दमकमा धरपकड,  १३ जना आन्दोलनकारी प्रहरी नियन्त्रणमा

दमक,२८ फागुन/

झापाका विभिन्न स्थानहरुबाट प्रहरीले हालसम्म १३ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार कोशी प्रदेश खारेजीको माग गदै बन्द आह्वान गरेर सडकमा निस्किएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार बिहान बिर्तामोड र काँकडीभिट्टाबाट ५ जना प्रहरी नियन्त्रणमा परेका थिए ।

दमकमा आन्दोलनकारीले यातायातका साधन रोकेर नाराबाजी गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच हात हालाहालको स्थिति सृजना भएको थियो । प्रहरीले दमकबाट १३ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्वापो, महेन्द्र चाम्लिङ , वेनु कुमार लिम्बू, दिपक लिम्बू, बन्दना नेम्बाङ, अवि चेम्जोङ, योगेश पालुङ्वा, डिग बहादुर मादेन, श्याम मादेन, र याम लोरिङ्देन, लगायत नेता कार्यकर्ता पक्राउ परेका हुन ।


प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै प्रदेश आमहडताल आह्वानकर्ता प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले निन्दा गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीलाई बिना शर्त रिहा गर्न समितिका दमक नगर संयोजक देबेन्द्र चेम्जोङले माग गरेका छन ।