कियाचुको २४औं राष्ट्रिय चुम्लुङ चितवनमा सम्पन्न

चितवन । आदिवासी लिम्बू समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ चितवनको भरतपुरमा आज सम्पन्न भएको छ । ७ र ८ फागुन २०७९ दुई दिनसम्म चलेको चुम्लुङमा विविध विषयमा छलफल भएको छ ।


हिजो कार्यक्रम स्थलमा भेला भएर याक्थुङ आदिवासीहरुको साँस्कृतिक ¥याली सहित वजार परिक्रमा गरी कार्यक्रम स्थलमै उद्घाटन १नं.का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यतामा भएको हो ।

तुम्बाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्ने बताए। उनले भने, “संघीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ”
कार्यक्रममा कियाचु केन्द्रीय सल्लाहाकार चन्द्रमाया लिम्बू, प्रदेश सभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, कियाचु पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरुमध्ये यसवर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई पुरस्कृत भएको छ ।
चितवनमा आयोजित कियाचुको २४औं राष्ट्रिय चुम्लुङ्ग बैठकको उद्घाटनमा चुम्लुङमा महत्वपूर्ण योगदान पु¥याएकोले झापा शाखासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लिम्बुवानका ९ जिल्ला, उपत्यकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका प्रतिनिधि राष्ट्रिय चुम्लुङमा सहभागिता रहेको थियो । प्रदेश नं. १ को लिम्बुवान प्रदेश समिति र बागमती (नेवा–ताम्सालिङ) प्रदेश समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित् चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी २२८ जना कार्यक्रममा सहभागी रहेको बताइएको छ । राष्ट्रिय चुम्लुङले सांगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम, यसैगरी मुकुमलुङ संरक्षण ः अभियान, रणनीति र कियाचुको भूमिका, १ नं.प्रदेश को लिम्बुवान–किरात नामाङ्करण प्राप्तिको लागि रणनीति र कार्यनीति, लिम्बू/याक्थुङ भाषा योजना, शिक्षक दरबन्दी, विद्यालयमा पठनपाठनको अवस्था र प्रदेश नं १ मा सरकारी कामकाजी भाषा कार्यन्वयन, प्रदेश र स्थानीय निकायहरुमा स्रोत पहुँच परिचालन,रणनीति, माङ्गेन्ना यक र ऐतिहासिक स्थलहरुको संरक्षण/प्रथाजनित संस्था पाङ्भे? चल्मुङ कार्यान्वयन लगायतका प्रस्तावहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित भएको छ ।