
झापाको चुलाचुली–३ स्थित शिववरक मिलनपोखरी वनमा आयोजना भएको नाट्य उत्सवमा झापा, इलाम, मोरङका दश नाटक मञ्चन भएका थिए । नाट्य उत्सवमा अधिकांश नाटक प्रकृति र पर्यावरणसँग सम्बन्धित थिए । प्रकृतिको काखमा आयोजना गरिएको नाटकमा अधिकांश विद्यालयका बालबालिकाले अभिनय गरेका थिए ।
जंगलको बीचमा रंगमञ्च बनाएर गरिएको उत्सवमा नाटक मञ्चनसँगै नाटक र चित्रकलाको कार्यशालासमेत भएको थियो । इलामको दक्षिणी चुरे क्षेत्र चुलाचुलीमा ९ वर्षदेखि क्रियाशील चुलाचुली रंगमञ्चले यो नाट्य उत्सव आफ्नो ९ औँ वार्षिक उत्सवमा आयोजना गरेको हो ।
नाट्य उत्सवको यो दोस्रो संस्करण हो । यसअघि ०७६ मा पहिलो नाट्य उत्सव भएको थियो । नाटकमा नयाँ काम गर्न खोज्ने हुटहुटीले जंगलमा नाट्य उत्सव गर्न सफल भएको रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले बताए ।
आज बुधबार झापा दमकको कदम थिएटर र सर्वोदय बोर्डिङको सहकार्यबाट ” चकलेट “, पञ्चकन्या आ.वि. चुलाचुली २ बाट ” THE BIRD “, पञ्चबुद्ध एकेडेमी चुलाचुली ४ बाट ” पुनर्जीवन “,चुलाचुली रंगमञ्च बाटै अर्को प्रस्तुती ” यो मेरो कथा नहुन सक्छ ” र मिक्लाजङ नाटक घर मोरङ बाट ” साइड इफेक्ट ” जस्ता नाटकहरु मञ्चन भएका छन ।
त्यस्तै हिजो उद्घाटनमा नेपाली मौलिक संस्कृति,परम्परा अन्तर्गत लोप हुँदै गएको ” संगिनी ” प्रस्तुती बाट सुरुवात गरिएको थियो भने त्यसपश्चात चुलाचुली रंगमञ्चकै प्रस्तुती “मेला”,अमृत बोर्डिङ बोर्डिङ चुलाचुली २ बाट “देउकी”,भानु मा.वि. चुलाचुली ५ बाट “वातावरण”,शब्द थिएटर र रेडस्टार बोर्डिङको सहकार्य पथरी बाट ” छोरी मान्छे भएर “, र बालज्योती मा.वि. चुलाचुली ४ बाट ” ख बाट ” नाटकहरु मञ्चन भएका थिए ।
कार्यक्रममा ९औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा रहेर काम गरेका चुलाचुली रंगमञ्चले पत्रकार/नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरे, रंगकर्मी जीवन बराल र चुलाचुली रंगमञ्चकी कलाकार रमिता राईलाई सम्मान गरेको छ ।
नेपाली आधा दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी आफ्नो प्रस्तुति राखिसकेको चुलाचुली रंगमञ्चले यस पटक आफै यस उत्सवको आयोजना गरिरहेको छ। चुलाचुली रंगमञ्चका देवांसी राजा,खाल्डो,मांगेना,सिमिक्वा र बुद्ध र भिखारी जस्ता नाटकहरु नेपालका राष्ट्रिय तथा अन्तरास्ट्रिय महोत्सवहरुमा मञ्चन भइ सकेका छन ।
यस उत्सवमा बिहान ७ बजे देखि १० बजे सम्म नाट्य तथा चित्रकला कार्यशाला र ११ बजे देखि निरन्तर नाटक मञ्चन गराएको थियो ।
लगभग ३० जना विद्यार्थीहरु समावेश भएको नाट्य कार्यशालाको सहजीकरण रंगकर्मी तथा कलाकार विजय बरालले गरिरहेका छन भने सोही संख्यामा विद्यार्थीहरु समावेश भएका चित्रकला कार्यशालाको सहजीकरण कलाकार किरण सिगु,विजया लाओती र आयुषा आङ्थुपोले गरेका थिए ।
विद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी बनाउन र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा दुई दिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला समेत प्रदर्शनी गरेको कार्यक्रम संयोजक चेतन आङ्थुपोले वताए ।