विश्वकप फुटबलको २०२२ को उपाधि अर्जेन्टिनालाई

झापा, ४ पौष/ कतारमा आयोजना भएको फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

आइतबार राति लुसिल स्टेडियममा भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बनेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । रोमान्चक खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।

यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

 

सम्बन्धित खवर