्डिङमा तेह्रथुमलाई कब्जा गर्नका लागि उक्त मुक्तिसेनाको सिङ्गो टोली त्यसतर्फ लाग्यो, तर सुरुमा सोही मुक्तिसेनामा लागिसकेका प्रतिबद्ध योद्धाहरूमध्येका एकजना गजेन्द्रबहादुर तुम्बाहाङ्फेलाई तेह्रथुमको राणापक्षीय फौजले आफ्नो पक्षमा लिइसकेको रहेछ । उसले चैनपुरबाट जाँदै गरेको मुक्तिसेनाको टोलीमा भएका धेरै योद्धाहरूमध्ये एक्कासि सिपाही रामजित लिङ्थेप उपर गोली प्रहार ग¥यो । उनी ठाउँको ठाउँ मारिए । उनी नै सङ्खुवासभाका प्रथम सहिद कहलिन्छन् । त्यसपछि उक्त टोली तितर बितर भै फि¥यो । अर्कोचोटि केही दिन भित्रै पुनः क. रत्नबहादुरकै कमाण्डिङको लडाकु टोलीले दोस्रोपटक तेह्रथुममाथि आक्रमण गरी तेह्रथुमलाई कब्जामा लियो । राणा शासक प्रशासकहरूत्यहाँबाट पनि लखेटिए । यसरी चैनपुरमात्र होइन तेह्रथुमलाई पनि कब्जा गर्न उहाँ सुसफल हुनु भएकोले उहाँलाई २००७ सालका एकजना सशक्त राजनीतिक योद्धा हुन् भन्न हिच्किचाइरहनु पर्दैन ।
यस्ता राजनीतिक योद्धा, समाजसेवी, समाज सुधारक एवम् शिक्षाप्रेमी व्यक्तित्व प्रजातान्त्रिक आन्दोलनका अगुवा कप्तान रत्नबहादुरको २०२५ सालमा सत्तरी वर्षको उमेरमा निधन भयो । २००७ सालका एकजना अथक योद्धा उहाँलाई जुन किसिमको जिम्मेवारी सुम्पिएको थियो, त्यसलाई पूर्णरूपमा पूरा गर्नु भो उहाँले कर्तव्य ठान्नु भो उहाँले । तर पार्टिले उहाँ र उहाँको परिवार जनप्रति गर्नु पर्ने कदर र प्रतिष्ठा भने अझै अपर्याप्त रहेको कुरा सुनाउनुहुन्छ उहाँका परिवारजन । जेहोस् त्यस्ता रत्नरूपीबहादुर योद्धाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण नगरी कसरी रहन सकिन्छ र !

पाद–टिप्पणी ः
१. तुम्बाहाङफे , २०६३ः पृ. ९८ ।
२. थुलुङ, २०५७ः पृ. ८१ ।
३. माबुहाङ, २०६३ः पृ. ५६ ।
४. लिङथेप, उत्तमकुमारबाट प्राप्त लेख र कुराकानी तथा अन्तर्वार्ता ।
५. लिङथेप, सु. तुलाराम ः २०७४ ।

६. शाक्य, भरतकुमार, २००७ सालको जनक्रान्ति र चैनपुर(२०५६), पृ. ४१, ४३, ५५ देखि ५८ सम्म ।
७. नयाँ अनलाइन पत्रिका, नोभेम्बर २३, २०२१

सम्बन्धित खवर