दमक, १ माघ / किरात लिम्बू समुदायले आइतवार विभिन्न कार्यक्रम गरि कक्फेक्वा तङनाम ५०८३ शुभकाना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम ५०८३ मनाएका छन् ।
आइतवार झापाको कमल गाउँपालिका ५ सिम्लेमा मुन्धुम यकमा कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा लिम्बू जातिको नाच केलाङ प्रतियोगिता गर्नुका साथैं येले तङवे तथा कक्फेक्वा तङ्गनामको शुभकामना आदानप्रदान, बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
चुम्लुङले सोहि कार्यक्रम स्थललाई मुन्धुमयक नामाकरण गरि घोषणा गरेको थियो । करिव १ विगाहा बढी क्षेत्रफलमा फैलिएको रतुवा खोलासंगैको त्यस स्थललाई संरक्षण गरि किरात लिम्बू समुदायको चिनारीका रुपमा विकास गरिने इमानसिं चेम्जोङ स्मृति प्रतिष्ठान अध्यक्ष वीर बहादुर चेम्जोङले वताए ।
केलाङ प्रतियोगितामा कमल वडा नं. ७ को केलाङ समूह प्रथम भएका थिए । कमल गा.पा. वडा नं. ३ केलाङ समूहको टोली दोस्रो र कमल गा.पा. वडा नं. ४ तेस्रो भएको केलाङ प्रतियोगिता निर्णयक समिति सदस्य सेसेमी सेनाल्बो वताए ।
खेलमा चुलाचुली गा.पा. ४ को केलाङ समूह, कमल गा.पा. वडा नं. ५ केलाङ समूह र दमक न.पा. वडा नं. २ केलाङ समूह सहित जम्मा ६ केलाङ समूहको सहभागी रहेको थियो ।
यसरी नै पअलुङ तथा पालाम प्रतियोगिताको पनि आयोजना गरेको थियो । पलुङ (छेलो) तर्फ चुलाचुली बुकवाका राजकुमार लिम्बू प्रथम भएका थिए ।
कार्यक्रममा कियाचु केन्द्रीय सदस्य तथा ५ नं. वडा सदस्य/जनप्रतिनिधि चन्द्रकला सुब्बा, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङफे, लिम्बू भाषा साहित्य प्रतिष्ठान कुलपति सेसेमी सेनाल्बो, कमल ५ नं. वडाध्यक्ष लाल बहादुर विष्ट, ५ नं. वडा सदस्य चुरुङहाङ लाओती, कियाचु झापा जिल्ला सल्लाहकार सूर्य यक्पाहाङदेन, कियाचु झापा जिल्ला सदस्य इन्द्र सोदेम्बा, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, कियाचु चुलाचुली ४ वडा अध्यक्ष घनेन्द्र केरुङ, इमानसिं चेम्जोङ स्मृति प्रतिष्ठान अध्यक्ष वीर बहादुर चेम्जोङ, रंगकर्मी राज थापा, फरक आयाम अभिन्यता साङ्सेन पंधाक लगायत इलामको चुलाचुली, झापाको कमल र दमकमा बसोबास गर्ने बुद्धिजीवी, समाजसेवी , व्यवसायी, बौद्धिक व्यक्तित्व लिम्बू जातिहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका शाखा समिति अध्यक्ष दिवस सङबाङफेको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष अमर मावोले राखेका थिए भने संचालन कियाचु कमल शाखा सचिव सुक्र लाओतीले गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।