कवि खनालको निलो आकास कविता संग्रह लोकार्पण

दमक, २८ माघ / नवोदित साहित्यकार ओम प्रसाद खनालको निलो आकाश कविता संग्रह एक कार्यक्रमकाबीच आज लोकार्पण गरिएको छ ।

शनिवार दमकमा साहित्य कला संगमले आयोजना गरेको साहित्य कृति निलो आकाश कविता संग्रह दमक प्रज्ञा प्रतिष्ठान संयोजक हेम अधिकारीले लोकार्पण गर्नु भएको हो । झापाको दमक निवासी नवोदित साहित्यकार खनालद्वारा रचना गरिएको पहिलो कृति हो ।


निलो आकाश कविता संग्रहको लोकार्पण पछि बोल्दै संयोजक अधिकारीले युवा वृद्ध र समग्र पाठकलाई लोभाउने कृति प्रकाशन भएको र पछिल्लो समयमा दमक साहित्य सहितका हरेक कुराको लागि उर्वर भूमि रहेको दमकेली साहित्यको शिर उच्च राख्न सबै लाग्नु पर्ने अधिकारीले बताउनु भयो । प्राध्यापक डाक्टर गोपाल भण्डारीले निलो आकाश खनालको पहिलो कृति भए पनि कलात्मक प्रस्तुती, कला शैली ,छन्द सहितको कवित्व रहेको बताउनु भयो । यसले सप्तरङ्गी भावना र सवै पक्षको संस्कृति समेटेको पनि भण्डारीले चर्चा गर्नु भयो ।

कार्यक्रममा भारतको दिल्लीका नेपाली भाषी साहित्यकार टाँसी शेर्पा र मिरिकका अजय प्रधानले निलो आकाश कृतिमा सिल्प कलाको प्रस्तुती राम्रो रहेको बताउनु भयो । संस्थाका सल्लाहकार कमल ओस्तीले दमकेली साहित्यमा कोषे ढुङगा हुने बताउनु भयो । संस्थाका उपाध्यक्ष विन्दु दाहाल, प्राध्यापक धनन्जय वाँस्कोटा ,शिक्षक तथा साहित्यकार दुर्गा काफ्ले खनाल, गोपाल दाहाल लगायतले कृतिका विषयमा बोल्नु भएको थियो । संस्थाका अर्को उपाध्यक्ष झाँकी खोलेले निलो आकाश कविता सग्रह माथि टिप्पणी गर्दै लेख्य विधामा रहेर प्रकृति संरक्षणको सन्देश,मुलुकको अतिक्रमण विस्तारवादको विरुद्व आवाज उठाएको,आयतित संस्कृतिले मौलिक संस्कृति हराउँदै गएको प्रति चिन्ता प्रकट लगायतका धेरै पक्ष समेटेको चर्चा गर्नु भयो । सबै कविता छन्दमा नभए पनि छन्द कविताको मेलो पक्रिएको स्रष्टा झाँकी खोलेले बताउनु भयो । कार्यक्रम साहित्य कला संगम दमक अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको हो ।