प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर ५ चैत/ प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन गरेको छ ।

आइतबार कोशी प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गरेको छ ।

संयुक्त संघर्ष समितिले हज्जारौं आन्दोलनकारी विराटनगर उतारेर ‘कोशी’ प्रदेश विरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघसहित त्यसमा आबद्ध आदिवासी जनजाति संगठन, संघ र संस्थाहरू एवं पहिचान पक्षधर राजनीतिक दलहरूका आदिवासी मोर्चाहरू सहभागी थिए ।

प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि प्रवेश गरे ।

त्यसक्रममा प्रहरीले तिन राउण्ड हवाई फायर र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो । एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गर्दा भिड तितरवितर भएन्, प्रहरीमाथि जाइलाग्यो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थाले, त्यसपछि त प्रहरीले अनियन्त्रित भिड रोक्न भन्दै हवाइ फायर पनि गर्‍यो । आन्दोलनका कारण मुख्यमन्त्री कार्यालय अगाडि दिनभर तनावग्रस्त रह्यो ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले इटाँ प्रहार गर्नुका साथै मुख्यमन्त्री तथा मन्त्री परिषदके कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरे ।

प्रदर्शनकारीहरु गणतन्त्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडमा पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिए । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा प्रदेशका १४ वटै जिल्लाबाट हज्जारौंको संख्यामा प्रदर्शनकारीहरु विराटनगर आएका थिए । प्रदर्शनकारीले ‘कोशी’ खारेज गर’, ‘मुख्यमन्त्री राजिनामा दे’, ‘हिक्मत कार्की मुर्दावाद’, ‘पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा नेताहरुले प्रदेश सरकार र प्रदेशसभाले ‘कोशी’ नाम खारेज गरेर पहिचानको नाम नराखे दुर्घटनातर्फ जाने चेतावनी दिए । उनीहरुले प्रदेश १ किरात सभ्यता र लिम्बुवान राष्ट्रियतासँग जोडिएको भूगोल रहेको दावी गर्दै प्रदेशको नाम सच्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनीहरुले प्रदेशको पुन:नामाङ्कन गर्न प्रदेश सरकार गम्भीर नभए आन्दोलनले पुन:नामाङ्कन गर्ने चेतावनी दिए ।

कार्यक्रममा पूर्व मन्त्री गोपाल किराती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन सहित पहिचानवादी अभियन्ताहरु सञ्जुहाङ पालुङ्वा, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङ लगायतले सम्बोधन गरेका थिए ।

गएको १७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेशको नामाकरण ‘कोशी’ प्रदेश घोषणा भएपछि पहिचानवादी संघसंस्थाहरू लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचान र सभ्यताका आधारमा ‘लिम्बुवान किरात’ नामाकरण राख्न माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका छन् ।