दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको तयारी अन्तिम

दमक ,३ चैत/  दमक बहुमुखी क्याम्पसको स्व.वि.यु निर्वाचनको तयारी अन्तिम चरण पुगेको निर्वाचन समितिले जनाएको छ ।

चैत ५ गते हुने क्याम्पसको स्ववियु निर्वाचनको लागि आवश्यक पूर्वधार तयार, सुरक्षा प्रवन्ध, मत पत्र तयार लगायतका आवश्यक सामाग्री जटाउने सहितको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको हो ।

निर्वाचनमा भाग लिएका विधार्थी संगठनका प्रमुख ,प्रतिनिधिहरुसंग बसेर छलफल गरी निर्वाचन आचार संहिता तयार गरीसकेको, मत पत्र छपाइ लगायतका काम अघि बढेको,क्याम्पस प्रशासन मार्फत जनपथ प्रहरी,सशस्त्र प्रहरी बलसंग समन्वय गरी सुरक्षा प्रवन्ध मिलाएको र मतदान स्थलमा मतदान केन्द्र १० वटा निर्माण भई रहेको दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समिति संयोजक तथा ब्यवस्थापन संकायको सहायक क्याम्पस प्रमुख प्रेम प्रसाद संग्रौलाले बताउनु भयो ।

क्याम्पस परिसरमा चैत ५गते हुने निर्वाचनमा अनेरास्ववियु,अखिल ,क्रान्तिकारी र राप्रवि संघको संयुक्त प्यानलको अध्यक्षको उम्मेद्धवार नितेश राई (निशेष)नेतृत्वको प्यानल र संयुक्त विद्यार्थी गठबन्धनको अध्यक्षको उम्मेद्धवार सोविम न्यौपाने नेतृत्वको प्यानल गरी दुई समुहले निर्वाचनमा भाग लिएकोे दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीले जानकारी दिनु भयो ।

स्ववियुको अध्यक्ष ,सचिव र कोषध्यक्ष पदमा एक/एक जना र कार्य समिति सदस्य ८ जना गरी ११ जना उम्मेद्धवारलाई प्रत्यक्ष तर्फ मतदान गर्ने र संगठनका समानुपातिकका उम्मेद्धवारलाई पनि समानुपातिकतर्फ विद्यार्थी मतदाताले मतदान गर्नु पर्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

अनेरास्ववियु,अखिल ,क्रान्तिकारी र राप्रवि संघको संयुक्त प्यालनको अध्यक्षको उम्मेद्धवार नितेश राई (निशेष)नेतृत्वको प्यानल र संयुक्त विद्यार्थी गठबन्धनको अध्यक्षको उम्मेद्धवार सोविम न्यौपाने नेतृत्वको प्यानल विद्यार्थीबीच भेटघाट गरी रहेको बुझाएको छ ।