
धरान,१० चैत / प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङ सुक्वाबा (पदम)को निधन भएको छ ।
चैत ५ गते बिराटनगरमा भएको काेशी प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेका लाजेहाङ (पदम)को निधन भएको हो । उपचाररत लाजेहाङको शुक्रबार विहान २:३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको आन्दोलनरत किरात याक्थुङ चुम्लुङका सघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।
प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लाजेहाङ टाउकोमा गम्भीर चोट परेको हो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत रहेका लाजेहाङ (पदम)को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो ।